arthik abhiyan
ad banner

बीमाको तथ्यांकका लागि सूचना केन्द्र

बीमामा हुने ठगी रोक्न अनिवार्य

Sep 11, 2019 
लेख | दृष्टिकोण
NA
author avatar डा. रवीन्द्र घिमिरे

पैसाको कारोबार गर्ने भएकाले बैंक तथा वित्तीय संस्था निकै संवेदनशील र जोखिमयुक्त निकाय हुन् । अहिले यस क्षेत्रले साइबर जोखिमको मार खेपिरहेको छ र यसमा उच्च सतर्कता नअपनाउने हो भने भोलि यो भन्दा धेरै नोक्सान बेहोर्नुपर्ने हुन सक्छ । बैंकको अर्को जोखिम भनेको डुबान्त ऋण हो, जसबाट बच्न नेपालमा सन् १९८९ मा कर्जा सूचना केन्द्र स्थापना भएको थियो । केन्द्रले बैंक तथा वित्तीय संस्थाका ऋणी तथा कालोसूचीमा परेका ग्राहकका बारे सूचना उपलब्ध गराउँछ । एकै व्यक्तिले छलकपट गरी धेरै बैंकबाट ऋण लिने सम्भावनालाई यस केन्द्रको सूचनाको माध्यमबाट टार्न सकिन्छ र त्यस्ता व्यक्तिको जानकारीबाट बैंकले आफ्नो जोखिम न्यूनीकरण गर्न सक्छ । 

बीमा उद्योगमा पनि यस्तै बीमा सूचना केन्द्रको आवश्यकता छ । नेपालमा कति मानिसको जीवन बीमा पोलिसी छ भन्ने बीमा समितिसँग सही तथ्यांक छैन । करीब १७ देखि २० प्रतिशत मानिसले जीवन बीमा पोलिसी लिएको भन्ने तथ्यांक प्रसारण भइरहेको छ । 

यस्तोमा बीमामा हुने जालसाजी, बदमासी र छलकपटलाई न्यूनीकरण गर्दै बीमा उद्योगमा पारदर्शिता, सुशासन र उत्तरदायित्व कायम गर्न बीमा सूचना केन्द्र आवश्यक हुन्छ । कुनै व्यक्तिले हरेक वर्ष आफ्नो सम्पत्तिको बीमा गर्छ र क्षतिको दाबी गर्छ भने सबै बीमा कम्पनीलाई त्यसका बारेमा जानकारी हुनु आवश्यक हुन्छ । यदि कसैले हरेक वर्ष अस्वाभाविक परिमाणको रकम दाबी गरिरहन्छ भने पनि सोको जानकारी सबै बीमाप्रदायक संस्थालाई गराउने काम बीमा नियामकको हुन्छ । यी सबै जानकारी संकलन गर्ने र सबैलाई वितरण गर्ने जिम्मेवारी बीमा सूचना केन्द्रको हुन्छ । आगामी वर्ष त्यस्ता व्यक्तिको सम्पत्ति बीमा प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्ने निर्णय बीमा सूचना केन्द्रको तथ्यांकले सहयोग गर्नेछ र त्यस्ता व्यक्तिले पेश गरेको दाबी भुक्तानीमा बीमा कम्पनीले विशेष सावधानी अपनाउनेछ । 

बीमा सूचना केन्द्रले बीमा प्रिमियम रकम, जोखिम वहन भएको कुल रकम, बीमा गरेको मिति, बीमा अवधि, बीमा दाबी भएको भए दाबी रकम, भुक्तानी रकम आदि कुराको सूचना राख्छ । साथै, सबै बीमितका सबै सूचना उल्लेख हुने भएकाले एक जना व्यक्तिले कतिओटा बीमा पोलिसी कुनकुन बीमकबाट कहिले र कति रकममा कुन शर्तमा लिएको छ, कुन अभिकर्ताबाट किनेको छ, पोलिसी बीचमा नै सरेन्डर भयो वा ल्याप्स भयो कि पूरै समयको प्रिमियम तिरियो । यी सबै जानकारी प्राप्त हुन्छ । आम्दानी र बीमा रकमबीचको भिन्नता समेत जानकारी भई बीमाबाट नाफा कमाउन चाहनेहरूलाई दुरुत्साहित गर्न सकिन्छ । त्यस्ता व्यक्तिको इतिहास कस्तो छ, जोखिम कति छ र नैतिकताको अवस्था कस्तो छ भन्नेबारे पनि सूचना केन्द्रको तथ्यांक केलाएर अनुमान गर्न सकिन्छ । बीमा पोलिसी जारी हुनेबित्तिकै सोको जानकारी बीसूकेलाई प्राप्त हुनुपर्छ भने कुनै पोलिसी भुक्तानीको प्रक्रियामा छ भने सो विषयमा पनि जानकारी हुनुपर्छ । 

बीमा सूचना केन्द्रले ठगीका घटना नियन्त्रण गर्न आवश्यक जानकारी उपलब्ध गराउने मात्रै हो । वास्तवमा ठगी विरुद्ध सशक्त रूपमा अघि बढ्न केन्द्रबाहेक अन्य तीन पक्षको आवश्यकता पर्छ ः ठगीविरुद्धको कानून, ठगीविरुद्धको कार्यदल, कर्मचारी, स्रोतसाधन तथा कार्यान्वयनमा प्रतिबद्धता र सफल कार्यन्वयन ।

बीमा सूचना केन्द्र कानूनद्वारा स्थापित स्वायत्त, अधिकारप्राप्त निकाय हुुनु जरुरी छ । सही सूचना नपठाउने, सूचना तोकिएको समयभित्र उपलब्ध नगराउने र केन्द्रले उपलब्ध गराएको सूचनालाई नकार गर्ने जो कोहीलाई कारबाही गर्न सक्ने हैसियत केन्द्रलाई हुनुपर्छ । 

सूचना केन्द्रको स्थापना गर्नुको उद्देश्य बीमाक्षेत्रमा हुने ठगीलाई निरुत्साहित गर्नु पनि हो । हामीकहाँ कति रकम बराबरको बीमा ठगी हुने गरेको छ भन्नेबारे सही तथ्यांक छैन र कुन बिजनेशमा कति ठगी हुने गरेको छ, ठगीको स्वरूप कस्तो छ र कस्ता मानिसबाट कसरी ठगी हुने गरेको छ भन्ने जानकारी सूचना केन्द्रबाट थाहा हुन्छ र कसरी ठगीलाई घटाउन सकिन्छ भन्ने बारेमा निकास दिन सकिन्छ । 

बीमा अब एक देशमा मात्रै सीमित व्यवसाय रहेन, यो अन्तरराष्ट्रिय सेवा व्यापार भइसकेको छ । सूचनाको आदानप्रदान अन्तरदेशीय र विश्वभरि गर्नु अनिवार्य भएकाले नेपाललाई अन्य देशले सूचना दिई सहयोग गर्ने र बदलामा नेपालले पनि अन्य देशलाई सूचना दिनु दायित्व हुन जान्छ ।

विभिन्न देशले आआफ्नो देशको बीमा बजारको अध्ययन गरी वार्षिक रूपमा ठगी हुने रकम अनुमान गरेका छन् । उदाहरणको लागि अमेरिकमा ठगी रकम कुल दाबीको १५ देखि २० प्रतिशत, यूरोपमा १० प्रतिशत र चीनमा मोटर बीमामा २० प्रतिशतसम्म हुने गरेको छ । स्वास्थ्य बीमा सबैभन्दा बढी ठगी हुने क्षेत्र हो । विश्वमा ठगीविरुद्धका धेरै संयन्त्र र निकाय कार्यरत छन् । बेलायतमा इन्स्योरेन्स फ्रड ब्यूरो र इन्स्योरेन्स फ्रड इन्स्फोर्समेन्ट डिपार्टमेन्ट कार्यरत छन् । यिनले इन्स्योरेन्स कम्पनी, प्रहरी, कानूनी निकाय र सम्बद्ध कानूनी निकायसँग सहकार्य गर्दै आएका छन् भने अमेरिकामा नेशनल इन्स्योरेन्स क्राइम ब्युरो, कोलिशन एगेन्स्ट इन्स्योरेन्स फ्रड, र फेडेरल ब्युरो अफ इन्भेस्टिगेशन कार्यरत छन् ।

बीमा ठगी नियन्त्रणका लागि विशेष गरी बीमितका बारेमा पर्याप्त जानकारी उपलब्ध हुनुपर्छ । विभिन्न प्रविधि र सफ्टवेयरहरूको प्रयोगले पनि ठग पहिचान गर्न सकिन्छ । ठगका विरुद्ध स्थायी अनुसन्धान संयन्त्रको गठन गरी यसलाई कम गर्न सकिन्छ । त्यसैगरी समयसमयमा आफ्ना कर्मचारीलाई विभिन्न तालीम प्रदान गर्ने र खराब तरीकाबाट आय आर्जन गर्नु अपराध हो भन्ने हामी यस्तो काम गर्दैनौं र गर्न पनि दिँदैनौं भनी प्रतिबद्धता व्यक्त गराउने, कम्पनीमा गलत क्रियाकलाप हुन नदिन राम्रो संस्कार र वातावरण तयार गर्नुपर्छ । गलत नियतका कर्मचारी, सर्वेयर, अभिकर्ता, तेस्रो पक्ष प्रशासकसँग सम्बन्ध विच्छेद गर्नु आवश्यक हुन्छ । 

विगतमा एभरेष्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्समा भएका घटना बाहिर प्रकाशित भएका छन् भने धेरै जीवन बीमा कम्पनीमा भूmटो मृत्युदाबी हुने गरेको (एलआईसी अफ नेपाल र नेपाल लाइफसँग एकै जनाको फर्जी मृत्युदाबी) पाइन्छ । तर, त्यो दाबी पत्ता लागी रोकिएको थियो भने कतिपय अवस्थामा कम्पनीको कमजोर अनुसन्धान पद्धति र दाबी अस्वीकृत गर्न प्रमाण अपुग भएका कारण भुक्तानी हुने गरेको छ । स्वास्थ्य बीमामा पनि धेरै दाबी रकम यथार्थभन्दा बढी हुने गरेको छ ।तर, त्यसलाई रोक्न हामीसँग पर्याप्त प्रमाण हुँदैन । पशु बीमामा पनि ठगी हुने गरेको छ । तेस्रो पक्ष बीमामा अन्य कारणले मृत्यु भएको मानिसलाई पनि सवारी दुर्घटनामा परी मृत्यु भएको भनी दाबी गर्ने गरिएको पाइन्छ । सन् २०१३ पछि हिमाल आरोहण गर्न आउने पर्यटकको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्यबीमाको व्यवस्था गरिएको छ । तर, फेक रेस्क्यु गरेको भन्दै ट्राभलर एसिस्ट नामक विदेशी कम्पनीले नेपाल सरकारलाई अनुसन्धानका लागि पत्र मात्रै लेखेन, अनुसन्धान टोलीसमेत नेपालमा खटाएको थियो । 

ठगीका कारण एकतिर बीमा प्रिमियमको दर बढ्दै जान्छ भने अर्कोतर्पm कम्पनीको नाफा घट्छ र लगानीकर्तालाई घाटा लाग्छ । समयमा नै यसलाई नियन्त्रण गरिएन भने बीमा उद्योगप्रति आम जनताको वितृष्णा पैदा हुनेछ, बीमाको दाबी बढ्दै जाँदा कम्पनीहरूलाई पुनर्बीमा कम्पनीहरूले पनि विश्वास गर्ने छैनन् र ठूलो संकट पैदा हुन सक्छ । तसर्थ, समयमा नै बीमा सूचना केन्द्रको स्थापना र ठगीबारे अध्ययन अनुसन्धान गर्ने, बिद्यार्थीहरूलाई बीमाको ठगी अपराध हो भनी पाठ्यक्रममा नै राखेर अध्यापन गराउनेजस्ता काम गर्न ढिला भइसकेको छ । 

लेखक पोखरा विश्वविद्यालयका सहप्राध्यापक हुन् । 

प्रतिक्रिया दिनुहोस्