arthik abhiyan
ad banner

दोस्रो ईस्ट टुरिजम मार्ट असोज ४ देखि 

Sep 11, 2019 
बजार
NA

धरान (अस) । प्रदेश नम्बर १ का पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि धरानमा असोज ४ गतेदेखि ६ गतेसम्म प्रदेश नम्बर १ स्तरीय दोस्रो तीनदिने ईस्ट टुरिजम मार्ट हुने भएको छ । 

मार्टमा पर्यटकीय गन्तव्यका विषयमा जानकारी जानकारी दिँदै पर्यटकीय स्थलको प्याकेजका रूपमा प्रचारप्रसार गरिने बताइएको छ । नेपाल पर्यटक बोर्डको सहयोगमा धरान उपमहानगरपालिकाको संयोजनमा तीन दिने मार्ट सञ्चालन हुन लागेको हो । कार्यक्रममा धरान लगायत प्रदेश नम्बर १ का विभिन्न पर्यटकीय गन्तव्यका प्याकेज खरीदका लागि अन्य शहरका पर्यटन व्यवसायीसहित बंगलादेश, भारत, भुटान लगायतका पर्यटन व्यवसायीसँग बिजनेश टु बिजनेश कार्यक्रम हुनेछन् । 

धरानको सिद्धि नेवा परिषद्, परिसरमा आयोजना हुने मार्टमा काठमाडौं, पोखरा, चितवन र लुम्बिनीका ४० ओटा स्टल र प्रदेश नम्बर १ का विभिन्न पर्यटकीय गन्तव्य शहरका थप ६० ओटा स्टल रहने मार्टका संयोजक भवीशकुमार श्रेष्ठले जानकारी दिए । 

पूर्वका प्रमुख गन्तव्य सगरमाथा बेस क्याम्प, हलेसी, बराह क्षेत्र, संखडा छिन्नमस्ता, जनकपुर, कोशीटप्पु बन्यजन्तु आरक्षण, प्राचीन हरिद्वार बराहक्षेत्र, ऐतिहासिक विजपुर, गुफापोखरी, तीनजुरे मिल्के जलजले, इलाम, पाथीभरा लगायत क्षेत्रको प्रचार गरिनेछ । मार्टमा पर्यटनका प्याकेज खरीदविक्री हुने आयोजकको भनाइ छ । मार्टमा पर्यटन प्याकेज किन्ने र बेच्नेगरी करीब ३०० जना पर्यटन व्यवसायी सहभागी हुने बताइएको छ । मार्टको आयोजना शुरुआती अवस्थामै रहेकाले त्यसको प्रभाव अलिक पछिदेखि देखिन थाल्ने श्रेष्ठको भनाइ छ । 

मार्टले धरानको पर्यटनमा समेत टेवा पुग्ने भएकाले धरान उपमहानगरपालिकाले पनि यसमा बजेट विनियोजन गर्ने भएको छ । धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा धरानसहित पूर्वका अन्य पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि मार्ट मुख्य थलो भएको बताइन् ।  

प्रतिक्रिया दिनुहोस्