arthik abhiyan
ad banner

खेलकुद विकास समितिमा तालाबन्दी

Sep 11, 2019 
प्रदेश ०२
NA

राजविराज (अस) । जिल्ला खेलकुद विकास समिति, सप्तरीमा असन्तुष्ट केही पदाधिकारीले लगाएको ताला साढे ३ महीना पुग्दा समेत खुल्न सकेको छैन । तालाबन्दीले खेलकुदका गतिविधि र कार्यालयको दैनिकी कामकाज ठप्प हुनुका साथै पूर्वाधार निर्माणका लागि आएको रू. २० लाखभन्दा बढी बजेट समेत फ्रिज भएको छ ।

लामो समयदेखि तालाबन्दी कायमै रहँदा कर्मचारी तथा प्रशिक्षकहरू १२० किलोमिटर टाढा विराटनगरस्थित पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयमा पुगेर तलब बुझ्न बाध्य छन् । सप्तरीमा काम गर्ने र तलब लिन महीना पुगेपछि विराटनगर जानुपर्दा आपूmहरूलाई समस्या भएको गुनासो प्रशिक्षकहरूको छ । कार्यालयको मूल गेटमै तालाबन्दी गरिएपछि खेलाडीहरू त्यहाँको कभर्डहल प्रयोग गर्नबाट वञ्चित भएको कराँतेका सहायक प्रशिक्ष सन्जय जोशीले बताए । 

समितिमा तालाबन्दी भएपछि अन्य जिल्लामा हुने विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुन खेलाडीहरू स्थानीय बजार र विभिन्न संघसंस्थामा चन्दा उठाउन बाध्य छन् । तालाबन्दी खोल्ने प्रयास हालसम्म कहीँ कतैबाट नहुँदा खेलाडी र खेलप्रेमीहरू आक्रोशित बनेका छन् । 

खेलकुद विकास समितिका उपाध्यक्ष धीरेन्द्र वर्माको नेतृत्वमा बहुमत पदाधिकारी मिलेर समितिको मूल गेटमै तालाबन्दी गरेका हुन् । समितिको बैठकमा बहुमत पदाधिकारीद्वारा गरिने निर्णय कार्यान्वयन हुनुपर्ने, आव २०७१÷७२ देखिको आयव्यय सार्वजनिक गर्नुपर्ने, समितिको खाता प्रमुख र कोषाध्यक्षको संयुक्त नामबाट सञ्चालन हुनुपर्ने लगायत माग राखी गत जेठ ७ गते तालाबन्दी गरिएको थियो । समितिका सबै पदाधिकारी सत्तापक्षीय पार्टी नेकपासँग आबद्घ छन् । तर एउटै पार्टीका भए पनि दुई गुटमा विभाजित भएपछि विवादसँगै तालाबन्दी पनि लम्बिँदै गएको छ । यसले खेल क्षेत्रमा ठूलो असर परेको भन्दै स्थानीय खेलाडी, खेलप्रेमी तथा नागरिक समाजले समस्याको शीघ्र सामाधन खोजी तालाबन्दी खुलाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्