arthik abhiyan
ad banner

घोराहीको घोडदौरामा ‘रक हिल पार्क’

Sep 11, 2019 
प्रदेश ०५
NA
author avatar पाण्डव शर्मा

घोराही । दाङको घोराही उपमहानगरपालिका–१८, घोडदौरामा ‘रक हिल पार्क’ बनाइने भएको छ । पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने तयारी भइरहेको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिए । उनका अनुसार घोडदौरालाई प्रदेश–५ कै पर्यटकीय केन्द्र बनाउने लक्ष्य राखिएको छ । 

क्षेत्रमा प्रदेश सरकारले साँस्कृतिक डबलीको अवधारणा अघि सारेको छ । गत आर्थिक वर्षमा डबलीका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको थियो । चालू आवमा १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । साँस्कृतिक डबली र रक हिल पार्कलाई एकीकृत रूपमा अघि सारिने चौधरीले जानकारी दिए । घोराही बजारदेखि करीब साढे ४ किलोमिटर टाढा पर्ने घोडदौरा क्षेत्रबाट दाङ उपत्यकाको अवलोकन गर्न सकिन्छ । 

‘दाङ उपत्यका हेर्न चाहनेका लागि घोडदौरा सबैभन्दा उपयुक्त स्थान हो,’ चौधरीले भने, ‘अग्लो ठाउँमा रहेकाले गर्मीयाममा शितलताका लागि समेत मानिसहरू जाने गर्छन् ।’ घोडदौरा क्षेत्रमा प्रशस्त चट्टानहरू रहेकाले त्यस क्षेत्रको ऐतिहासिकता झल्कने गरी चित्रहरू कोरिने उपमहानगरपालिकाले बताएको छ । 

त्यहाँ रहेका केही ढुंगाहरूमा हात्तीको आकारसमेत देखिएको छ । ‘रक हिल पार्कमार्फत यस क्षेत्रको कला, सँस्कृति, रहनसहन र सामाजिक चरित्रको चित्रण गरिनेछ,’ चौधरीले भने, ‘यस्तो पार्क प्रदेशका लागि नयाँ हुनेछ ।’ 

घौडदौरा यहाँको सभ्यतासँग जोडिएको क्षेत्र भएकाले यहाँका पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिइने उनले बताए । घोडदौरामा होमस्टेको व्यवस्था समेत गरिएको छ । बाहिरबाट जाने पर्यटकहरूलाई गाउँले वातावरणमा खानपिन तथा बस्नेको व्यवस्था गरिन्छ । 

केही वर्ष पहिलेसम्म घोराहीबाट घोडदौरासम्म पैदल जानुपर्दथ्यो, तर गत वर्षदेखि त्यहाँ बाटोसमेत पुगेको छ । अहिले बाटोको ट्र्याक खुल्ने काम सम्पन्न भए पनि कालोपत्र भइसकेको छैन । 

उपमहानगरका प्रवक्ता तथा वडाध्यक्ष भरतमणि अर्यालले सो सडक खण्ड कालोपत्रका लागि आगामी वर्षमा बजेट विनियोजन गरिने जानकारी दिए । ‘लुम्बिनी तथा स्वर्गद्वारी आउने पर्यटकहरूलाई कम्तीमा एक दिन दाङ बस्ने वातावरण तयार गरे पनि यहाँको आर्थिक विकासमा निकै सहयोग पुग्थ्यो,’ उनले भने, ‘अहिले दाङमा पर्यटन क्षेत्रमा उल्लेख्य विकास भएको छ ।’

प्रदेश सरकार तथा स्थानीय सरकारले बजेट विनियोजन गर्न थालेपछि घोडदौरामा पर्यटकहरूको आगमन बढेको स्थानीय बताउँछन् । उनीहरूका अनुसार अहिले हप्तामा सयौं मान्छेहरू घोडदौरा घुम्न आउने गरेका छन् । विशेष गरेर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी तथा युवा त्यहाँ घुम्न आउने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्