arthik abhiyan
ad banner

राडीपाखी संरक्षणमा स्थानीय सरकार

Sep 11, 2019 
प्रदेश ०१
Image Not Found
author avatar खविन लुइटेल

पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिकाले राडीपाखी संरक्षणमा सक्रियता देखाएको छ । उच्च पहाडी क्षेत्रवाट भेडा र भेडीगोठ मासिँदै गएपछि गाउँपालिकाले भेडापालन व्यवसाय प्रवर्द्धनका लागि राडीपाखी लगायतका वस्तुको उत्पादन र प्रवर्द्धनका लागि शीप हस्तान्तरण कार्यक्रम अगाडि सारेको छ । 

भेडाको उनबाट बुनिने राडीपाखी, बुर्कासन र लुकुनी जस्ता वस्तुको माग हुँदाहुँदै कालिगढको अभावमा यस्ता वस्तु उत्पादन हुन छोडेपछि गाउँपालिकाको पशु विकास शाखाले गत आर्थिक वर्ष तथा यो वर्ष समेत तालीम सञ्चालन गरेको छ । राडीपाखीको उत्पादन र निर्यातसँगै भेडापालन व्यवसाय प्रवद्र्धन गर्ने दीर्घकालीन कार्यक्रम समेटिएको शाखाका प्रमुख छिरिङ शेर्पाले जानकारी बताए । 

भेडापालनका लागि पकेट क्षेत्र फालेलुङ र याङवरक गाउँपालिकाको माथिल्ला लेकमा रहेका भेडाको ऊन प्रशोधन गर्दै राडीपाखी उत्पादन गर्ने जनशक्तिले पेशा परिवर्तन गरेसँगै सामग्री उत्पादन घटेको छ । भेडापालन व्यवसाय खुम्चिँदै गएकोमा स्थानीय सरकारले प्रवद्र्धनको नीति ल्याउनु सकारात्मक रहेको स्थानीय रेखा गुरुङले बताइन् । पुरानाबाट नयाँ पुस्तालाई राडीपाखी बुन्ने शीप हस्तान्तरण नहुँदा परम्परागत व्यवसाय हराउने अवस्था आएको उनले बताइन् । 

गत आवमा ३ महीनासम्म चलाइएको तालीममा १० जना महिलाले शीप सिकेको वडासचिव मानवहादुर सावदेनले जानकारी दिए । यस्तै कार्यक्रम यो वर्ष समेत सञ्चालन गरिने भएको छ । तालीममा भेडाको ऊन काढेपछि धोइपखाली गर्ने त्यसपछि केलाएर चर्खामा फट्कार्ने र प्रशोधन गरेर तान लगाउँदै राडीपाखी, बुर्कासन र लुकुनीजस्ता वस्तु तयार पार्ने शीप सिकाइएको हो । राडीपाखीको उत्पादन र प्रवद्र्धनसँगै भेडापालनका लागि समूह गठन गरेर अनुदान दिने नीति समेत स्थानीय सरकारले लिएको छ । यस क्षेत्रमा उत्पादित राडीपाखी काठमाडौं, पोखरा तथा हङकङ, सिंगापुर र अमेरिकासम्म निर्यात हुने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्