arthik abhiyan
ad banner

तरकारी खेतीमा डढुवा रोगको प्रकोप

Sep 11, 2019 
प्रदेश ०६
Image Not Found
author avatar पंखबहादुर शाही

दैलेख । दैलेखका ग्रामीण भेगमा लगाइएको तरकारी खेतीमा डढुवा रोगको प्रकोप बढेको छ । भदौ पहिलो सातादेखि नै रोगको प्रकोप बढेको र हाल गोलभेडा लगायत तरकारी खेती भएका अधिकांश पोलिहाउस (प्लास्टिकको टनेल) मा फैलिएको कृषि ज्ञान केन्द्र दैलेखले जानकारी दिएको छ ।

पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका–२, ३ र ४ मा यो रोगको प्रकोप अत्यधिक देखिएको छ । शुरूमा पात कालो हुने, त्यसपछि दाना र बोट सबै कालो हुँदै बोट पूर्णरूपमा रूपमा नष्ट भएको कृषक विनोद खनालले बताए । आफूले तयार गरेको जैविक विषादी मल प्रयोग गर्दा पनि रोगले नछोडेको उनले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ‘कृषि पकेट’ कार्यक्रम उक्त वडामा सञ्चालन गरिएको थियो । अहिलेको सिजन गोलभेडाको रहेको र कार्यक्रमको पहिलो चरणमा नै डढुवा रोग लाग्नाले लक्ष्यअनुसार उत्पादन नहुने देखिन्छ । रामागाड कृषि सहकारी संस्थाको पहलमा भइरहेको कार्यक्रमअन्तर्गत यो पकेट क्षेत्रका ८० ओटा पोलिहाउसबाट ९ टन गोलभेडा उत्पादन गर्ने लक्ष्य लिइएको थियो । रोगका कारण लक्ष्यमा पुग्न नसकिने संस्थाका सचिव फणिन्द्रप्रसाद कँडेलले जानकारी दिए । 

कृषि ज्ञान केन्द्रका प्रमुख तिलक पाण्डेका अनुसार अलि ओसिलो ठाउँमा यो रोग लाग्ने गर्दछ । ‘शुरूमा केही जानकारी भए विकल्पहरू खोज्न सकिन्थ्यो तर अलि लामो समय भइसकेकाले अत्यधिक मात्रामा विषादी औषधि प्रयोग गर्नुपर्छ,’ उनले भने । नगरपालिकाको कृषि शाखाले रोग नियन्त्रणका लागि पहल गरिरहेको जानकारी दिएको छ । नगर कृषि इकाइ प्रमुख गणेश रेग्मीले केही दिनमै कृषि प्राविधिकको टोलीले अनुसन्धान शुरू गर्ने बताए । 

प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका कृषि अधिकृत बखतबहादुर खड्काले डढुवा रोगबारे जानकारी नआएको बताए । कृषि मन्त्रालयका रू. ४९ लाख अनुदान र पकेट क्षेत्रअन्तर्गत कृषकको श्रमदान २१ लाखबराबर गरी करीब रू. ७० लाख पकेट क्षेत्रको बजेट रहेको थियो । 

कार्यक्रम अन्तर्गत यहाँ ९ ओटा सिँचाइपोखरी र २ ओटा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ । त्यस्तै, २२ घरधूरीमा भकारो सुधार, बेमौसमी तरकारी खेती गर्न ५० घरधूरीमा प्लास्टिक वितरण तथा जैविक विषादी निर्माणका लागि ८० घरधुरीलाई प्लास्टिक ड्याम तयार पार्न अनुदान वितरण गरिएको छ । किसानहरूलाई तालीमका साथै, तरकारी संकलन क्यारेट, बीउ तथा कृषि औजारहरू पनि वितरण गरिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस्