arthik abhiyan
ad banner

पदमार्गले जोडिँदै पञ्चकोट ढोरपाटन

Sep 11, 2019 
विकास
NA

गलकोट । बागलुङको पर्यटन विकासका लागि नयाँ पदमार्ग पहिचान गरिएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यमध्ये दुई गन्तव्य पञ्चकोट र ढोरपाटनलाई पदमार्ग मार्फत जोड्न पदमार्ग पहिचान गरिएको हो । पदमार्गले दुई पर्यटकीय गन्तव्यलाई जोडेर त्यस क्षेत्रमा भएका अन्य पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवर्द्धनका लागि पदमार्गको पहिचान गर्न थालिएको हो । पहिलो चरणमा बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका र म्याग्दीको बेनी नगरपालिकाको शिर बेलढुंगासम्म पदमार्गको रेखांकन गरिएको छ । 

जिल्लाका पर्यटकीय स्थललाई पदमार्गमा जोड्न पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धवलागिरि, बेलढुंगासम्म पदमार्गको पहिचान गरिएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । भ्रमण वर्ष २०२० मा बागलुङ आउने पर्यटकलाई पदमार्गका बारेमा जानकारी गराई पर्यटन प्रवद्र्धनमा सहयोगका लागि समेत पदमार्ग रेखांकन गरिएको छ । 

पदमार्गको ‘धवलागिरि चक्रपथ’ नामकरण समेत गरिएको छ । बागलुङका वडा नं ६ र ७, बेनी नगरपालिकाका वडा नं २ र ३, काठेकोला गाउँपालिकाका वडा नं १, २ र ३ का पर्यटकीय स्थल तथा ऐतिहासिक महŒव बोकेका स्थानलाई समेटेर पञ्चकोट–बेलढुंगा पदयात्रा गरी पदमार्गको रेखांकन गरिएको थियो ।

पञ्चकोटदेखि बेलढुंगा, ताराखोला हुँदै ढोरपाटनसम्म नयाँ पदमार्ग निर्माणका लागि पहिलो चरणमा २५ किलोमिटर पदमार्गको रेखांकन गरिएको धवलागिरि पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कँडेलले बताए । पञ्चकोटदेखि ढोरपाटन पुग्ने पदमार्ग झण्डै १०० किलोमिटर लामो हुनेछ । जिल्लाका सबै पर्यटकीय स्थल पदमार्गले जोडिए मात्र बागलुङ पर्यटकको गन्तव्य बन्न सक्ने कँडेलको भनाइ छ । पञ्चकोट–बेलढुंगामा पदमार्गमा पदयात्रीलाई सहज बनाउन धवलागिरि चक्रपथ विकास समितिसमेत गठन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्