arthik abhiyan
ad banner

निम्न आय भएकालाई सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी भइरहेको छ : मन्त्री यादव

Sep 11, 2019 
समाचार
Image Not Found
author avatar युवराज बस्नेत

भदौ २५, काठमाडौं । सरकारले सर्वसाधारण उपभोक्ताका लागि खाना पकाउने एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले छिट्टै सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी भइरहेको बताएका हुन् ।

आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भइरहेको उनको भनाइ छ । बुधवार नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभामा मन्त्री यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दाबीसमेत गरे ।

मन्त्री यादवले पटक–पटक कमजोर आर्थिक अवस्था भएकालाई ग्यासमा सहुलियत प्रदान गर्ने बताउँदै आएका छन् । गत पुसमा आयल निगमको वार्षिकोत्सव कार्यक्रममा पनि मन्त्री यादवले सहुलियत ग्यासको कुरा गरेका थिए । तर हालसम्म पनि यो कार्यान्वयनमा आउन सकेको छैन ।

उता आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल भने प्रतिसिलिन्डर १९३ रुपैयाँ घाटामा रहेको बताउँछन् । उनको भनाइ अनुसार नेपाल आयल निगमले हाल आफ्नो लागत मूल्यभन्दा कम मूल्यमा ग्यास विक्री वितरण गर्दै आएको छ । अहिले प्रतिसिलिन्डर ग्यासको लागि सर्वसाधारणले १ हजार ३७५ तिर्दै आएका छन् ।

बुधवारको कार्यक्रममा व्यवसायीहरुले ग्यासको आयात गरी आफैंले विक्री वितरण गर्न निजी क्षेत्रलाई खुला गरिनुपर्नेमा जोड दिएका छन् । चेम्बर अफ कमर्शका कार्यकारी अध्यक्ष राजेन्द्र मल्लले ग्यासमा स्वचालित मूल्य लगाउनुपर्ने भन्दै डिलर प्रमाणीकरणलाई जोड दिएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघका वर्तमान अध्यक्ष गोकुल भण्डारीले वर्षौं भइसक्दा पनि सरकारले ग्यास उद्योगीको माग पुरा नगरेकोमा आपत्ति जनाउदै ग्यास व्यवसायलाई व्यवस्थित गर्नबाट सरकार चुकेको बताए ।

निगमका अनुसार अहिलेसम्म ८३ ओटा कम्पनीले लाइसेन्स पाइसकेका छन् । तर पूर्णरुपमा सञ्चालन भने ५० ओटा छन् । व्यवसायीले ग्यास वितरक कम्पनीलाई मर्ज गर्नुपर्ने समेत माग राखेका छन् । तर, सहुलियत दरमा ग्यास उपलब्ध गराउने प्रतिवद्धता धेरै भएपनि सर्वसाधरणले उतिनै रकम तिरेर ग्यास किन्नुपर्ने बाध्यता हटेको छैन ।

नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा पुनः भण्डारी
नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी पुनः निर्विरोध निर्वाचित भएका छन् । संघको बुधवार भएको साधारण सभाबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । पहिलो कार्यकालमा उनले वर्षौदेखि ग्यास उद्योगीले माग गर्दै आएको कमिशन बढाउनका लागि भूमिका खेलेका थिए ।

साधारण सभाबाट संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन् । संघको महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयन भएका छन् । सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल जाजोदिया, बाबुराम पोखरेल, योगेश घिमिरे र सुदिप घिमिरे चयन भएका छन् । संघले योगेश पौडेल र अमित अग्रवाललाई मनोनित सदस्यका रुपमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्