arthik abhiyan
ad banner

नेत्रलाल बहुउद्देश्यीय रंगशाला : निर्माण सामग्रीको मूल्य बढ्दा लगानी दुई गुणाभन्दा बढी पुग्ने

Sep 11, 2019 
प्रदेश ०५
Image Not Found
दाङको घोराही उपमहानगरपालिका–१६ मा निर्माणधीन नेत्रलाल अभागी बहुउद्देश्यीय रंगशालाको जमिन समथर बनाइदै । तस्वीर : आर्थिक अभियान
author avatar पाण्डव शर्मा

भदौ २५, घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नं १६ मा निर्माणाधीन नेत्रलाल अभागी बहुउद्देश्यीय रंगशालाको निर्माण लागत दुई गुणाभन्दा बढी पुग्ने भएको छ । उपमहानगरले तयार गरेको लागत अनुमान अनुसार रंगशाला निर्माणको लागत २८ करोड रुपैयाँ रहेको छ । तर, पछिल्लो समय निर्माण सामग्रीको मूल्य लगातार वृद्धि भइरहेकाले रंगशालाको निर्माण पूरा गर्न ६० करोड रुपैयाँ खर्च लाग्ने रंगशाला निर्माण व्यवस्थापन समितिका सचिव नरेन्द्र पुनले जानकारी दिए ।

गत वर्ष रंगशालाका लागि प्रदेश–५ सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो रकमले रंगशालाको जग्गा समथर बनाउने काम गरिएको उनले जानकारी दिए । चालू आवमा प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले पञ्चवर्षे योजना अन्तर्गत रंगशाला निर्माणको काम शुरु गरेको हो ।

२५ बिगाह क्षेत्रफलमा बन्न लागेको रंगशाला तत्कालका लागि उत्तर–दक्षिण २९० मीटर र पूर्व–पश्चिम १३० मिटरको हुने बताइएको छ । रंगशाला निर्माण क्षेत्रमा तीन जनाको व्यक्तिगत जग्गा पर्ने भएकाले उनीहरुलाई उचित मुआब्जा दिई व्यवस्थापनको काम उपमहानगरले गर्ने सहमति भएको छ । चालू आव भित्रै निर्माणका लागि टेण्डर प्रक्रिया थालिने पुनले जानकारी दिए । यो रंगशाला फुटबल खेल प्रयोजनका लागि प्रयोग गरिने छ । ‘हामीले अन्तरराष्ट्रियस्तरका खेलहरु समेत गर्न सक्छौं,’ उनले भने, ‘दाङमा यो सहित लमही र बेलझण्डिमा पनि अन्तरराष्ट्रिय स्तरका रंगशाला बनिरहेका छन् ।’

नेत्रलाल रंगशालामा एउटा स्वीमिङपुल समेत निर्माण गरिने छ । त्यसैगरी आवसगृह, पार्किङ र कबर्ड हलको समेत व्यवस्था गरिने छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि आफूहरुले उच्च प्राथमिकतामा राखेर योजनाहरु अघि बढाइरहेको जानकारी दिए । ‘मुलुकको राष्ट्रियता तथा पहिचान बढाउन खेल क्षेत्रको विकास गर्न जरुरी छ,’ उनले भने, ‘अब प्राथमिक तहदेखि विद्यार्थीहरुलाई खेल क्षेत्रमा प्रोत्साहित गरिने छ ।’ खेल मैदानहरु निर्माण भएपछि दाङमा आर्थिक गतिविधि समेत बढ्ने चौधरी बताउँछन् । राष्ट्रिय, अन्तरराष्ट्रिय तथा क्षेत्रीय खेलहरु आयोजना गर्दा दाङमा अहिलेको तुलनामा धेरै चहलपहल बढ्ने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्