arthik abhiyan
ad banner

सातौं फर्निचर तथा फर्निसिङ मेला शुरू

Sep 11, 2019 
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा सातौं फर्निचर तथा फर्निसिङ प्रदर्शनी मेला शुरू भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको उक्त मेलाको बुधवार उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेका हुन् । फर्निसिङ व्यवसायमा आधुनिकता भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्यले यो प्रदर्शनी गरिएको आयोजकले बताएको छ । प्रदर्शनीमा १२० स्टल छन् ।

मेलाको उद्घाटन कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सबैका लागि अत्यावश्यक फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताए । ‘सरकारले व्यवसायीमैत्री वातावरण बनाउनेभन्दा पनि व्यवसायीलाई तर्साउने काम गरेको छ,’ उनले भने, ‘पहिले थुन्ने अनि पछि सुन्ने सरकारको नीतिले निजी क्षेत्र अगाडि बढ्न सक्दैन ।’ निजी क्षेत्रले सरकारको विश्वास गर्ने वातावरण नभएकाले यसमा सुधार गर्नुपर्ने उनले बताए ।

संघका अध्यक्ष रुपेश प्रधानले कच्चापदार्थको अभावका कारण फर्निसिङ व्यवसाय अघि बढ्न नसकेकाले सरकारले यसको लागि उचित कदम चाल्नुपर्ने बताए । उनले देशभर १० लाख फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको भन्दै यस क्षेत्रमा ५ लाखभन्दा बढीले रोजगारी पाएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिए । ७ वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको यो मेलाको यस वर्षको संस्करण आइतवार (भदौ २९ गते) सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्