arthik abhiyan
ad banner

किन आए वाङ यी ? 

Sep 12, 2019 
सम्पादकीय
NA

उत्तरी छिमेक चीनका विदेश मन्त्री वाङ यी ३ दिने नेपाल भ्रमण सिध्याएर फर्किएका छन् । उनको यो भ्रमण किन भयो, यसबाट नेपालले केकति फाइदा लिन सक्यो र नेपाल–चीन सम्बन्धमा कस्तो परिवर्तन आयो भन्नेमा प्रशस्त टीकाटिप्पणी भएका छन् । 

सरकारले भ्रमण उपलब्धिमूलक र सफल रहेको प्रतिक्रिया दिए पनि अन्य विशेषज्ञ र विश्लेषकहरूले भने भ्रमण पूर्णतः असफल रहेको बताएका छन् । यी दुवै भनाइ आआफ्ना ठाउँमा सही वा गलत जे भए पनि नेपालले चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि आवश्यक तयारी गरेको नदेखिएकाले यसलाई विना तयारीको भ्रमण भन्न भने सकिन्छ । 

लामो समयदेखि नेपालमा चीनका राष्ट्रपतिले भ्रमण गरेका छैनन् । अहिले चिनियाँ राष्ट्रपति सी चिनफिङले यही असोज २४ गतेदेखि २६ गतेसम्म भारत भ्रमण गर्न लागेको र सोही क्रममा नेपाल भ्रमणमा आउने अपुष्ट समाचार आएका छन् । यही भ्रमणको तयारीका लागि वाङ यी नेपाल आएको विश्लेषकहरूको अनुमान थियो, सरकारले पनि त्यस्तै संकेत दिएको थियो । तर, ‘उपयुक्त समयमा भ्रमण हुने’ प्रतिक्रिया दिएर चिनियाँ विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिको भ्रमणको सम्भावना हालका लागि टरेको संकेत दिएका छन् ।

विश्वकै शक्तिशाली राष्ट्र बन्ने क्रममा रहेको चीनको विदेशमन्त्री यसै पनि व्यस्त हुन्छन् । त्यसमा पनि  हालका विदेशमन्त्री विगतका भन्दा निकै शक्तिशाली भएको बताइन्छ । यस्तोमा नेपालमा झन्डै २० घण्टा सामान्य भेटघाट र हाइकिङका लागि मात्रै पक्कै आएनन् होला, केही त्रिपाल दान गर्न वा एउटा अस्पताल बनाइदिन्छु भन्न मात्रै पनि आएका होइनन् होला । 

उनको भ्रमणबाट फाइदा लिने गरी नेपालले पर्याप्त तयारी नगरेको भने पक्कै हो । चाहे आरबीआईका परियोजनाहरूलाई अगाडि बढाउने सन्दर्भ होस्, चाहे चिनियाँ रेलको सन्दर्भ वा राष्ट्रपतिको भ्रमणकै विषय किन नहोस्, यीबारे कुनै ठोस परिणाम प्राप्त भएको तथ्य बाहिर आएन । सबै पूर्वाधार चीनले नै बनाइदिएर तयार पारेको तातोपानी नाकालाई साँच्चै सञ्चालनका ल्याउनेबारे पनि केही प्रगति भएन । 

चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउन सक्ने सम्भावना हुन्थ्यो भने विदेशमन्त्रीस“ग कुन सम्झौता गरिहाल्नुपर्ने थिएन । यो त राष्ट्रपतिकै भ्रमणमा गर्न सकिन्थ्यो । हो, चीनका विदेशमन्त्री चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लिएर नेपालको तयारी कस्तो छ भनेर बुझ्न आएका हुन सक्छन् । नेपालले यसबारे उनलाई आश्वस्त पार्न नसकेको स्पष्ट देखिन्छ । 

चीनका लागि नेपाल निकै महत्वको देश पनि होइन । तर पनि उसको छिमेक नीतिमा नेपाल पक्कै प्राथमिकतामा परेको हुनुपर्छ । कस्मिर र हङकङका विषयले यस क्षेत्रमा राजनीतिक तनाव पैदा गरेको छ । यस्तोमा नेपालको एक चीनप्रतिको प्रतिबद्धता बुझ्न चिनियाँ विदेशमन्त्री नेपाल आएको अनुमान पनि छ । नेपालले अमेरिकी रक्षा नीति ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ मा आफू नबस्ने जानकारी चिनियाँ विदेशमन्त्रीलाई गराएको भन्ने चर्चा पनि चलेको छ । 

तर, नेपालले बीआरआईमा सम्झौता गरे पनि त्यसका लागि थप काम भने खासै केही गरेको देखिएको छैन । त्यसबाट लाभ लिन नेपाल नै विशेष सक्रिय हुनुपर्नेमा चीनले सबैथोक गरिदिन्छ भनेजस्तो सोच नेपाल सरकारस“ग रहेको बुझिन्छ । यी को भ्रमणमा पनि बीआरआईबारे चर्चा भएको समाचार बाहेक ठोस कुनै कार्यक्रम आएको देखिएन । 

विश्वकै शक्तिशाली देशका विदेशमन्त्रीलाई देशमा भिœयाए पनि नेपालले यसबाट कूटनीतिक लाभ लिन सकेको देखिएन न त कुनै आर्थिक वा दूरगामी असर पार्ने खालका निर्णय नै भएको देखिन्छ । हुन त भ्रमण कुन प्रयोजनका लागि भयो र त्यसले कस्तो असर पार्‍यो भन्ने जान्न केही समय कुर्नुपर्ने पनि हुन्छ । तर, सरकारले सधैं भन्ने गरेको ‘नयाँ उचाइमा पुग्यो’ भन्ने प्रतिक्रिया बाहेक अन्य उपलब्धि भने तत्कालमा सतहमा देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्