arthik abhiyan
ad banner

राजधानीमा पाकिस्तानी उत्पादन मेला हुँदै

Sep 12, 2019 
बजार
NA

काठमाडौं (अस) । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी भदौ अन्तिम साता राजधानीमा हुने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड सेन्टरको चौथो तला डीईसीसीमा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म ‘पाकिस्तान एन्ड नेपाल फ्रेन्डशिप ट्रेड फेयर २०१९’ मेला हुन लागेको हो ।

मेलामा फर्निचर उत्पादन, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता/चप्पल, नक्कली गरगहना लगायत सामग्री रहने आयोजक इभेन्ट म्यानेजर इन्ट्रोडक्शन ट्रेड शो नेपाल प्रालिले जानकारी दिएको छ । 

काठमाडौंस्थित पाकिस्तानी दूतावास र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकदेखि उक्त प्रदर्शनी हुँदै आएको छ । मेलामा ६० भन्दा बढी व्यापारीहरूको स्टल रहने बताइएको छ । ललितपुर उद्योग वाणिज्य संघको प्रवद्र्घनमा हुन लागेको मेलामा पाकिस्तानका ३० ओटा स्टल रहनेछन् । मेलामा यसपटक नेपाल, भारत र बंगलादेशी उत्पादनका स्टल समेत राखिने आयोजक पक्षले जानकारी दिएको छ । 

दुवै देशबीच आर्थिक गतिविधि बढाउन र दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन यस्ता मेला फलदायी हुने आयोजक इन्ट्रोडक्शन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले बताए । पाकिस्तानमा निर्मित छालाका सामग्रीले नेपालमा बजार लिएको र नेपाली हस्तकला सामग्रीले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उनले यसबाट दुवै देशको उत्पादन प्रवद्र्घनमा सहयोग पुग्ने अपेक्षा गरे । मेलाले दुवै देशका व्यवसायीबीच सम्बन्ध स्थापना र आर्थिक गतिविधि सक्रिय बनाउने उनको भनाइ थियो । यसपटक मेलाको आकर्षणका रूपमा विभिन्न देशका फूड स्टल, साना केटाकेटीका लागि गेमिङजोन, फोटो शूट र विविध सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्