arthik abhiyan
ad banner

होमस्टे सञ्चालनका लागि सहयोग

Sep 12, 2019 
बजार
Image Not Found

दोलखा (अस) । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी दोलखाका विभिन्न गाउँमा होमस्टे सञ्चालनका लागि सहयोग गरेको छ । संरक्षण क्षेत्र आयोजनाले संरक्षण क्षेत्रभित्र पर्ने विभिन्न बस्तीहरूमा पर्यटन प्रवर्द्धन गर्न होमस्टे सञ्चालन गर्न लागेको हो । 

आयोजना क्षेत्रभित्र पर्ने गौरीशंकर गाउँपालिका वडा नम्बर ६ लुङ्साका ७ घर, वडा नम्बर ७ मार्बु तथा सिक्पास्वरका १० घर र कालिञ्चोक गाउँपालिका वडा नम्बर १ बेगुम्पा तथा छिपुङका ३ घरलाई होमस्टे सञ्चालनका लागि सहयोग गरिएको आयोजनाका प्रमुख सत्यनारायण शाहले बताए । २० घरमा होमस्टे सञ्चालनका लागि सम्बन्धित घरका सदस्यलाई प्रारम्भिक तालीम समेत दिइएको उनले जानकारी दिए । 

होमस्टेका लागि २० घरलाई प्रतिघर एक कोठा र दुई बेडका लागि आवश्यक सिरक, डस्ना, तन्ना, चप्पल, डोर म्याट, डस्टबीन, तौलिया, ऐना, एस्ट्रे, कार्पेट, होमस्टे बोर्ड लगायत सामग्री सहयोग गरेको आयोजनाका प्राकृतिक स्रोत संरक्षण सहायक शंकरमान थामीले बताए । आयोजनाले प्रतिघरधुरी रू. २० हजारका दरले ४ लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराएको उनको भनाइ छ ।

होमस्टे सञ्चालन गर्न तालीम तथा सहयोग पाउनेहरूमा गौरीशंकर गाउँपालिका वडा नम्बर ६, लुङ्साका लमु शेर्पा, नेमगिमा शेर्पा, छिरिङलमु शेर्पा, रिम्बुटी शेर्पा, जाङ्मु शेर्पा, ओङछु शेर्पा र ओङनुर्वु शेर्पा छन् । त्यस्तै, वडा नम्बर ७, मार्बु तथा सिक्पास्वरका मिनु शेर्पा, शान्ति शेर्पा, निमलमु शेर्पा, मिङमा शेर्पा, निमलेकी शेर्पा, दालमु शेर्पा, डोल्मा शेर्पा, माया शेर्पा, च्याङली शेर्पा तथा चण्डिका गुरुङ छन् । यसैगरी आयोजनाले कालिञ्चोक गाउँपालिका वडा नम्बर १, बेगुम्पा तथा छिपुङका लालध्वज थामी, लालबहादुर थामी र वीरबहादुर थामीलाई सहयोग तथा तालीम दिएको छ । 

आयोजनाले तालीम प्रदान गरी घरमा होमस्टे तयार गर्न सहयोग गरेकोमा आफूहरू खुशी भएको उनीहरूको भनाइ छ । होमस्टेमा वास बस्न आउने स्वदेशी तथा विदेशी पाहुनालाई स्वागत गर्न आफूहरू तयार रहेको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्वु, गोमटाका निमलमु शेर्पाले बताए । होमस्टे सञ्चालनपछि पर्यटन प्रवद्र्धनमा सहयोग पुगी स्थानीयको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने आयोजनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्