arthik abhiyan
ad banner

विपन्नलाई सस्तोमा ग्यास दिने सरकारको तयारी

Sep 12, 2019 
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यास निम्न आय भएका उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारणसभाको बुधवार काठमाडौंमा उद्घाटन गर्दै त्यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘आर्थिक दृष्टिले सम्पन्न नागरिकलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’ उनले एलपी ग्यासको आपूर्ति सहज ढंगले भइरहेको दाबी पनि गरे । 

मन्त्री यादवले कमजोर आर्थिक अवस्था भएकालाई ग्यासमा सहुलियत प्रदान गर्ने विषय पटक पटक बताउँदै आए पनि त्यो बोलीमै सीमित छ । नेपाल आयल निगमको गत पुसमा भएको वार्षिकोत्सव कार्यक्रममा पनि मन्त्री यादवले त्यस्तो बताएका थिए । 

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल भने प्रति ग्यास सिलिन्डर निगम १९३ रुपैयाँ घाटामा रहेको बताउँछन् । निगमले हाल आप्mनो लागत मूल्यभन्दा कम मूल्यमा ग्यास विक्री वितरण गर्दै आएको छ । सोही कारण घाटा ब्यहोर्नुपरेको निगमको भनाइ छ । अहिले प्रति सिलिन्डर ग्यासको लागि सर्वसाधारणले १ हजार ३७५ तिर्दै आएका छन् । 

कार्यक्रममा निजीक्षेत्रका प्रतिनिधिहरूले भने ग्यास आयात र विक्री वितरण निजीक्षेत्रका लागि पनि खुला गरिनुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्शका कार्यकारी अध्यक्ष राजेन्द्र मल्लले ग्यासमा स्वचालित मूल्य प्रणाली लगाउनुपर्ने बताउँदै डिलर प्रमाणीकरणलाई जोड दिए । ग्यास व्यवसायीका समस्यालाई सरकारले बुझ्न नचाहेको व्यवसायीको आरोप छ ।  नेपाल एलपीजी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले व्यवसायलाई व्यवस्थित बनाउन सरकार चुकेको बताए । वर्षौं भइसक्दा पनि ग्यास उद्योगीको माग सरकारले पूरा नगरेकोमा उनले आपत्ति व्यक्त गरे । 

निगमका अनुसार ग्यास उद्योग सञ्चालनका लागि अहिलेसम्म ८३ ओटा कम्पनीले लाइसेन्स पाइसकेका छन् तर पूर्णरूपमा सञ्चालन भने ५० ओटा मात्र छन् । व्यवसायीले ग्यास वितरक कम्पनीलाई मर्ज गर्नुपर्ने मागसमेत गरे । 

संघको अध्यक्षमा पुनः भण्डारी
साधारणसभाले गोकुल भण्डारीलाई नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा पुनः निर्विरोध चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षमा शंकर श्रेष्ठ र मनोजकुमार दास, महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयन भएका छन् । यस्तै सदस्यहरूमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल जाजोदिया, बाबुराम पोखरेल, योगेश घिमिरे र सुदीप घिमिरे छानिएका छन् । संघले योगेश पौडेल र अमित अग्रवाललाई सदस्यमा मनोनयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्