arthik abhiyan
ad banner

चीनमा धमाधम लगानी रद्द गर्दै अमेरिकी कम्पनी

Sep 12, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

साङ्हाई (चीन) । अमेरिकी कम्पनीले चीनमा गर्न लागेको लगानी तीव्र गतिमा अन्यत्र सार्न थालेका छन् । अमेरिकाले चीनबाट आयातित वस्तुमा थप कर बढाएसँगै व्यवसायलाई नोक्सान हुन थालेपछि यो क्रम बढेको बुधवार साङ्हाईस्थित अमेरिकी चेम्बर अफ कमर्शले सार्वजनिक गरेको सर्वेक्षणले देखाएको हो ।

सर्वेक्षणमा संलग्न एक चौथाइभन्दा धेरै अर्थात् २६ दशमलव ५ प्रतिशत सहभागीले विगत एक वर्षमा चीनमा गर्ने भनिएको लगानी अन्यत्र सारेको बताएका थिए । गत वर्षको सर्वेक्षणको तुलनामा यस वर्ष यस्तो बताउनेको संख्या ६ दशमलव ९ प्रतिशतले बढेको छ । प्रविधि, हार्डवेयर, सफ्टवेयर र सेवा उद्योगहरूको लगानी गन्तव्यमा उच्चस्तरको परिवर्तन आएको प्रतिवेदनले देखाएको छ । सर्वेक्षण बजार अनुसन्धाता संस्था पीडब्ल्यूसीको साझेदारीमा भएको थियो । सर्वेक्षणमा साङ्हाईस्थित अमेरिकी चेम्बर अफ कमर्शका ३३३ सदस्य सहभागी थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङले वार्ता पुनः शुरू गर्ने सहमति भएको बेला अर्थात् जुलाईको २७ देखि २५ बीच सर्वेक्षण भएको थियो । त्यति बेला दुवैले एक अर्काको देशबाट आयातित वस्तुमा प्रतिकारात्मक महसुल बढाएका थिएनन् । चीनको बजारमा पहुँच सीमित भएको कारण त्यहाँ व्यवसाय गर्न गाह्रो भएको कम्पनीहरूले बताएका छन् । विद्यमान व्यापार वार्ताले चीनको बजारमा राम्रो पहुँच पाइएमा व्यवसायलाई निकै मद्दत मिल्ने सर्वेक्षणमा संलग्न ४० प्रतिशत सहभागीले बताएका छन् । 

त्यस्तै, २८ प्रतिशतले भने बौद्धिक सम्पत्ति सुरक्षामा सुधार भएको हेर्न चाहने बताए । अनि व्यापार वार्ताबाट तेस्रो सर्वाधिक अपेक्षा गरिएको नतीजा अमेरिकी वस्तुको खरीद बढोस् भन्ने हो । सर्वेक्षणमा सहभागी १४ दशमलव ३ प्रतिशतले यस्तो बताएका छन् । चीनमा अमेरिकी कम्पनीहरूको उपस्थिति बलियो छ । चीनमा अमेरिकी कम्पनी र तिनका सहायक कम्पनीहरूको विक्री वार्षिक साढे ४ खर्ब डलरभन्दा धेरै रहेको अगस्टमा गाभेकल ड्र्यागोनोमिक्सले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । यो अमेरिकाले चीनमा निर्यात गर्ने वस्तु तथा सेवाको मूल्यको दोब्बरभन्दा धेरै हो । 

तर दुवै देशले एक अर्कामाथि लगाएको प्रतिकारात्मक करले केही अमेरिकी कम्पनीहरूको आम्दानी घटिरहेको छ र उनीहरूको चीन नीति नै परिवर्तन गराइरहेको छ । अमेरिकाले चेतावनी दिएअनुरूप यो वर्षको अन्त्यसम्मा अमेरिका भित्रिने सबै चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने हो भने पेचिङले पनि त्यस्तै गर्नेछ । यसले चीनमा अमेरिकी लगानी थप घट्ने निश्चितप्रायः छ । चीनमा व्यवसाय गरिरहेका सबै अमेरिकी उद्योगको अवस्था खस्किएको भने छैन ।  
फर्मास्युटिकल्स, मेडिकल उपकरण र जीवन विज्ञान लगायत केही क्षेत्र उनीहरूको लागि उज्ज्वल रहेको छ । यी क्षेत्रमा संलग्न अधिकांश कम्पनीले गत वर्ष आम्दानी बढेको बताएका छन् । यी क्षेत्रका व्यवसायीहरू सन् २०१९ बारे पनि सबैभन्दा धेरै आशावादी पाइएको छ । खाद्यान्न तथा कृषि क्षेत्रका दुई तिहाइभन्दा धेरैले यस वर्ष चीनमा लगानी बढाउने बताएका छन् ।

खुद्रा र उपभोग्य वस्तु उत्पादक कम्पनीहरू साना शहरमा लगानी बढाउने सुरमा छन् । सर्वेक्षणमा सहभागी सबैजसो व्यवसायीहरूले दुई देशबीचको व्यापार युद्ध घटीमा १ वर्ष र बढीमा ६ वर्षसम्म चल्ने बताएका छन् । व्यापार सम्झौता हुने कुनै संकेत नभएकोले यो वर्ष कठिन हुने र व्यापार सम्झौता विना आगामी वर्ष झनै खराब हुने प्रतिवेदनमा भनिएको छ । एजेन्सी
 

प्रतिक्रिया दिनुहोस्