arthik abhiyan
ad banner

प्रदेश १ सरकारले बनायो ३६ ओटा कानून

Sep 12, 2019 
प्रदेश ०१
Image Not Found

विराटनगर । अहिले सातओटै प्रदेशसभा कानून निर्माणमा जुटेका छन् । यो क्रममा प्रदेश नं १ को प्रदेशसभा सबैभन्दा अगाडि देखिएको छ । प्रदेशसभाले सरकार सञ्चालनका लागि आवश्यकताको आधारमा महत्त्वपूर्ण ३६ ओटा कानून बनाइसकेको छ । यस्तै अरू तीन विधेयक पनि पारित हुने प्रक्रियामा छन् ।

प्रदेश नं १ को प्रदेशसभामा अहिले बजेट अधिवेशन चलिरहेको छ । यसअघि दुईओटा अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं १ ले बनाएको प्रदेश लोकसेवासँग सम्बन्धित विधेयक संघीय कानूनको अभावमा लामो समयदेखि थाती रहेको थियो । चालू बजेट अधिवेशन अघि नै उक्त विधेयक पनि पास भई अहिले कानून बन्ने चरणमा छ । २०७४ माघ १७ गतेदेखि आफ्नो कामकारबाही सञ्चालन गरेको प्रदेशसभाले हालसम्मका बैठकमा विधेयक विवाद रहित पारित गरेको प्रदेश सभामुख प्रदीप भण्डारीले बताए ।

प्रदेश नं १ मा ९३ प्रदेशसभा सदस्य छन्, जसमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत सदस्य छन् । तर पनि कानून निर्माणमा प्रदेश सभाभित्र सत्तापक्ष र प्रतिपक्षको आभास नभएको नेकपा संसदीय दलका प्रमुख सचेतक  बुद्धिकुमार राज भण्डारीले बताए । ‘बैठकसमेत एकै दिन पनि अवरोध भएको छैन,’ उनले भने । 

प्रदेशसभामा पेश भएका विधेयकलाई थप परिपक्व बनाउन प्रतिपक्षी दलहरूको सशक्त भूमिका देखिँदै आएको छ । यद्यपि सरकारले ल्याउने विधेयकमाथिको छलफल एवं विधेयकलाई प्रक्रियामा समावेश गराउने विषयमा भने प्रतिपक्षलाई दबाबमा राख्न खोज्ने अवस्था देखिएको प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाको बुझाइ छ । प्रदेशसभामा नेकपाका ६७, नेपाली कांग्रेसका २१, संघीय समाजवादी फोरम नेपालका तीन र राप्रपा तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक गरी कुल ९३ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्