arthik abhiyan
ad banner

प्रविधिमा हुने खर्चलाई लगानीको रूपमा हेर्न आग्रह

Sep 12, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । वित्तीय संस्था, कम्पनी तथा निकायहरूले प्रविधिमा गर्ने खर्चलाई लगानीको रूपमा लिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा भारतको दि इकोनोमिक टाइम्सले बुधवार काठमाडौमा आयोजना गरेको सम्मेलनमा सहभागीले प्रविधिमा हुने लगानीलाई खर्चको रूपमा लिँदा यसको विस्तार सोचेअनुरूप नभएको बताएका हुन् । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रविधि विस्तारमा सरकार सकारात्मक भएको बताए । साइबर सुरक्षामा सचेतता अपनाउनुपर्नेमा जोड दिँदै उनले परम्परागत प्रणालीभन्दा स्वचालित प्रणालीमा अघि बढ्नुपर्ने धारणा राखे । प्रविधिको प्रयोगले उत्पादन तथा सेवा खर्च घट्ने र कम्पनीको नाफा पहिलेको तुलनामा बढ्ने भएकाले यसलाई लगानी मान्नुपर्ने सहभागीको तर्क छ । प्रविधिको प्रयोग बढेसँगै साइबर सुरक्षाको चुनौती बढेकाले त्यसमा पनि लगानी बढाउनु पर्नेमा सरोकारवालाले जोड दिए । 

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले साइबर हमला अन्तरराष्ट्रिय समस्या भएको बताउँदै नेपालमा पनि यस्तो घटना दोहोरिन सक्ने बताए । हालै चिनियाँ ह्याकरले नेपाली बैंकका एटीएम नेटवर्क ह्याक गरेको घटनालाई उद्धृत गर्दै उनले भने, ‘हामीले एउटा प्रविधि प्रयोग गरिरहेका हुन्छौं । तर, ह्याकरहरूले त्योभन्दा पनि राम्रो प्रविधि बनाएर साइबर हमला गर्न सक्छन् । तसर्थ यस्ता विषयमा सचेत भइराख्न आवश्यक छ ।’ यस्तै, आईसीटी डेभलपमेन्ट कमिटीका अध्यक्ष विनोद ढकालले भने, ‘प्रविधि प्रचलनमा ल्याएर मात्र हुँदैन, जनतालाई त्यो प्रविधि प्रयोग गर्न सक्ने पनि बनाउनु पर्छ, जनताले प्रविधि प्रयोग गर्न जान्दैनन् भने डिजिटल नेपालको नारा सफल हुँदैन ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले मुलुकलाई प्रविधिमय बनाउन पञ्चवर्षे कार्ययोजना तयार गरी प्राथमिकताका क्षेत्र पनि निर्धारण गरिएको बताए । डिजिटल नेपाल निर्माणका क्रममा सोही कार्ययोजना अनुसार नै अगाडि बढ्ने उनको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रमा प्रविधिको विस्तार गर्न सरकारसँग आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको बताइन् । उनले भनिन्, ‘औद्योगिक क्षेत्रमा प्रविधि विस्तार गर्न चुनौतीपूर्ण नै छ । तर, यस्ता क्षेत्रमा प्रविधि प्रयोग गर्न सकारात्मक छौं ।’ स्टेट बैंक अफ इन्डियाका नायब प्रवन्ध निर्देशक धनञ्जय ताम्बेले गुणस्तरीय सेवा विस्तारका लागि बैंकहरूले अत्यधिक मात्रामा प्रविधि प्रयोग गर्नुपर्ने बताए । 

दि इकोनोमिक टाइम्सले केही दिन अगाडिमात्र बंगलादेशमा पनि ‘ग्लोबल इन्टरप्राइजेज टेक्नोलोजी फोरम’ सम्बन्धी कार्यक्रम गरेको थियो । बुधवार नेपालमा गरिएको यस्तै कार्यक्रममा प्राविधिक, व्यवसायी तथा विज्ञ, बैंकर्सलगायत भारतीय प्रतिनिधि सहभागी थिए । 
 

प्रतिक्रिया दिनुहोस्