arthik abhiyan
ad banner

विद्यालयको निरन्तर साथमा युवा उद्यमी

Sep 12, 2019 
शिक्षा
Image Not Found
author avatar सुरेन्द्र पौडेल

पोखरा । २०७२ सालको भूकम्पको मारमा कास्कीको पोखरा–२१ कृस्तीस्थित तत्कालीन बक्रेक प्रावि पनि प¥यो । विद्यालय भवन चर्किएपछि नियमित पठनपाठन सञ्चालनमा समस्या भयो । विद्यालय भवन कसरी मर्मत सम्भार गर्ने भन्ने तयारीकै बीचमा वैशाख २९ गते पुनः भूकम्प गयो । वैशाख २९ मा गएको भूकम्पले विद्यालय भवन पूर्णरूपमा क्षतविक्षत भयो । त्यसपछि मर्मत–सम्भारको विकल्प नै रहेन ।

भूकम्पले क्षतिग्रस्त विद्यालय भवनलाई कसरी पुनर्निर्माण गर्ने भन्ने चिन्तामा विद्यालयका सञ्चालक तथा शिक्षकहरू परे । यस्तैमा विद्यालय पुनर्निर्माणको चिन्तामा रहेका विद्यालयका अध्यक्ष लगायतलाई मल्हम लगाउन पुगे पोखराका युवा उद्यमीहरू । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखराका तत्कालीन अध्यक्ष प्रकाशदेव पालिखेको नेतृत्वमा युवा उद्यमीहरूको टोली त्यहाँ पुग्यो । टोलीले ‘युवा स्वयंसेवा अभियान’ अन्तर्गत बाँसको अस्थायी टहरा बनायो । मान्द्रोले बेरेर तीनओटा कोठासहितको अस्थायी टहरा बनाएपछि केही राहतको महसूस भयो । पठनपाठन सुचारु भयो ।

अस्थायी टहरा केही समयका लागि मात्र थियो । विद्यालयको स्थायी भवन बनाउन समेत आफूहरूले सहयोग गर्ने योजना मञ्चका अध्यक्ष पालिखेले विद्यालयका अध्यक्ष हरिबहादुर थापालाई सुनाए । त्यसपछि मञ्चको सक्रियता विद्यालयमा बढ्दै गयो । मञ्चले दुईओटा पक्की कोठा बनाउन सहयोग गर्‍यो । 

भूकम्पपछि विद्यालयको पुनर्निर्माणमा सहयोग गरेको मञ्चले ५ वर्षसम्म कम्तीमा पनि वर्षेनि सहयोग गर्ने योजना बनायो । उक्त योजना अनुसार मञ्चको टोली अहिले पनि कुनै न कुनै कार्यक्रम लिएर बक्रेक आधारभूत विद्यालयमा पुग्ने गरेको छ । सोही अभियानकै क्रममा मञ्चका वर्तमान अध्यक्ष वैभव पौडेलको नेतृत्वमा तीनओटा कोठामा सिलिङ निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरिएको छ । बुधवार एक कार्यक्रमका बीच सिलिङ निर्माणको अनुगमन तथा हस्तान्तरण गरियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भूकम्पपछि विद्यालयलाई मञ्चले निरन्तर सहयोग गर्नु प्रशंसनीय र उदाहरणीय कार्य भएको धारणा राखे । ‘तत्कालीन रूपमा धेरैले सहयोग गर्छन्,’ उनले भने, ‘निरन्तर सहयोग प्रदान गर्नु राम्रो र उदाहणीय पक्ष हो ।’ मञ्चलाई उक्त विद्यालयसम्म जोड्न पत्रकार श्रेष्ठले पहल गरेका थिए । विद्यालय भवन निर्माणदेखिको कार्यक्रम संयोजन युवा उद्यमी सन्तोष घिमिरेले गर्दै आएका छन् ।

भूकम्पपछि भवन निर्माणदेखि हालसम्म मञ्चले विद्यालयलाई सोलार सिस्टमसहित कम्प्युटर सहयोग समेत गरिसकेको छ । आपूmले बनाएको दुईओटा कोठामा मञ्चले पहिले नै सिलिङ निर्माण गरिसकेको थियो । चाइनिज सहयोगमा बनेको नयाँ भवनमा टिनको छानोले गर्मी बढेपछि यसपटक सिलिङ निर्माण गरिएको हो । मञ्चले वर्षेनि शैक्षिक सामग्री सहयोगसमेत गर्दै आएको छ । भूकम्पपछि क्षतविक्षत भएको विद्यालयमा निरन्तर सहयोग गर्ने अभियानमा मञ्चलाई सक्रिय बनाउन पाउँदा निकै हर्षित महसूस भएको मञ्चका अध्यक्ष वैभव पौडेलले बताए । सिलिङ हस्तान्तरणसँगै मंगलवार विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री पनि सहयोग गरिएको प्रेसिडेन्ट नोमिनीमा सुनीलबहादुर भट्टराईले जानकारी दिए ।

मञ्चको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै थप रचनात्मक गतिविधि सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रेसिडेन्ट इलेक्ट पुनित वैद्यले प्रतिबद्धता व्यक्त गरे । सिलिङ निर्माण पछि पठन पाठनमा सहज भएको प्रधानाध्यापक राजेन्द्रसिंह कार्कीले बताए । ‘मञ्चले वर्षेनि विद्यालयलाई सहयोग गर्दै आएको छ,’ उनले भने, ‘मञ्चको सहयोगले विद्यालयको पठनपाठनमा निकै राहत मिलेको छ ।’ 

मञ्चका वर्तमान अध्यक्ष वैभव पौडेलसहित यस अगाडिका अध्यक्षहरू सुमन विजुक्छे, ज्ञानेश्वरराज श्रेष्ठ, सरोज श्रेष्ठ, प्रकाशदेव पालिखे सबैको कार्यकालमा विद्यालयलाई कुनै न कुनै सहयोग प्रदान भइरहेको कार्यक्रम संयोजक सन्तोष घिमिरेले बताए । कास्कीको ल्वाङघलेलको सिदिङस्थित सरस्वती आधारभूत विद्यालयलाई पनि मञ्चले भूकम्पदेखि हालसम्म निरन्तर सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्