arthik abhiyan
ad banner

सडक नहुँदा करोडौं मूल्यकोे आलु बारीमै थन्कियो, गाउँपालिका अध्यक्ष भन्छन्–यो वर्ष पुग्छ 

Sep 12, 2019 
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६,प्यूठान  । बजार नपाउँदा प्यूठान जिल्लाका कृषकले लगाएको आलु बारीमै अलपत्र  भएको छ ।

प्यूठानको नौबहिनी गाउँपालिका १ स्याउलीबाङका अधिकांश कृषकले लगाएको करोडौं रुपियाँको  आलु बजार नपाएकै कारण बारीमै कुहिने अवस्थामा रहेको छ । 

यो क्षेत्रमा सडकको पहुँच अझै पुग्न सकेको छैन ।  उक्त गाउँपालिकाका अधिकांश कृषकको आयस्रोत नै आलु रहेको नौबहिनी गाउँपालिकाका कार्य समिति सदस्य लालप्रसाद शेरचनले बताए ।

‘स्याउलीबाङका सबै घरपरिवारले बर्खे आलु अत्पादन गर्छन्, उनले भने, ‘सडकको पहुँच नहुँदा आलुु आफन्तलाई कोसेली दिनुपर्ने र आफैं उपभोग गर्नुपर्ने बाध्यता छ ।’स्थानीय बाग्दुलाबाट स्याउलीबाङ पुग्न ट्रयाक्टरलाई १४ देखि १६ घण्टासम्म लाग्छ ।

स्याउलीबाङमा एक ट्रयाक्टर सामान ढुवानी गर्न रू.३० हजारभन्दा बढी लाग्ने गरेको नौबहिनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर सेनले बताए । 

स्याउलीबाङमा करीब ७० घरपरिवारले २५– ३० टन आलु उत्पादन गर्दै आएका छन् । स्थानीय बजारमा आलुको मूल्य प्रतिकिलो रू.४० रहेको छ । स्याउलीवाङमा ५० हेक्टर जमीनमा आलु खेती हुने गरेको छ ।

तर नौबहिनी गाउँपालिकामा कति आलु उत्पादन हुन्छ भन्ने अभिलेख नत  वडा कार्यालयसँग छ नत गाउँपालिकासँग नै छ । गाउँमा सडक नपुगेकाले किसानले वर्षेनी आलु खेतीबाट नोक्सानी व्यहोर्नुपर्ने बाध्यता छ ।

हुन  त नौबहिनी गाउँपालिकाले स्याउलीबाङको आलुलाई  बजारीकरण गर्ने बताउँदै आएको छ ।सडक पहुँच नभएका कारण स्याउलीबाङको अर्गानिक आलुले बजार नपाएको गाउँपालिकाका अध्यक्ष शिव रिजालले बताए ।

उनले भने, ‘हामी यो वर्षभित्र स्याउलीबाङमा सडक पुर्‍याउँछौं, सडक विस्तारपछि आलुले बजार पाउनेछ ।’ 

प्रतिक्रिया दिनुहोस्