arthik abhiyan
ad banner

पूर्वाधार सम्मेलनमा युवाको सोच : कर्णालीमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादन गर्न ‘पीपीपी’ अवधारणा

उत्कृष्ट उद्यमशील अवधारणाले १ लाख ५० हजार पुरस्कार पाउने

Sep 12, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । युवा उद्यमीहरुले कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वाजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी गर्न सकिने बताएका छन् । बुधवारदेखि संघीय राजधानीमा सञ्चालन भइरहेको ‘नेपाल पूर्वाधार सम्मेलन २०१९’ को बिहीवारको ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमीहरुले विभिन्न १० ओटा नविनतम विधामा आफ्ना नमुना उद्यमशील अवधारणा (आइडिया हण्ट) प्रस्तुत गर्दै पीपीपीमा लगानी गर्न सकिने बताएका हुन् ।

कार्यक्रममा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै हेमन्त तिवारीले कर्णाली प्रदेशमा यातायात क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताए । उनले कर्णाली प्रदेशको समृद्धिका लागि सडक सञ्जाल विस्तार र यातायात सञ्चालनका लागि २४ अर्ब ९ करोड रुपैयाँ तत्काल लगानी गर्न सकिने उल्लेख गरे । कर्णाली प्रदेशका १० जिल्ला र अन्य प्रदेशसँग जोडिने २० जिल्लाका अन्तर प्रादेशिक यातायात सञ्जालमा जोडिनका लागि पनि निजी क्षेत्रले लगानी गर्न सक्ने उनको सुझाव छ । प्रदेश राजधानी सुर्खेत उपत्यकामा अहिले रिक्सा र टेम्पो मात्रै सञ्चालन भएको र अन्य जिल्लामा जोडिने गरी यातायात सञ्चालन गर्न सके प्रतिफल पनि प्राप्त हुने तिवारीको तर्क छ ।

यस्तै ‘दिगो पूर्वाधारका लागि कृषि र इञ्जिनियरिङको संयोजन’ शीर्षकमा आफ्नो योजना प्रस्तुत गर्दै किशोर पौडेलले नेपालमा स्याउको बजार उल्लेख्य रहेको र यसले पर्यावरण संरक्षणमा सहयोग पु¥याउने हुँदा पूर्वाधार निर्माण पनि सुरक्षित हुने बताए । नेपालको तराई तथा चुरे क्षेत्रमा स्याउ उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै अहिले वार्षिक रू. ७ अर्ब बराबरको स्याउ आयातलाई घटाउन र सस्तोमा स्याउ उपलब्ध गराउन सघाउने उनको भनाइ छ । बायो इञ्जिनियरिङको रुपमा स्याउमा लगानी गर्न सकिने भन्दै उनले यस अध्ययनले विजनेश हाउस, किसान र कम आय स्रोत भएका व्यक्तिहरु पनि लगानीका लागि आउन सक्ने बताए । यसका लागि पीपीपी अवधारणामा लगानी गर्न सकिने उनको तर्क छ ।

युनाइटेड वर्ल्ड स्कूल नेपालका निर्देशक मञ्जितराज पाण्डेले निर्माण व्यवस्थापनमा उच्चस्तरको प्रविधिको प्रयोग नेपालमा कम भएकोले यो क्षेत्र पनि लगानीका लागि उपयुक्त हुने तर्क गरे । प्रविधिको प्रयोगले ग्रामीण क्षेत्रमा निर्माणका काम र तथ्यांक संयोजनमा सहयोग पुग्ने उनले भनाइ थियो ।

यसैगरी स्मार्ट सेवाका संस्थापक यासिर फिरोजले ‘समयको बचत र पैसाको बचत’ शीर्षकमा योजना प्रस्तुत गर्दै प्रविधिको प्रयोग गरेर पूर्वाधार निर्माणलाई सहज बनाउन सकिने धारणा राखे । उनले आफ्नो सेवा रियल इस्टेट, हाउजिङ तथा अन्य निर्माणका क्षेत्रमा काम गरिरहेको बताए ।

द टीम आवासकी विधी मण्डलले नेपालका प्रमुख शहरहरुमा प्लास्टिक खेर गइरहेको र त्यसलाई उपयोग गरेर ६० प्रतिशत प्लास्टिक र ४० प्रतिशत बालुवा र अन्य मिश्रण प्रयोग गरी ईंटा बनाउन सकिने योजना प्रस्तुत गरिन् । उनले अहिले परीक्षणको रुपमा ईंटा उत्पादन गरिसकेको भन्दै यसमा ८० जनाले रोजगारी पाइरहेको जानकारी दिइन् ।

टीम आगमनकी संस्थापक सोनिया अधिकारीले ठूला होटेल तथा सडकहरु निर्माण गर्दा जमिन भासिने समस्या समधानका लागि नयाँ प्रविधिको प्रयोगका विषयमा योजना प्रस्तुत गरिन् । उनले सिमेन्ट, ढुंगा प्रयोग गर्दा जमिनलाई थप भार पार्ने भएकोले केमिकल प्रयोग उपयुक्त हुने बताइन् । विदेशबाट आयात गर्दा महंगो हुने भएकोले नेपालमै उत्पादन गर्नका लागि अध्ययन भइरहेको भन्दै उनले यो क्षेत्रमा पनि लगानी गर्न सकिने सम्भावना रहेको बताइन् ।

स्मार्ट घर समूहकी श्रृष्टि अवालेले होम अटोमेशनको प्रयोगले दैनिकी निकै सहज हुने बताइन् । उनले स्मार्ट घरले मोबाइल एपको विकास गरेकाले न्यूनतम ६० हजार रुपैयाँको लगानीबाट यो सुविधा लिन सक्ने बताइन् । यो एपको प्रयोगबाट घरको ढोका, झयालदेखि, आइरन, बत्ति, पानीको ट्यांकी बन्द गर्न बिर्सिएको भए जुनसुकै स्थानबाट पनि बन्द गर्न मिल्ने उनको भनाइ छ ।  

इनर्जी एक्सका सञ्जयराज भण्डारीले ‘स्वच्छ इनधन : स्वदेशी उत्पादन’ सम्बन्धी विषय प्रस्तुत गरे । वायोग्यास उत्पादनका लागि सरकारले ४० प्रतिशत अनुदान दिएको र ६० प्रतिशत निजी क्षेत्रमार्फत लगानी गरेर वैकल्पिक ऊर्जा उत्पादन गर्न सकिने बताए ।

सेसनमा उपस्थित युवा उद्यमीहरुले ट्राफिक व्यवस्थापन, कंक्रिट सडक निर्माणलगायतका क्षेत्रमा पीपीपी अवधारणाअनुसार लगानीको सम्भावना भएको जानकारी दिए । सेसनमा विभिन्न विधामा पीपीपीलगायतका अवधारणामा आधारित १० ओटा प्रस्तुति भएका थिए । प्रस्तुत भएका अवधारणा (आइडिया हण्ट) मध्ये उत्कृष्ट तीनलाई नेपाल उद्योग परिसंघले पुरस्कृत गर्दैछ । प्रथमले १ लाख ५० हजार, द्वितियले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्