arthik abhiyan
ad banner

छिमेक लघुवित्तको बोनस अझै भएन सूचीकृत 

Sep 12, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २६, काठमाडौं । वार्षिक साधारण सभाले पारित गरेको ४ महीना वित्न लाग्दा समेत छिमेक लघुवित्तको बोनस शेयर लगानीकर्ताहरुले पाएका छैनन् । छिमेकले गत वैशाख ३० गतेको वार्षिक साधारण सभा मार्फत २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको थियो । 

नगद लाभांश वितरण गर्न शुरु गरे पनि बोनस शेयर भने अझै सूचीकृत भएको छैन । यस कम्पनीले अघिल्लो आव २०७४/७५ को बोनस शेयर सूचीकृत गराउन बाँकी रहेको हो । गत आव २०७५/७६ को लाभांश समेत प्रस्ताव गरिसकेको कम्पनीले अघिल्लो आवको बोनस शेयर सूचीकरणमा भने ढिलाई भएको देखिएको छ । गत आवको मुनाफाबाट यस कम्पनीले २७ दशमलव ११ प्रतिशत बोनस शेयर र १७ दशमलव २१ प्रतिशत नगद लाभांशको प्रस्ताव भदौ २४ गते गरेको छ ।

कम्पनीले दिएको जानकारी अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा सबै तयारी पुरा गरी पेश गरिएको छ । त्यहाँबाट स्वीकृति पाएपश्चात सूचीकरण प्रकृयामा जाने कम्पनीको भनाइ छ । छिमेक लघुवित्तसँगै जेठ २६ गते पारित भएको प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस, जेठ २७ गते पारित भएको रिलायन्स फाइनान्सको १२ प्रतिशत बोनस शेयर अझै सूचीकरण भएको छैन । प्राइमले भदौ २९ गते कन्काई विकास बैंकलाई प्राप्ती गरी एकिकृत कारोबार शुरु गर्दैछ । रिलायन्स फाइनान्सले नगद लाभांश भने लगानीकर्ताहरुको खातामा पठाउन थालिसकेको छ । रिलायन्सले २ दशमलव ६३ प्रतिशत नगद लाभांश साउन २ गतेदेखि वितरण गर्न शुरु गरेको हो । 


बोनस शेयर सूचीकरणका लागि हालसम्म स्पष्ट व्यवस्था नहुँदा सूचीकरणमा ढिलाई भएको पाइएको छ । लगानीकर्ताहरुले स्पष्ट व्यवस्था नहुँदा कम्पनीहरुले लगानीकर्ताहरुको सम्पत्ति लामो समयसम्म सूचीकरण नगरी बन्धक बनाउने गरेको आरोप लगाउँदै आएका छन् । कम्पनीहरुले पनि प्रकृयागत रुपमा जाँदा ढिलाई हुने गरेको बताउँदै आएका छन् । वार्षिक साधारण सभाले पारित गरेपश्चात नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भएपछि मात्र सूचीकरणका लागि पेश गर्नुपर्ने हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस्