arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

५१ लाखको लागतमा कालीगण्डकीमा झोलुङ्गे पुल निर्माण, २०० घर लाभान्वित हुने

Sep 13, 2019  
प्रदेश गण्डकी
Image Not Found

भदौ २७, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले जोड्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोलादेखि दोसल्ले जोड्ने ११५ मिटर लामो सो पुल रू. ५१ लाख ५९ हजार ९५७ लागतमा निर्माण गरिएको हो । सो पुलबाट २०० घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष खगवीर गर्बुजाले बताए ।  

पुल निर्माण भएपछि दोसल्ले, तिप्ल्याङ, बेग, बादुक, टिकोट र हिस्तानका बासिन्दालाई सुविधा पुगेको छ । यसबाट घुमाउरो बाटो हिँड्नुपर्ने वा तुइन तर्नुपर्ने बाध्यता हटेको उनको भनाइ थियो । अध्यक्ष गर्बुजाका अनुसार डेढ घण्टाको बाटो २० मिनेटमै छोटिएको छ । यसअघि दोसल्लेबाट बेगखोला पुग्न तिप्ल्याङ पुगेर घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता भएकामा अहिले २० मिनेटमै दोसल्लेदेखि बेनी–जोमसोम सडकमा पुग्न सकिने भएको छ । 

घुमाउरो बाटो हिँड्नुपर्ने भएपछि त्यहाँ तुइन राखिएको थियो तर पुल बनेपछि तुइन पनि पूर्णरूपमा विस्थापित भएको स्थानीयवासी मिलन गर्बुजाले बताए । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु) को प्राविधिक सहयोगमा गाउँपालिकामार्फत सो पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि टिबीएसयुले लठ्ठा र बुल्डअप ग्रिप उपलब्ध गराएकोे, मजदुरको ज्याला निर्माण सामग्री खरीदको भुक्तानी गाउँपालिकाले गरेको थियो भने गैरसरकारी संस्था मिलन म्याग्दीले प्राविधिक र सामाजिक परिचालनमा सहयोग गरेको थियो । 

यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको उपल्लो घलेम्दी खोलामा रु ३२ लाख ७७ हजार ५६५ को लागतमा ४३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ भने वडा नं ७ र ८ को सिमानामा पर्ने मर्ना खोलामा रु ११ लाख ५१ हजार ३०१ को लागतमा ३२ मिटर लामो झोलुङ्गे पुल मर्मत गरिएको छ । सडक सुविधाको पहुँचदेखि टाढा रहेका दुर्गम बस्तीमा आवतजावत र ढुवानीका लागि झोलुङ्गे पुल प्रभावकारी बनेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्