arthik abhiyan
ad banner

कालोपत्र हुन सकेन पाटन विमानस्थल    

Sep 14, 2019 
प्रदेश ०७
Image Not Found

भदौ २८, बैतडी ।  म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालोपत्र गर्ने कार्य अझै सकिएको छैन ।

विसं २०७५ को असारमा कालोपत्रे गरी सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल अझै कालोपत्र हुन नसकेको हो । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा सबै काम सकिएर कालोपत्र मात्रै गर्न बाँकी रहेको निर्माण कम्पनीका इञ्जिनीयर पुरन रावलले बताए । निर्माण सामग्रीको अभावले काम पूरा हुन नसकेको उनले बताए ।

उनले भने, ‘ठेक्का भइसकेपछि विविध कारणले समयमै काम शुरु नहुँदा पनि समस्या भएको हो’ । वर्षात् र अन्य प्राविधिक कारणले केही ढिलाइ भएको र अलकत्रा र गिट्टीको अभावले समयमै कालोपत्र गर्ने काम नसकिएको रावलको भनाइ छ ।     

विमानस्थल निर्माण शुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्द हडताल र निर्माण कम्पनीको पनि केही लापरवाहीले काम समयमै सम्पन्न हुन नसकेको बताइएको छ ।पाटन विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ ।वर्षात् भइरहेकाले कालोपत्रको काम रोकिएको हो । वर्षात् सकिने बित्तिकै कालोपत्रको काम शुरु गर्ने इञ्जिनीयर रावलले बताए ।

विमानस्थलाई कालोपत्र गर्ने कार्यअन्तर्गत बेस, सव बेस र ड्रेनको सबै काम सकिएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । विसं २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनर्निर्माणको काम शुरु भएको हो । पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ ।  

  सो कार्यका लागि मूल्य अभिवृद्धि करबाहेक रू.११ करोड २९ लाखको लागत रहेको  छ । विकास निर्माणका काम समयमै नसकिने रोगजस्तै भइसकेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ ।     

पाटनमा विसं २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । त्यस्तै २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो      

पाटन विमानस्थल कैलालीको गेटापछि सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । नेपाल सरकारले घोषणा गरेको १० नमूनाध्येको एक शहरमा पर्ने पाटनको विमानस्थल सञ्चालन हुन सके पर्यटक आवागमन बढाउन सकिने विश्वास गरिएको छ ।     
     
 सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ । 

हवाई सेवाको सहजता हुन सके नेपालकै गहिरो गुफा पत्ताल भुवनेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निंगलाशैनी मन्दिर, ईश्वरीगंगाधाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।  रासस
 

प्रतिक्रिया दिनुहोस्