arthik abhiyan
ad banner

दिगो विकासको लक्ष्य अनुसार काम गरिरहेका छौं

Sep 16, 2019 
अन्तरवार्ता
Image Not Found
पदमपाणि शर्मा, प्रमुख, फलेवास नगरपालिका, पर्वत

पर्वतमा कुश्मा र फलेवास गरी दुई नगरपालिका छन् । यीमध्ये पूर्वाधार विकासमा फलेवास पछाडि छ । यद्यपि जनप्रतिनिधि निर्वाचित भएर आएको २ वर्षमा यो नगरपालिका दीर्घकालीन योजना सहित अघि बढेको छ । प्रस्तुत छ, नगरपालिकाको विकास निर्माण, भावी योजना लगायतबारे आर्थिक अभियानका पर्वत संवाददाता रोशन तिवारीले नगरपालिका प्रमुख पदमपाणि शर्मास“ग गरेको कुराकानीको सार : 

तपाईं नगर प्रमुख भएर आएपछि यहा“का जनताले अनुभूत गर्नेगरी भएका विकासका काम के के हुन् ?
हामी खुला आकाश र खुला चौरमा स्थापना भएको नगर भएको सबैलाई अवगत नै छ । यहाँ पहिले एक इन्च पनि पक्की सडक थिएन । हामी आएपछि नगरको केन्द्रसम्म सदरमुकामबाट पक्की बनेको छ । नगरका ११ ओटै वडामा ३० मिटरदेखि ७ मिटरसम्मको मापदण्डमा सडक स्तरोन्नति गरेका छौं । कृषिको व्यावसायिकता विकासका लागि मकै जोन, सुन्तला पकेट क्षेत्र र धानका ब्लक क्षेत्र बनेका छन् । पशुपालनमा अनुदान र तालीम दिएर युवाको आकर्षण बढाएका छौं । शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, ऊर्जा र उद्योगका लागि योजनाबद्ध किसिमले काम थालेका छौं । ‘समृद्ध फलेवास, सुखी फलेवासी’ नारासहित दिगो विकासको लक्ष्य अनुसार बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेका छौं । 

ठूला आयोजनाको रूपमा रहेको कालीगण्डकी जलाशययुक्त परियोजनाको काम कहाँ पुग्यो ?
८४४ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गर्ने कार्ययोजना अनुसार सम्भाव्यता अध्ययन शुरू हुँदै छ । सरकारले आर्थिक वर्ष २०७४/७५ मा सम्भाव्यता अध्ययनका लागि बजेट समेत व्यवस्था गरेको थियो । त्यसबाट हामीले संघीय सरकार, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगको सुझाव अनुसार पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरेका छौं । पूर्व सम्भाव्यता अध्ययनले ८४४ मेगावाट विद्युत् निकाल्न सकिने निष्कर्ष निकालेको छ । अहिले आयोजनाको काम अगाडि बढाउन ग्लोबल टेन्डर खोलिएको छ । यसपछि फिल्डमा अन्तरराष्ट्रिय विज्ञ आएर वातावरण प्रभाव मूल्याकंन र अन्य अध्ययन गरेपछि डीपीआर तयार गर्छौं । दुईओटा प्रक्रिया सफल भएकाले आयोजनाले गति लिने अपेक्षा छ ।

अर्को गौरवको आयोजनाको रूपमा रहेको पोखरा–गल्कोट सडकको प्रगति कस्तो छ ? 
यो सडकलाई हामीले धवलागिरिको ‘लाइफ लाइन’ भनेका छौं । अहिले चार खण्डमा सडक विस्तारको काम भइरहेको छ । तीन जिल्ला पर्वत, स्याङ्जा र बागलुङका चार नगर÷ गाउँपालिकाको प्राथमिकतामा यो सडक रहेको छ । आँधीखोला र फलेवास जोड्न नौडाँडादेखि ११ किलोमिटर कालोपत्र गर्ने कार्य अगाडि बढेको छ । फलेवास नगरपालिका, आँधीखोला गाउँपालिका, जैमिनी नगरपालिका र गल्कोट नगरपालिकाले २२ मिटर मापदण्ड तयार पारेर आफ्नो क्षेत्रभित्रको काम गरिरहेका छौं । अहिले चार खण्डमा भइरहेको कामलाई गण्डकी प्रदेशले रणनीतिक योजनामा राखेको छ । फलेवास खण्डमा हिलेखोलाबाट शंकरपोखरीसम्म कालोपत्रका लागि टेन्डर हुँदै छ । स्याङ्जा र बागलुङ खण्डमा चक्लाबन्दीको काम शुरू भएको छ । 

विकास बजेट कार्यान्वयनका समस्या र चुनौती के के छन् ?
हामीले सडक चक्लाबन्दी गर्ने योजना ल्याएर कार्यान्वयन गर्दा बजेटजति सडकमा खन्याइयो भनेर ठूलो विरोध भयो । तर कालान्तरमा सडक नभई अन्य विकास हुँदो रहेनछ भन्ने आम जनताले बुझ्नुभयो । त्यस्तै ठूला योजनाको काम देखिने तर साना योजनामा काम भए पनि नदेखिने समस्याले रहेकाले ठूला योजनालाई बढी महŒव दिएका छौं । परम्परागत प्रवृत्ति तोडेर विकास बजेट कार्यान्वयन गर्दा समस्या र चुनौती आए पनि सहजै त्यसलाई पार लगाएका छौं ।

शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनका लागि नगरले कसरी काम गर्दै छ ?
प्रारम्भिक तहदेखि १ कक्षासम्म अंग्रेजी माध्यमको पढाइ शुरू गरेका छौं । सामुदायिक विद्यालयको पूर्वाधार विकासमा जोड दिएका छौं । सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर बनाउने र अपुग रहेका स्वास्थ्यकर्मीको पदपूर्ति गर्ने प्रयासमा छौं । ‘एक वडा, एक लघु उद्यम’ कार्यक्रम अन्तर्गत साना उद्योग स्थापना गर्ने कार्ययोजना छ । परम्परागत व्यवसायको प्रवर्द्धन गरेर रोजगारी बढाउन युवाहरूलाई तालीम र लगानीको कार्यक्रम ल्याएका छौं । कृषि, पशुपालनमा युवाको आकर्षण बढाउन अनुदानको व्यवस्था गरेका छौं । 

शहरी विकास तथा व्यवस्थापनका लागि के गरिँदै छ ?
फलेवासमा एकीकृत वस्ती निर्माणको योजना छ । शहर बन्ने अहिले अवस्था छैन । कार्किनेटा, थापाठाना, शंकरपोखरी, पाङराङमा बजार विस्तार भइरहेको छ । नगरपालिकाको केन्द्र खानीगाउँ, राहलेदेखि ढिकसम्म र मुडीकुवादेखि पक्की सडक पुगेको देवीस्थानसम्म बस्ती विस्तार भइरहेको छ । बस्ती विस्तारका लागि उद्योग, कलकारखाना, कृषिका ठूला परियोजना आवश्यक पर्ने ठहर सहित लगानीकर्ताको खोजी गरिरहेका छौं । यहाँ लगानी गर्दा फाइदा हुने क्षेत्रको पहिचान गरी लगानीका लागि उद्योगपति, व्यवसायी र सरकारलाई आह्वान गरेका छौं ।
 
तोकिएको समयमा विकास निर्माणको लक्ष्य हासिल गर्न कसरी काम हुँदै छ ?
हामीले पाँचवर्षे आवधिक योजनामा टेकेर गुरुयोजना बनाएका छौं । प्राथमिकता क्षेत्रका आधारमा योजना पूरा गर्ने हाम्रो लक्ष्य हो । टुक्रे योजनामा बजेट विनियोजन गरेका छैनौं । ठूला योजना र दिगो योजनामा बजेट खर्चिने योजनाका कारण विकास निर्माणको काममा लक्ष्य अनुसार प्रगति भइरहेको छ र हुने अपेक्षा पनि छ ।

कर मात्र लगाइयो, तर त्यस अनुसार प्रतिफल पाइएन भन्ने जनगुनासो पनि छ नि ? 
हामीले आन्तरिक आय बढाउनुपर्ने आवश्यकता छ । नगरको विकासका लागि सहज कर लिएका छौं । पर्वतका अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा हामीले वैज्ञानिक ढंगले कर निर्धारण गरेका छौं भन्ने लाग्छ । नगर विकासका लागि जग हालेका छौं, समृद्धिको घर बनाउँछौं । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्