arthik abhiyan
ad banner

पुराना प्रविधिका साधन लोप हुने अवस्थामा

Sep 16, 2019 
प्रविधि
Image Not Found

गलेश्वर । म्याग्दीमा परम्परागत प्रविधिका साधनको अस्तित्व संकटमा पर्न थालेको छ । मानिसको दैनिक जीवनयापन गर्न बनाइएका पुराना साधनको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । रैथाने शीप र प्रविधिको प्रयोग गरी वर्षौं पहिलेदेखि बनाइएका सामान लोपोन्मुख बनेका छन् । जिल्लाका ग्रामीण भेगहरूमा अन्न पिसानी गरिँदै आएको पानीघट्ट लोप हुँदै जान थालेपछि यसको संरक्षणका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको छ । 

हिमाली जिल्ला म्याग्दीमा पछिल्लो सयम गाउँ–गाउँसम्म नै बिजुली बल्न थालेपछि कुटानी पिसानीका लागि विद्युतीय मिल सञ्चालनमा आएपछि पानीघट्टको माग कम हुँदै गएको छ । पानीघट्टमा पिँधेको पीठोबाट बनेका रोटी, ढिँडोलगायत परिकार स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिकोणले पनि बहुउपयोगी हुने स्थानीय बासिन्दा बताउँछन् । साथै १ दशक अघिसम्म परम्परागत ग्रामीण जीवनको अभिन्न अंगजस्तै बनेको पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नुपर्ने आवश्यकता छ । 

पानीघट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर भए पनि यस्ता रैथाने शीपको संरक्षण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । पुराना शीप र प्रविधिका साधनहरू पानीघट्ट, ढिकी, जाँतो, कोलजस्ता साधनको संरक्षण र प्रचारप्रसारका लागि सरकारी निकायबाट आवश्यक सहयोग गर्नुपर्ने बेनी नगरपालिका–५ चिप्लेटीका चुँधारा श्रीकृष्णलाल विश्वकर्माले बताए । 

पुरानो प्रविधि र शीपसँग जोडिएको साधनलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जर्गेनाका लागि स्थानीय सरकार पनि चनाखो हुनुपर्ने बताइएको छ । म्याग्दीको पश्चिमी क्षेत्रका गुर्जा, रुम, ओखरबोट, मराङलगायत गाउँमा फाट्टफुट्ट रूपमा पानीघट्ट चल्ने गरेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्