ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नास्टले बनायो ग्राउन्ड स्टेशन

Sep 16, 2019  
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ग्राउन्ड स्टेशन बनाएको छ । ग्राउन्ड स्टेशन बनेपछि नेपालको पहिलो भू–उपग्रह (नेपाली स्याट–१)ले अन्तरिक्षबाट पठाएको तथ्यांक संलकन गर्न सम्भव भएको नास्टका प्रविधि विभागका प्रमुख रवीन्द्र ढकालले बताए । ‘नेपालको आकाशमा भू–उपग्रह आइपुग्दा रेडियो उपकरण र ट्र्याक सफ्टवेयरको सहायताबाट डेटाहरू लिन्छौं र डिकोड गरेर फोटो निकाल्छौं,’ उनले भने । 

नेपाली भू–उपग्रहले १ दिनमा १६ पटक पृथ्वीको चक्कर लगाउने भएकाले नजीक आएको बेला ट्र्याक गरिने र मौसमको पूर्वानुमान, विपद्का लक्षण तथा पृथ्वीले निकाल्ने इलेक्ट्रो म्याग्नेटिक वेभको अनुसन्धान गरिने बताइएको छ । ‘नानो स्याटेलाइटबाट आएको संकलित तथ्यांक ल्याबोरेटरी बिल्डिङ बनाएर परीक्षण तथा अनुसन्धान गर्छौं,’ ढकालले भने । यसबाट अन्तरिक्ष अध्ययनमा युवालाई प्रोत्साहित गरिने नास्टको योजना रहेको उनले बताए ।

नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलका अनुसार अन्तरिक्षमा पठाएको नेपालको नानो स्याटेलाइटले आउँदो सेप्टेम्बरको १३ तारिखदेखि पूर्वी नेपाल छोएको देखिन्छ । ‘त्यहाँको गतिविधि समेत ट्र्याक गरेर हेर्न सकिनेछ,’ उनले भने, ‘नेपाली स्याट–१ सहित तीनओटै देशका भू–उपग्रहको गतिविधि हाम्रै ग्राउन्ड स्टेशनबाट हेर्न सकिन्छ ।’

वैशाख ५ गते अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट नेपालको स्याटेलाइट प्रक्षेपण गरिएको थियो । उक्त स्याटेलाइटलाई जापानको क्युटेकको बर्ड्स परियोजना अन्तर्गतको छात्रवृत्तिमा नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेशन इन्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनीयरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभास मास्केले तयार पारेका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्