arthik abhiyan
ad banner

नगरको पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छौं

Sep 17, 2019 
अन्तरवार्ता
Image Not Found
सुरेश अधिकारी, नगर प्रमुख,शारदा नगरपालिका, सल्यान

सल्यानको सदरमुकाम समेत रहेको शारदा नगरपालिका ‘समृद्ध नगर, सुखी नगरवासी’ अभियान सहित अघि बढेको छ । उक्त अभियान सार्थक बनाउन प्रविधियुक्त नगर, जनमुखी सार्वजनिक सेवा र सहभागितामूलक विकासका क्रियाकलापलाई मुख्य आधार मानिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी बताउँछन् । प्रस्तुत छ, नगरको कार्यप्रगति, विकास निर्माण, भावी योजना लगायतबारे आर्थिक अभियानका सल्यान संवाददाता बुद्धिमान पुनले नगरप्रमुख अधिकारीसँग गरेको कुराकानीको सार :

तपाईं निर्वाचित भएर आएपछि नगरवासीले महसूस गर्नेगरी गरिएका विकासका काम के के हुन् ?
हामी निर्वाचित भएर आएको २ वर्ष पूरा भएको छ । यो अवधिमा पहिलो काम त आफ्नै भवनबाट सेवा सञ्चालन गरेका छौं । रू. ५ करोड ८० लाख लागतमा पक्की पुल निर्माणमा जोड दिएका छौं ।

सबैभन्दा बढी खानेपानीको समस्या भएको ठाउँमा खानेपानी पुर्‍याएका छौं । नगरपालिकाभित्र बनेका बाटोहरू सुधारका साथै पार्क निर्माण गरेका छौं । खलंगा बसपार्कलाई व्यवस्थित बनाएका छौं । सबै वडामा बाटो पुर्‍याउने काम लगभग पूरा भएको छ । जिल्ला अस्पताललाई ५० शøयाको बनाउन पहल थालेका छौं । विद्युत् नपुगेको ठाउँमा विद्युत् पुगेको छ । ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च प्रदान गरेका छौं । यस्तै लक्षित वर्गका लागि विभिन्न तालीम सञ्चालन गरेका छौं । 

गत आवमा पूर्वाधार विकासमा के कस्ता काम भए ?
गत आर्थिक वर्षमा हामीले पूर्वाधार क्षेत्रमा धेरै काम गरेका छौं । खानेपानी योजना, विद्यालय भवन र केही स्वास्थ्य चौकीका भवन बनाएका छौं । मोटरबाटोको स्तरोन्नति गरिएको छ । बसपार्कमा रहेको मातपोत कार्यालयको भवन भत्काएर उद्यान निर्माण अगाडि बढाएका छौं । समग्रमा पूर्वाधार विकासमा सन्तोषजनक काम भएका छन् । 

विकास बजेट कार्यान्वयनमा समस्या र चुनौती के के छन् ?
विकास बजेटको कार्यान्वयनमा चुनौती र समस्या छन् । तर ती समस्या समाधान गर्दै अघि बढेका छौं । यसमा पहिलो त योजना छनोट विवादित हुने गरेको छ । नगरका १५ ओटै वडाको जहाँ विकास भए पनि समग्र नगरको विकास हो भन्ने बुझाइ नभएकाले केही समस्या देखिएको छ । अर्को, उपभोक्ता समितिमा बस्न हानथाप हुने गरेको थियो । अहिले यी समस्यामा केही सुधार भएको छ ।

शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनका लागि नगरले कसरी काम गर्दै छ ?
हामीले यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रण गरेका थियौं । हिजोको दिनमा बालबालिका विद्यालयमा भर्ना हुने र बीचमा छाड्ने अवस्था थियो । अहिले त्यसमा सुधार आएको छ । शिक्षक अभाव भएको ठाउँमा नगर शिक्षकको व्यवस्था गरेका छौं । नपढाउने शिक्षकमाथि कारबाही समेत भएको छ । विद्यालयका जीर्ण भएका भवन मर्मत सम्भार गरेका छौं । बालबालिका विद्यालय पुगे–नपुगेको थाहा पाउन अनुगमन तीव्र बनाएका छौं । नगरभित्रका शिक्षकलाई तालीमको व्यवस्था गरेका छौं ।

यस्तै स्वास्थ्य क्षेत्रमा पनि सुधार गरेका छौं । नगरपालिका भित्रका सबै वडामा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिक खोलेका छौं । जिल्ला अस्पतालमा फोहोर व्यवस्थापन गरेका छौं । नगरपालिकाले आफै औषधि किनेर वितरण गर्दै आएको छ । १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्याको बनाउँदै छौं । रू. ४ करोड लागतमा अस्पताल भवन निर्माण भइरहेको छ ।

शहरी विकास तथा व्यवस्थापनका लागि के गरिँदै छ ?
नगरका सबै वडामा साना साना बजार छन् । ती बजारलाई व्यवस्थित बनाउन सम्बद्ध निकायहरूसँग छलफल गरिरहेका छौं । जिल्लाकै सबैभन्दा ठूलो श्रीनगर बजार खलंगाको व्यवस्थापनको काम काम गर्दै आएका छौं । बजार क्षेत्रमा आपराधिक वा अप्रिय घटना हुन नदिन सीसीटीभी क्यामेरा जडान गरेका छौं । सडकमा सौर्य बत्तीको प्रबन्ध मिलाएका छौं । यस पटकदेखि श्रीनगर बजारमा हाटबजार लगाउने काम अगाडि बढाएका छौं । यस्तै बजारको फोहोर व्यवस्थापन, नाला सफाइ लगायत काम पनि गर्दै छौं ।

पर्यटन प्रवर्द्धनका लागि कस्ता योजनालाई प्राथमिकता दिनुभएको छ ?
यस क्षेत्रकै प्रसिद्ध खैरावाङ भुवनेश्वरी मन्दिर शारदा नगरपालिकामा पर्दछ । मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्दै छौं । यसका लागि सरसफाइमा ध्यान दिएका छौं । खानेपानी  र मोटरबाटोको सुविधा पुर्‍याएका छौं । यस वर्षको घटस्थापनाको दिनसम्म सक्नेगरी उक्त मन्दिरसम्मको सडकमा डबल कटिङको काम थालेका छौं । धर्मशाला निर्माणको काम पनि हुँदै छ । माल्नेटाको अदुवाको प्रवर्द्धन र सल्यानी खुकुरीको बजारीकरणका लागि सहयोग गरेका छौं ।

निर्वाचनको बेला भ्रष्टाचार अन्त्य गर्ने घोषणा गर्नु भएको थियो । त्यो अभियान अहिले कहाँ पुग्यो ?
हो । चुनावको बेला घोषणापत्र जारी गर्दा पनि भ्रष्टाचारमुक्त नगर बनाउँछौं भनेको थिएँ । यसैलाई आधार मानेर भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गरेको छु । हिजोका दिनमा नापी, मालपोत लगायत कार्यालयमा पैसा नदिई काम हुँदैन भन्ने जनगुनासो आउने गथ्र्यो । म जनप्रतिनिधि भएर आएपछि नापी कार्यालयको एक कर्मचारी र शिक्षाको एकाइ प्रमुखलाई पनि घुससहित पक्राउ गरेका छौं । अहिले जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी अड्डामा धेरै सुधार आएको छ । 

जनप्रतिनिधि भएर काम गरिरहँदा नीतिगत र व्यावहारिक कठिनाइ केही आइपरेका छन् ?
पहिलो वर्ष त समस्या धेरै आएका थिए । कानूनहरू निर्माण गर्नुपर्ने अवस्था र कर्मचारीको अभाव थियो । अहिले कानून बनाएर काम गदै जाँदा अप्ठ्यारो महुसूस भएको छैन । कर्मचारी, प्रहरी प्रशासन सबैले सहयोग गर्नुभएको छ । हामी सबै अहोरात्र खटिएर नगरको विकासमा लागिपरेका छौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्