ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दैलेखका अधिकांश स्थानीय तह भाडाकै भवनमा

Sep 18, 2019  
विकास
Image Not Found
author avatar पंखबहादुर शाही

दैलेख । स्थानीय सरकार बनेको करीब ३ वर्ष पुग्दा समेत दैलेखका अधिकांश स्थानीय तह भाडाकै भवनबाट सञ्चालित छन् । जिल्लाका ११ स्थानीय तहमध्ये तीनओटाले मात्र आफ्नै भवनबाट कार्यसम्पादन गर्दै आएका छन् । 

जिल्लाको ठाटीकाँध गाउँपालिकाले कार्यालय सञ्चालनका लागि स्थानीय बासिन्दाका तीनओटा घर भाडामा लिएको छ । गतवर्ष प्राथमिक स्वास्थ्यकेन्द्र, लकान्द्रको जग्गामा कार्यालय भवन बनाउने काम थालेको थियो । तर पहिलो तलाको काम भए पनि अन्य काम अधुरै रहेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकाले एउटा घर भाडामा लिएको थियो, तर अपुग भएपछि एक विद्यालयको भवनबाट कामकारबाही गर्दै आएको छ । भैरवी गाउँपालिकाले २०/२० मिनेटका दूरीमा रहेका चार घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको स्थानीय प्रकाश अधिकारीले बताए । ‘एक अर्को कार्यालय नजीक नहुँदा सामान्य कामकै लागि घन्टौ लाग्ने गरेको छ,’ उनले भने । 

यस्तै नौमुले गाउँपालिकाले तीनओटा घर भाडामा लिएर कार्यसम्पादन गरिहरेको छ । प्रशासनिक भवन, कर्मचारी आवास र न्यायिक समितिका लागि छुट्टाछुट्टै भवन भाडामा लिएको गाउँपालिकाले बताएको छ । जिल्लाका भगवतीमाई, डुंगेश्वर तथा गुराँस गाउँपालिका र आठबीस नगरपालिका समेत भाडाकै भवनमा सञ्चालित छन् । यस्ता स्थानीय तहले घरभाडामै वार्षिक लाखौं बजेट सक्ने गरेका छन् । ठाटीकाँध गाउँपालिकाले वार्षिक ८ लाख रुपैयाँ तिर्ने गरेको बताएको छ । जिल्लाका ११ ओटा स्थानीय तहका ९२ ओटा वडा कार्यालयमध्ये अधिकांश वडा कार्यालय समेत भाडामै सञ्चालित छन् ।

साविक गाविस भवन अलपत्र
शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगबाट निर्माण गरिएका गाविस भवन यतिखेर अलपत्र अवस्थामा छन् । द्वन्द्वकालीन समयमा ध्वस्त गरिएका साविकका तोलीजैसी, लालीकाँडा, खरिगैरा, तिलेपाटा, गमौडी, कट्टी र लकान्द्र गरी सातओटा गाविसका भवन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले आव २०६६/६७ र २०६७/६८ मा रू. १ करोड ४० लाख लागतमा बनाएको थियो । यसैगरी आव २०६८/६९ पुसमा कतिपय भवन निर्माणको काम पूरा नहुँदै काम सकिएको भनी झुटो प्रतिवेदन पेश गरी ठेकेदारले भुक्तानी लिएका थिए । लाखौं लगानी भएका यी भवन सदुपयोग नहुँदा जीर्ण बन्दै गएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्