ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

क्यामेरा कम्पनी बन्न लागेको हो एप्पल ?

Sep 23, 2019  
प्रविधि
Image Not Found


अघिल्लो मंगलवार अर्थात् भदौ २४ गते अमेरिकी प्रविधि कम्पनी एप्पलले आईफोन ११ को सेरिज सार्वजनिक गर्‍यो । उसले सार्वजनिक गरेका यी स्मार्टफोन क्यामेरामा बढी केन्द्रित भएको देखिएका छन् । त्यसो त यो स्मार्टफोनबाट सन्देश पठाउने, एप डाउनलोड गर्ने र भिडियो कल गर्नेजस्ता काम गर्न सकिन्छ । तर एप्पलले यो स्मार्टफोनलाई शक्तिशाली फोटोग्राफी मेशिनको रूपमा विकास गर्न बढी समय तथा लगानी खर्चिएको छ ।

आईफोन ११ मा क्यामेरालाई दिएको प्राथमिकताले कम्पनी आप्mनो व्यापार विस्तारका लागि क्यामेरामा जोड दिने योजनामा अघि बढेको देखिन्छ । क्यामेरामा सुधार गर्दै प्रतिस्पर्धी चिनियाँ कम्पनी हुवावेई तथा दक्षिण कोरियाली कम्पनी सामसङलाई चुनौती दिन सक्ने अवस्थामा एप्पल पुगेको छ । यद्यपि यी कम्पनीको केही स्मार्टफोनको क्यामेरा आईफोनको भन्दा राम्रो रहेको प्रविधि विश्लेषकहरू बताउँछन् ।

एप्पलले १०० मिनेटको पत्रकार सम्मेलनमा आफ्नो आईफोन ११ प्रोको उच्च प्रविधिको क्यामेराबारे बोल्न १३ मिनेट खर्चिएको थियो । यति समय उसले आफ्नो एप्पल अर्केड, एप्पल टीभी तथा नयाँ आईप्याड सार्वजनिक गर्दा पनि खर्चेको थिएन । उसले नयाँ एप्पल वाचका लागि पनि १६ मिनेटमात्र समय खर्च गरेको थियो । यस्तै आईफोन ११ को क्यामेराबारे बोल्न ७ मिनेट खर्चेको थियो ।

जर्मनीको दोयचे बैंकका विश्लेषक जेराइल ओङले नयाँ आईफोनको विशेषता नै क्यामेरा भएको बताएका थिए । आईफोनलाई अहिलेसम्म क्यामेराको हिसाबमा अब्बल मानिँदै आएको छ । उक्त अवस्था अझै पनि कायम राख्न उसले क्यामेरामा ध्यान दिएको केहीको बुझाइ छ । गार्टनरका विश्लेषक एन्नेट्टी जिम्मरम्यानले आईफोनले उपभोक्ताले के चाहन्छन् र के कुराको आविष्कार होस् भन्ने चाहन्छन् भन्नेमा ध्यान दिँदै नयाँ आईफोनमा क्यामेरालाई महŒव दिएको बताए । 

एप्पलका प्रमुख मार्केटिङ अधिकारी फिल शिलरले नयाँ आईफोनमा क्यामेरा सबैभन्दा राम्रो पक्ष रहेको बताए । यसै विषयमा एप्पलका सीईओ टिम कुकले ८०० भन्दा बढी मानिसले आईफोनको क्यामेरामा सुधारको सुझाव दिएको उल्लेख गरे । पुरानो फोनको तुलनामा नयाँ आईफोनमा मुख्य परिवर्तन नयाँ रङ, धेरै क्यामेरा सेन्सर र लेन्स हुन् ।

पछिल्लो समय मानिसले स्मार्टफोनमा क्यामेरालाई बढी महत्त्व दिने गरेका छन् । राम्रो क्यामेरा नभएका कारण पनि मानिसले आप्mनो स्मार्टफोन परिवर्तन गर्ने गरेको केही अध्ययनले देखाइसकेका छन् । साथै डिस्प्ले पनि उनीहरूको रोजाइमा पर्छ । तर अहिले सार्वजनिक गरिएको आईफोनमा पनि अघिल्लो वर्ष सार्वजनिक गरिएको आईफोनको जस्तो स्क्रिन प्रयोग गरिएको छ । अन्य सबै डिजाइन पनि पुरानो आईफोनको जस्तै छ । 

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रभावको कारण पनि मानिसहरू राम्रो क्यामेरा भएको स्मार्टफोनको खोजी गर्न थालेका छन् । यस्तोमा सामसङ र हुवावेईजस्ता कम्पनीसँगको प्रतिस्पर्धाको लागि पनि एप्पललाई क्यामेरा सुधार्न दबाब बढेको हो । त्यसका लागि एप्पलले अवस्थालाई बुझ्न सक्ने मेशिनको पनि विकास गरिरहेको छ । त्यसको एक उदाहरणको रूपमा ‘नाइट मोड’लाई लिन सकिन्छ । यो नयाँ फिचर्सले निकै कम उज्यालोमा पनि राम्रो फोटो लिन सक्छ । यो फिचर्स यसअघि गुगलले गतवर्ष आफ्नो पिक्सल फोनमा राखेको नाइट साइटजस्तै हो । अहिले एप्पलको कृत्रिम बौद्धिकता (एआई)को विकासबारे पनि चर्चा शुरू भएको छ ।

पछिल्लो समय स्मार्टफोनमा राम्रो क्यामेराको विकास भएसँगै क्यामेराको व्यापार पनि प्रभावित बनेको छ । सन् २०१८ मा २ करोड डिजिटल क्यामेरा विक्री भएका थिए । जब कि सन् २००८ मा १२ करोड डिजिटल क्यामेरा विक्री भएका थिए । त्यसको विपरीत स्मार्टफोनको व्यापार भने बढ्दो क्रममा छ । त्यसैले धेरै कम्पनी अहिले स्मार्टफोनको क्यामेरा सुधार्ने विषयमा लागिपरेका छन् ।

प्रस्तुति : चिरञ्जीवी आचार्य (एजेन्सीको सहयोगमा)
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्