arthik abhiyan
ad banner

मध्यपहाडी लोकमार्ग : दैलेख खण्डमा ७५ किमी सडकको टेन्डर गरिँदै

Sep 24, 2019 
यातायात
Image Not Found
author avatar पंखबहादुर शाही

दैलेख । पुष्पलाल (मध्यपहाडी) राजमार्गको दैलेख खण्डमा ७५ दशमलव ५ किमी सडक कालोपत्रका लागि आयोजनाले टेन्डरको तयारी गरेको छ । यो सडकको डीपीआर तयार भइसकेकाले छिट्टै टेन्डर आह्वान गरिने आयोजनाले जानकारी दिएको छ । ३५ घर भत्काउनुपर्ने आयोजनाले बताएको छ । साथै उक्त सडकमा ३५ घरहरू भत्काउनुपर्ने देखिएको छ । 

सदरमुकाममा १० मिटर मात्र कालोपत्र गर्ने सहमति भएको छ । सदरमुकाम नजिक जाहारकोटमा सडक खन्न अवरोध भएकाले समन्वय गरेर काम अघि बढाउने आयोजनाको तयारी छ ।

आयोजनाका अनुसार अहिले कालोपत्र गर्न लागिएको चार खण्डमा सडक चौडाको काम ९० प्रतिशत सकिएको छ । त्यस्तै ग्याबिन र मेशिनरी वाल लगाउने काम भइरहेको छ । सानातिना खोलाखाल्चीमा ह्युमपाइप मार्फत पानीको निकास, ग्राभेलिङ र सब–बेसको काम समेत पूरा भएको छ । आयोजनाले दैलेख खण्डमा मुआब्जाका लागि रू. ६० लाख खर्च हुने अनुमान गरेको छ ।

५० किमी कालोपत्र हुँदै
दैलेख खण्डमा अहिले ५० किलोमिटर कालोपत्रका लागि टेन्डर गरी काम भइरहेको छ । दशैंपछि कालोपत्रको काम शुरू गर्ने भनिए पनि त्यसअगावै जिल्लाको पूर्वी खण्डको सडकमा कालोपत्रको काम भइरहेको  छ । कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले तोकिएको समयभन्दा १ वर्षअघि नै ९ किलोमिटर कालोपत्र गरिसकेको आयोजनाले बताएको छ । आयोजनाका दैलेख खण्डका प्रमुख  तुलाराम शर्माका अनुसार पूर्व दैलेखको लोहोरेदेखि हुलाकटाकुरा नजिकसम्म ५ किलोमिटर शर्मा गजुरमुखी जेभीले निर्माण गरेको हो । यस्तै मौलेसालदेखि खोपोसम्म ४ किलोमिटर कालोपत्र केएस रमण जेभीले निर्माण गरेको हो । कार्ययोजना अनुसार १ वर्षपहिल्यै ९ किलोमिटर कालोपत्र गरिएको राजमार्ग योजना कार्यालयका प्रमुख नारायणप्रसाद निउरेले जानकारी दिए । पश्चिम खण्डमा राजमार्गको काम लक्ष्यभन्दा पनि छिटो भएको बताइएको छ ।

अहिले ५० किलोमिटर कालोपत्रको काम चार भागमा ठेक्का लगाएर भइरहेको छ, जस अन्तर्गत लोहोरेदेखि झुप्रेसालसम्म ९ दशमलव ९ किलोमिटरमा केएस रमण जेभीले भ्याटबाहेक २४ करोट ८४ लाख ३१ हजार रुपैयाँमा ठेक्का लिएको छ । कम्पनीले २०६४ भदौ ३ मा ठेक्का सम्झौता गरेको हो । उसले २०७७ भदौ ३ गते काम सक्नुपर्नेछ ।

२०७७ जेठ महीनामा सक्नेगरी शर्मा गजुरमुखी जेभीले झुप्रेसालदेखि मनघरसम्मको सडकको ठेक्का पाएको छ । कम्पनीले ११ दशमलव ४ किलोमिटर कालोपत्र गर्ने कामको २०६४ जेठ १४ ठेक्का सम्झौता गरेको हो । भ्याटबाहेक ३१ करोड ७२ लाख रुपैयाँमा कम्पनीले ठेक्का सकारेको हो । त्यस्तै वडालम्जीदेखि पादुकासम्म १३ दशमलव ३ किलोमिटर कालोपत्रको ठेक्का केएस रमण जेभीले पाएको छ । २०७४ जेठ १४ गते सम्झौता गरेको कम्पनीले २०७७ जेठ १४ मा काम सक्नुपर्नेछ । उसले २६ करोड ९१ लाख रुपैयाँमा सम्झौता गरेको हो ।

पश्चिम दैलेखमाको रामघाट पुलदेखि पादुकासम्म १५ दशमलव ८ किलोमिटर सडक कालोपत्रका लागि पम्पु हाई हिमालयन जेभीले ठेक्का पाएको थियो । २०७४ जेठ १४ गते ठेक्का सम्झौता गरेको कम्पनीले २०७७ जेठ १४ भित्र काम सक्नुपर्नेछ । कम्पनीले ४२ करोड १० लाख रुपैयाँमा उक्त सडकको ठेक्का लिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्