arthik abhiyan
ad banner

१५२ छात्रालाई साइकल वितरण

सामाजिक विकासका लागि महिला सशक्तीकरणको खाँचो : मन्त्री सोनल 

Sep 26, 2019 
शिक्षा
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बुधवार बाराको प्रसौनी गाउँपालिकाका दुई विद्यालयका १५२ जना छात्रालाई साइकल वितरण गरेका छन् । प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत नेरा माविका ५६ र बेगा साह माविका ९६ जना छात्रालाई मन्त्री सोनलले साइकल हस्तान्तरण गरेका हुन् । 

साइकल वितरण समारोहमा मन्त्री सोनलले समाजको समयसापेक्ष विकासका लागि छोरी शिक्षित हुनुपर्नेमा जोड दिए । ‘प्रदेश २ सरकार महिलामैत्री विकासमा अघि बढेको छ,’ उनले भने, ‘महिला शिक्षित नभएसम्म समाजको सकारात्मक रूपान्तरण सम्भव छैन ।’ 

छोरा र छोरीमा अझै पनि विभेद कायमै रहेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री सोनलले लैंगिक विभेदको अन्त्य नभएसम्म विकासले गति लिन नसक्ने पनि स्पष्ट पारे । प्रदेश सरकार छोरीलाई शिक्षित बनाएर सुसंस्कृत समाजको निर्माणमा लागिपरेको उनले स्पष्ट पारे । प्रदेश सरकार ‘छोरीलाई पढाएर र वनलाई बढाएर’ विकासको आधार निर्माणमा लागिपरेको उनको भनाइ थियो । 

प्रदेश २ सरकारले छोरीलाई विद्यालय पठाउने प्रवृत्ति बढाउन साइकल वितरण योजना कार्यान्वयनमा ल्याएको छ । छोरीलाई शिक्षित बनाएर सामाजिक रूपान्तरणको जग बलियो बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ योजना अघिसारेको मन्त्री सोनलले उल्लेख गरे । 

संघीयताले केन्द्रको अधिकारलाई प्रदेश र स्थानीय तहसम्म पु¥याएको भन्दै मन्त्री सोनलले अब संघीय सरकारलाई गाली गरेरमात्र प्रदेश र स्थानीय सरकारको दायित्व पूरा नहुने पनि स्पष्ट पारे । संघीयताले अधिकार विकेन्द्रीकरणसँगै विकासको जिम्मेवारी पनि बाँडेको उनले बताए । स्रोतसाधन र अधिकार बाँडफाँटको विषयमा संघ सरकारसँगको असहमतिको समाधान खोज्न बाँकी नै रहे पनि अवसरलाई विकासमा रूपान्तरण गर्न चुक्न नहुने सोनलले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्