arthik abhiyan
ad banner

न्यूबिज कन्क्लेभले देखाएको पर्यटनको बाटो

Sep 29, 2019 
सम्पादकीय
NA


यस वर्षको ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड’ कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा अन्तरराष्ट्रिय पर्यटन दिवसको दिन पारेर काठमाडौंंमा आयोजित कार्यक्रममा ‘समृद्धिका लागि पर्यटन : उत्कृष्ट अनुभव आदानप्रदान’ विषयमा आधारित रही छलफल भएको थियो । पर्यटन क्षेत्रका विविध विषयमा भएको प्यानल छलफलमा निजी र सार्वजनिक क्षेत्रका प्रतिनिधि सहभागी भएका थिए । 

राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको नेपाल भ्रमण वर्ष–२०२० का लागि यो कार्यक्रमले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । एशियन पेन्ट्स प्रमुख प्रायोजक रहेको यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, होटेल एशोसिएशन नेपाल (हान) तथा भिजिट नेपाल २०२० को लगायतको सहकार्य रहेको थियो ।

प्रविधिको कारण विश्वको पर्यटन व्यवसायको ढाँचामै ठूलो परिवर्तन ल्याएको छ । त्यसअनुरूप परिवर्तन हुन नसक्ने हो भने पर्यटन व्यवसाय टिक्न सक्तैन । तर, नेपाली पर्यटन उद्योगले अझै पनि प्रविधिलाई उल्लेख्य रूपमा प्रयोग गर्न सकेको छैन ।

कार्यक्रममा २१ ओटा कम्पनी र व्यावसायिक छवि बनाएका एक जना व्यक्तित्त्वलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड तथा सम्मान प्रदान गरिएको थियो, जसमा बुद्ध एयर बेस्ट म्यानेज्ड कम्पनीबाट सम्मानित भएको थियो भने द्वारिकाज् होटेलकी अध्यक्ष अम्बिका श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

नेपालले पर्यटन विकासका लागि अन्य देशबाट सिक्नुपर्ने पक्षलाई मुख्य विषयवस्तु बनाएर कार्यक्रममा छलफल गरिएको थियो । मेकङ क्षेत्रका ६ ओटा सरकारले एउटा साझा संस्था बनाएर कसरी मेकङ नदीको सेरोफेरोमा आधारित आप्mना प्रोडक्ट बेचिरहेका छन् भन्ने चाखलाग्दो पाटो कार्यक्रममा प्रस्तुत गरियो । नेपालले पनि हिमालय पर्वतसँग जोडिएका देशहरू भारत, पाकिस्तान, अफगानिस्तान, भुटान र चीनको तिब्बतसँग सहकार्य गरेर हिमालमा आधारित पर्यटन प्रोडक्टका रूपमा विश्वबजारमा बेच्न ‘बहुराष्ट्रिय संयुक्त उपक्रम’ बनाउन सक्ने सम्भावना मेकङ क्षेत्रको उदाहरण र मोडलबाट देखिएको छ । 

नेपालमा धेरै पर्यटक ल्याउने वा थोरै ल्याएर धेरै आम्दानी गर्ने भन्नेबारेमा बारम्बार छलफल भइरहेको हुन्छ । कस्ता पर्यटक भित्र्याउने भन्नेबारेमा कार्यक्रममा भुटानले आफ्नो अनुभव प्रस्तुत गरेको थियो । भुटानले थोरै तर धेरै खर्च गर्ने पर्यटकलाई प्राथमिकता दिँदै आएको छ । नेपालले पनि यसका फाइदा तथा बेफाइदाबारे ध्यान दिएर अगाडि बढ्न आवश्यक छ । 

पछिल्लो समय पर्यटनमा प्रविधिको प्रयोग व्यापक बढ्दो छ । प्रविधिको बढीभन्दा बढी प्रयोगबाट विश्वका थुप्रै देशले पर्यटन क्षेत्रमा फड्को मारिरहेका छन् । यसको उदाहरणका रूपमा कार्यक्रममा मेकङ क्षेत्रले प्रविधिको प्रयोग गरेर कसरी पर्यटन विकास गरिरहेको छ भनेबारे प्रस्तुति दिएको थियो । पर्यटकलाई नै सामाजिक सञ्जालमा आफूले घुमेको स्थान, होटल तथा रेस्टुराँको सेवा र स्थानीय संस्कृतिको तस्वीर, भीडीयो र ब्लग प्रेषित गर्न प्रोत्साहित गर्ने र त्यस्ताका लागि निश्चित वस्तु, खाना आदि निःशुल्क रूपमा अफर गर्ने योजना नेपालले पनि अवलम्बन गर्न सक्छ । 

प्रविधिको कारण विश्वको पर्यटन व्यवसायको ढाँचामै ठूलो परिवर्तन ल्याएको छ । त्यसअनुरूप परिवर्तन हुन नसक्ने हो भने पर्यटन व्यवसाय टिक्न सक्तैन । तर, नेपाली पर्यटन उद्योगले अझै पनि प्रविधिलाई उल्लेख्य रूपमा प्रयोग गर्न सकेको छैन । त्यसकारण न्यू बिजको छोटो कार्यक्रम भए पनि यहाँ प्रस्तुत उदाहरण तथा सम्भावना नेपालका लागि ठूलो पाठ हुन सक्छ । यसबाट नेपाल पर्यटन क्षेत्रमा कसरी अगाडि बढ्ने भन्नेमा निजी र नीति निर्माताहरूले काम गर्न आवश्यक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्