arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एन्ड्रोइड फोन स्मार्ट हुनुका कारण

Sep 30, 2019  
प्रविधि
Image Not Found


काठमाडौं (अस) । विगत डेढ दशकको समय नियाल्ने हो भने प्रविधिले हाम्रो जीवनमा निकै ठूलो परिवर्तन ल्याएको देखिन्छ । त्यतिबेला कम्प्युटर, ल्यापटपसमेत देख्न मुश्किल पर्नेहरू अहिले हरेक क्षण च्याटिङ गर्ने, भिडियो कल गर्ने, ईमेल पठाउने लगायत इन्टरनेटसँग सम्बन्धित गतिविधिमा अभ्यस्त भइसकेका छन् । अहिले मानिस घरबाट निस्कँदा अरू सामान भुल्न सक्छन्, तर मोबाइल फोन बोक्न कहिल्यै बिर्संदैनन् । मोबाइल फोन र मानिसबीच अहिले निकट सम्बन्ध पाइन्छ । यो सम्बन्धमा स्मार्टफोनको ठूलोे योगदान रहेको प्रविधि विश्लेषज्ञकहरू बताउँछन् । फोन मात्र नभएर विभिन्न उपकरणको रूपमा समेत प्रयोग हुनु यसको मुख्य कारण भएको उनीहरूको भनाइ छ ।

स्मार्टफोनको विकासक्रम
स्मार्टफोनको विकास भएको धेरै समय भएको छैन । यसको विकासक्रम सक्षेपमा यसरी हेर्न सकिन्छ :

सन् १९९२ : आईबीएम (इन्टरनेशनल बिजनेश मेशिन)द्वारा पहिलो स्मार्टफोनको आविष्कार भयो । सिमोन नाम गरिएको उक्त स्मार्टफोनमा पात्रो (क्यालेन्डर), एड्रेसबूक, क्यालकुलेटर, ईमेल तथा टचस्क्रिन सुविधासमेत थियो ।

सन् १९९६ : नोकियाले फोन तथा पीडीए अर्थात् व्यक्तिगत व्यवस्थापक (पर्सनल अर्गनाइजर) तथा ईमेल–इन्टरनेट सुविधासहितको कम्प्युटर दुवैको काम गर्न सक्ने स्मार्टफोनका संस्करण नै सार्वजनिक गरेको थियो ।

सन् २००० : एरिक्शन कम्पनीद्वारा आर–३८० नाम गरेको टचस्क्रिन स्मार्टफोनको विकास भयो । यसमा सिम्बियनमा आधारित अपरेटिङ सिस्टम (ओएस) तथा पट्याउन मिल्ने (फोल्डेबल) किबोर्डसमेत उपलब्ध गरिएको थियो । अधिकांश प्रविधि विशेषज्ञहरू यसैलाई पहिलो स्मार्टफोन मान्ने गर्छन् ।

सन् २००२ : वास्तवमा स्मार्टफोनको लोकप्रियता चुलिएको समयका रूपमा यस वर्षलाई लिइन्छ । यही वर्ष ईमेल सेवासहितको ब्ल्याकबेरी, पाल्म ट्रिओ (फुल क्वेर्टी किबोर्डसहितको मोबाइल) र एरिक्शनको पी–८०० पनि सार्वजनिक गरिएका थिए । साथै, एमपीथ्री प्लेयर, क्यामेरा र ताररहित प्रविधि लगायत नयाँ फिचर समेत यसै वर्ष स्मार्टफोनमा पहिलोपटक उपलब्ध गरिएको थियो । ईमेल आदानप्रदान गर्ने कार्यले पनि यही वर्षदेखि लोकप्रियता पाएको मानिन्छ ।

सन् २००५ : सोनी एरिक्शनले आफ्नो अत्यधिक लोकप्रिय हुन सफल एन सेरिजका मोबाइल यस वर्ष सार्वजनिक गरेको थियो । कम्प्युटिङ (हिसाब गर्ने) क्षमताका आधारमा विशेष व्यावसायिक मानिसलाई लक्षित गरी यसलाई बजारमा ल्याइएको थियो ।

सन् २००७ : व्यापक एप स्टोरसहितको एप्पल आईफोन सार्वजनिक

सन् २००८ : सबैका लागि खुल्ला (ओपन सोर्स) एन्ड्रोइड अपरेटिङ सिष्टमको शुरुआत गरियो । गूगल, इण्टेल, एचटीसीलगायत अन्य थुप्रै कम्पनीले यसमा सहयोग पुर्‍याएका थिए ।

सन् २००८ देखि हालसम्म : बजारमा रहेका प्रमुख कम्पनीद्वारा निरन्तर नयाँनयाँ स्मार्टफोन सार्वजनिक गरिँदै आएको छ । अहिले बजारमा तीव्रगतिको इन्टरनेटका साथै अत्याधुनिक प्रविधियुक्त स्मार्टफोन कसले ल्याउने भन्ने विषयमा व्यापक प्रतिस्पर्धा चलिरहेको छ ।

एन्ड्रोइडमा मुख्य विशेषता
वाईफाई डाइरेक्ट
एन्ड्रोइड स्मार्टफोनहरूमा ठूलो साइजका भिडियो लगायत अन्य फाइल आदानप्रदान गर्न वाईफाई डाइरेक्टको प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा करीब १ जीबीसम्म आकारका फाइल करीब ५ मिनेटमै आदानप्रदान गर्न सकिन्छ । फोन आफै एकअर्कासँग सहज ढंगले कनेक्टेड (जोडिने) हुने भएकाले यसका लागि वाईफाई सुविधा समेतको आवश्यकता पर्दैन ।

एनएफसीद्वारा सञ्चार
एनएफसी अर्थात् नियर फिल्ड कम्युनिकेशनको सहायताले छोटो दूरीमा रहेका अन्य मोबाइलमा सजिलै साधारण एपको सहायताले सन्देश आदानप्रदान गर्न सकिन्छ ।

ओटीजीको सहायताले फाइल आदानप्रदान
यूएसबी (युनिभर्सल सिरियल बस) होस्टको सहायताले यूएसबी फ्ल्यास ड्राइभमार्फत फोन प्लग (जडान) गरी फाइल सजिलै कपी तथा पेस्ट गर्न सकिन्छ । एन्ड्रोइडले फाइल एक्स्प्लोररको सहायताले उपकरणमा रहेका फाइल प्रणालीमा सजिलै पहुँच बनाउनसमेत सहयोग पुर्‍याउँछ ।

स्प्याम म्यासेज ब्लक गर्न सहज
म्यासेज तथा कलमा आईओएसमार्फत नियन्त्रण गर्न सकिन्न । तर एन्ड्रोइडमा तपाईं कल तथा म्यासेज ब्लक गर्ने सुविधा प्राप्त गर्न सक्नुहुन्छ । यसको सहायताले तपाईं आफूलाई मन नपरेका मानिस तथा तिनका फोन नम्बर ब्लकसमेत गर्न सक्नुहुन्छ ।

लुक्समा परिवर्तन
आईफोनको लुक्समा खासै विविधता पाइन्न । यसको लुक्स सीमित रहेको छ ।   तर एन्ड्रोइडले आप्mनो फोनको लुक्स परिमार्जन गर्ने थुप्रै अवसर प्रदान गरेको पाइन्छ । यसका लागि लन्चरको प्रयोग गर्नुपर्ने हुन्छ । 

सस्ता तारको प्रयोग
एप्पलमा लाइटनिङ केबलको प्रयोग गर्नु अनिवार्य जस्तै हुन्छ । सुरक्षाका दृष्टिकोणले एप्पलले यसलाई विशेष प्राथमिकतामा समेत राखेको छ । तर एन्ड्रोइड प्रयोगकर्तालाई यस्तो महँगो तार प्रयोग गर्नु आवश्यक छैन । किनभने एन्ड्रोइडमा बजारमा सजिलै तथा सस्तो मूल्यमै उपलब्ध हुने कुनै पनि यूएसबी (युनिभर्सल सिरियल बस) केबुलको प्रयोग गर्न सकिन्छ ।

विजेट्स तथा अटोमेशन
एन्ड्रोइडमा आफ्ना अत्यावश्यक एपमाथि सहज पहुँचका लागि विजेट्सको प्रयोग गर्ने सुविधा छ । साथै हरेक एपका लागि एप स्टोरमा विजेट्स उपलब्ध छन् । एन्ड्रोइड फोनमा घर तथा अफिसमा प्रवेश गर्नेबित्तिकै वाईफाई लगायत सुविधा सञ्चालनका लागि अटोमेशन फिचर छ ।

खर्च मितव्ययी सञ्चय विस्तार सुविधा
एन्ड्रोइड फोनको सञ्चय क्षमता बढाउनुपर्दा सस्तो मूल्यको बढी सञ्चय क्षमता भएका मेमोरी कार्डको प्रयोग गर्न सकिन्छ । बजारमा १६ जीबी क्षमताको माइक्रो एसडी कार्ड करीब रू. १ हजार देखि १ हजार ६ सयसम्ममा उपलब्ध छन् । एप्पलका उत्पादनको तुलनामा यो मूल्य निकै कम पर्छ ।

डाटामाथिको नियन्त्रण
एप्पलको आईफोनका तुलनामा एन्ड्रोइड प्रयोगकर्तालाई डाटा (फोटो, भिडियो) ट्रान्सफर लगायत कार्यमा करीब ३ गुणा बढी सुविधा उपलब्ध हुन्छ । साथै फाइल म्यानेजर एपको प्रयोग गरी फोनमा रहेका सिस्टम फाइल पनि आदानप्रदान गर्ने सुविधा एन्ड्रोइडका प्रयोगकर्ताले उपभोग गर्न सक्छन् । 

(एजेन्सीहरूको सहयोगमा)


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्