ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बुधवारदेखि ३२ जिल्लामा टेलिकमको फोरजी सेवा

प्रधानमन्त्रीद्वारा फोरजीको उद्घाटन गर्ने तयारी

Oct 1, 2019  
समाचार
Image Not Found
author avatar युवराज बस्नेत

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकमले) दशैंअगावै झन्डै ५० मुख्य शहरमा फोरजी सेवा सञ्चालन गर्ने भएको छ । बुधवारदेखि सञ्चालन हुनेगरी टेलिकमले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गराउने तयारी गरेको छ । हाल काठमाडांै र पोखरा दुई शहरमा मात्र नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा छ । 

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले २० शहर लक्ष्य भए पनि झन्डै ५० शहरमा फोरजी सेवा शुरू हुने भएको बताए । टेलिकमले ८०० मेगाहर्ज ब्यान्डको फ्रीक्वेन्सीबाट फोरजी सेवा दिने भएको हो । यी शहरमा फोरजी सेवा शुरू गरेपछि ३० लाखभन्दा बढी सेवाग्राहीमा फोरजी सेवा पुग्ने टेलिकमको अपेक्षा छ । 

टेलिकमका अनुसार पहिलो चरणमा सबै महानगरपालिका र नगरपालिकामा दशैंअगाडि नै फोरजी सेवा पुग्नेछ । टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोर जी सेवा शुरू गरेको थियो । टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भट्टराईले ३२ जिल्लाका ५० शहरमा बुधवारदेखि फोरजी शुरू हुने बताए । उनका अनुसार हाल फोरजी विस्तारका लागि सबै तयारी पूरा भइसकेको छ । 

टेलिकमका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदहमा फोरजी सञ्चालनमा आउनेछ । त्यस्तै चन्द्रगढी, बिर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटामा फोर जी सेवा सञ्चालनमा आउनेछ । जनकपुर, जलेश्वर, मलङ्गवा, बारा, पर्सा, सिमरा, कलैया, गौरमा फोरजी सेवा शुरू हुनेछ । यस्तै धादिङ, भीमदत्तनगर, झलारी, पिपलाडी, तुलसीपुर, घोराही, नेपालगञ्ज, कोहलपुर, चौमला र अत्तरिया तथा कर्णाली प्रदेशको सुर्खेतमा फोरजी सेवा शुरू हुने टेलिकमको भनाइ छ । 

टेलिकमले रू. १९ अर्बको लगानीमा देशभर फोरजी सेवा विस्तार गर्ने जिम्मा २०७५ माघमा दुई चिनियाँ कम्पनीलाई दिएको थियो । तीमध्ये सीसीएसआईले रेडियो एक्सेस नेटवर्क विस्तार र जेटीई कर्पोरेशनले कोर नेटवर्क विस्तारको जिम्मा पाएका छन् । रेडियो एक्सेस नेटवर्कले प्रयोगकर्ताको डिभाइसलाई मुख्य टावरहरूसँग जोड्ने काम गर्छ भने कोर नेटवर्क सेवाप्रदायकको आफ्नो नेटवर्कबीच हुने संयोजन हो । 

टेलिकमले भन्दा ६ महीनापछि फोरजी सेवा शुरू गरेको एनसेलले भने दर्जनौं शहरमा यसको विस्तार गरिसकेको छ । हाल उपत्यका र पोखरामा टेलिकमका फोरजी प्रयोगकर्ता ८ लाख छन् भने एनसेलले फोरजीका ग्राहकको संख्या २९ लाख नघाइसकेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्