arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सवारीसाधन तथा पर्यावरण सुरक्षाका उपाय

Oct 1, 2019  
यातायात
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विश्वभर नै अहिले सवारीसाधनको संख्या दिनानुदिन बढ्दो क्रममा छ । यसले वातावरणमा पार्ने असरबारे शायदै कोही अनभिज्ञ होलान् । त्यसैले, अहिले विश्वभर नै सवारीसाधनको सङ्ख्या र यसले पर्यावरणमा पार्ने नकारात्मक असरका बारेमा बृहत् अध्ययन भइरहेको पाइन्छ । अध्ययनको लक्ष्य सवारीसाधनको संख्या, हानिकारक ग्यास उत्सर्जन र यसले वातावरणमा पार्ने असर न्यूनीकरण कसरी गर्ने भन्ने रहेको छ । यस्तै प्रयासको एक नमूना हो, हालै सम्पन्न इन्टरनेशनल काउन्सिल अफ क्लिन ट्रान्सपोर्ट (आईसीसीटी)द्वारा भर्खरै गरिएको एक अध्ययन । भारतमा गरिएको उक्त अध्ययनमा ह्वील पार्टिकल म्याटर (पीएम) उत्सर्जन निकै भयावह अवस्थामा पुगेको पाइएको छ । यसको कारण निम्तिने रोगले गर्दा भारतमा मात्रै हरेक वर्ष करीब ४० हजार मानिस समयअगावै मृत्युको शिकार हुने गरेको पाइएको छ । 

पर्यावरणका बारेमा मानिसहरू विस्तारै सहज हुँदै गएको भए तापनि यसको सुरक्षार्थ के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेबारे भने अधिकांश मानिस अनभिज्ञ नै रहने गरेको पाइएको छ । यही कुरालाई दृष्टिगत गर्दै आफ्ना सवारीसाधन कसरी पर्यावरणमैत्री बनाउन सकिन्छ भन्नेबारे यहाँ चर्चा गरिएको छ । यी उपाय अपनाएर सबैले आफ्ना सवारीसाधन पर्यावरणमैत्री बनाउन सक्ने विशेषज्ञहरूको भनाइ छ । 

कारलाई सही अवस्थामा राख्ने
कारलाई पर्यावरण मैत्री बनाइराख्न पहिलो उपाय यसलाई हरेक समय राम्रो अवस्थामा राख्न प्रयास गर्नु हो । कारको अवस्था राम्रो राख्न नियमित सर्भिस गराउनु आवश्यक छ । नियमित सर्भिसिङ गराइएका र अवस्थाको विशेष ध्यान दिइएका गाडीले अन्य सवारीसाधनका तुलनामा धूँवा उत्सर्जन कम गर्छन् । यसले पर्यावरण जोगाउन उल्लेख्य भूमिका हुने निश्चित छ । कारलाई सही अवस्थामा राख्दा  यसले कारको क्षमतामा करीब ४ प्रतिशत वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ । त्यसैगरी एयर कारमा रहेका जाम फिल्टर परिवर्तन गर्दा कारको क्षमतामा १० प्रतिशत वृद्धि हुन गर्छ । धेरैलाई थाहा नहुन सक्छ तर, कारमा रहेको अक्सिजन सेन्सर बिग्रिएमा यसले कारको माइलेज झण्डै ४० प्रतिशतसम्म कम गर्न सक्छ । त्यसैले, आफ्नो कारलाई पर्यावरणमैत्री बनाउन यसको अवस्था राम्रो राख्न नियमित जाँच गराउनु आवश्यक छ । 

टायरमा हावाको चाप मिलाउने
टायरमा हावाको मात्रा सही नभएमा निर्धारित दूरी तय गर्न पांग्राले निर्धारितभन्दा बढी चक्र घुम्नुपर्ने हुन्छ । यसले गर्दा सवारीसाधनको इन्जिनमा अधिक भार पुग्छ । स्वाभाविक रूपमा यसले गर्दा इन्धनको खपत पनि बढी हुन्छ । साथै, यसले टायरको आयुमा समेत उल्लेख्य कमी ल्याउने गर्छ । त्यसैले, टायरमा हावाको चाप निर्धारित मात्रामा सही हुनु आवश्यक छ । यसो गर्दा पर्यावरणमा पर्ने असर न्यूनीकरण गर्न सकिनुका साथै पैसाको समेत बचत हुन्छ । 

ड्राइभिङ तरीका परिवर्तन गर्ने
कारको इन्धन मितव्ययिता धेरै मात्रामा चालकले कार चलाउने तरीकामा निर्भर हुन्छ । कारलाई अचानक रोक्ने तथा चलाउने, झट्का लिने वा आक्रामक तरीकाले चलाउने गर्दा औसतभन्दा अधिक इन्धन खपत हुन्छ । त्यसैले, कार चलाउँदा एक्सिलेटरमा केही हल्का मात्रामा खुट्टा राख्ने, गियर परिवर्तन गर्दा पनि आरामदायी तरीका अपनाउनु आवश्यक छ । साथै, कुनै स्थानमा ट्राफिक जाम वा अन्य कारणवश ३० सेकेन्डभन्दा अधिक समय रोकिनुपरेमा सवारीसाधनको इन्जिन बन्द गर्नु राम्रो हुन्छ ।
 
निर्धारित वजनभन्दा बढी नबोक्ने
स्वाभाविक रूपमा सवारीसाधनमा जति धेरै वजन हुन्छ, त्यही अनुपातमा इन्धनको खपत बढी हुन्छ । त्यसैले, कारको डिक्की तथा क्याबिनमा अनावश्यक सामान थोपारेर राख्ने बानी छ भने यसबाट छुटकारा पाउने उपाय अपनाउनुहोस् । त्यसैगरी कारको छतमा रहेको क्यारियरको आवश्यकता छैन भने त्यसलाई पनि हटाइदिनुहोस् । यही कुरा अन्य सवारीसाधनमा पनि लागू हुन्छ । सवारीसाधनमा अनावश्यक सामान राखेर बार बहन गराउनुभन्दा सक्दो हल्का बनाउनेतिर लाग्नुपर्छ । यसले सवारीको नियन्त्रणमा सहजता ल्याउनुका साथै इन्धन खपतमा समेत न्यूनीकरण ल्याउन प्रत्यक्ष सहयोग मिल्छ । 

कार धुँदा ध्यान दिनुपर्ने कुराहरू
कारलाई घरमै राम्ररी धुन करीब २ सय लिटर पानीको आवश्यकता पर्छ । तसर्थ, पानीको सक्दो सदुपयोग गरी सकेसम्म न्यून मात्रामा पानीको प्रयोग गरी कार धुने प्रयास गर्नु आवश्यक छ । यसको विकल्पका रूपमा सकेसम्म सुकेका कपडाले कार सफा गर्ने उपाय अपनाउन सकिन्छ । साथै, कार पखाल्ने कार्यका लागि बायोडिग्रेबल तथा सीएफसी (क्लोरो फ्लोरो कार्बन)रहित साबुन वा डिटरजेन्टको प्रयोग गर्नुपर्छ । पर्यावरण सुरक्षाका दृष्टिले अहिले बजारमा वातावरणमैत्री (इको फ्रेन्ड्ली) क्लिनर पनि उपलब्ध छन् । तिनको प्रयोग गरेर पनि तपाईं वातावरण सुरक्षामा सानै भए पनि टेवा पुर्‍याउन सक्नुहुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्