arthik abhiyan
ad banner

बजारसँग नजोडिएको कृषि 

Oct 2, 2019 
सम्पादकीय
NA


भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको मूल्य आकाशिएको छ भने व्यापारीले प्याज लुकाउन थालेका छन् । त्यस्तै मूल्य नपाएपछि पाँचथरमा उत्पादित स्याउ गाईबस्तुलाई खोले खुवाउन प्रयोग भएको छ । तर, हुम्लाको स्याउ अहिले राजधानीमै अरू स्याउभन्दा बढी मूल्यमा बिकिरहेको छ भने दोलखाको अकबरे खुर्सानी कतार निकासी भएको छ । 

यी चारओटा समाचारलाई जोडेर हेर्ने हो भने नेपालको कृषिको सम्भावना र समस्या दुवै उजागर हुन्छ । नेपालमा कृषि उत्पादनलाई बढी जोड दिइएको छ । तर, त्योभन्दा बढी महत्त्वपूर्ण पक्ष भनेको कृषि उपजलाई बजारसँग जोड्न सक्नु हो । बजार पक्ष भने पूरै अपेक्षित छ । 

आयातित स्याउको जस्तो आकारप्रकार आकर्षक नभए पनि नेपाली स्याउको स्वाद मीठो हुन्छ भन्ने आधारमा उपभोक्ताले अन्य स्याउभन्दा दोब्बर मूल्यमा नेपाली स्याउ किनिरहेका छन् । नेपालगञ्जमा त आयातित स्याउ नै विक्री नभएको समाचार समेत आएको छ । हुम्ला आदि स्थानमा फलेका स्याउ बजारमा लैजान स्थानीय तहले अनुदान दिन थालेपछि त्यहाँको स्याउ नेपाली बजारमा बिक्न थालेको हो । पाँचथरको स्याउले भने बजार पाउन नसक्नुमा यसको ब्रान्डिङ र बजारीकरण हुन नसक्नु हो । 

गुणस्तरको खोजी गर्ने उपभोक्ताले आफूले किन्ने सामानमा पनि ब्रान्ड खोज्छ । नेपाली उत्पादनले त्यो ब्रान्ड बनाउन सक्नुपर्छ ।

जसले बजार बनाउन पहल गर्छ त्यसलाई प्रोत्साहन गर्ने नीति लिनु आवश्यक छ । बजारमा राम्रो मूल्यमा बिक्यो भने किसानहरू उत्पादन बढाउन आफै प्रोत्साहित हुन्छन् । नेपालले भने उत्पादन बढाउन प्रोत्साहन र अनुदान आदि उपलब्ध गराउने नीतिलाई बढी जोड दिएको छ । तर, बजार सृजना गर्नेतर्फ भने पूरै उपेक्षा छ ।

कृषि उत्पादनलाई बजार संयन्त्रसँग जोड्न आवश्यक रणनीतिको कमी देखिन्छ । पहिलो त कृषि उत्पादनलाई बजारमा सस्तो लागतमा पुर्‍याउन ढुवानीको सहज व्यवस्था गरिनुपर्छ । अर्को, कृषि उपजको मूल्य आपूर्ति शृंखलालाई व्यवस्थित र आधुनिक बनाउन आवश्यक छ । 

त्यसपछि नेपाली उत्पादनकोे ब्रान्डिङ अर्को महत्त्वपूर्ण पाटो हो । नेपाली उत्पादन प्रांगारिक हो भनेर प्रचार गर्न सके, यसको स्वाद र अन्य विशिष्टताको ब्रान्डिङ गर्न सके मह“गो भए पनि र आकार र रङ आकर्षक नदेखिए पनि नेपाली उत्पादन बजारमा विक्री हुन सक्छ । त्यस्तै प्याकेजिङ र कृषि उत्पादनको गुणस्तर अनुसार वर्गीकरण गरी बजारमा लैजाने नीति पनि आवश्यक हुन्छ । नेपाली उत्पादनको आकारप्रकार आकर्षक नदेखिए पनि यो उच्चस्तरीय उत्पादन हो भन्ने सोच उपभोक्तामा जगाउन आवश्यक छ । गुणस्तरको खोजी गर्ने उपभोक्ताले आफूले किन्ने सामानमा पनि ब्रान्ड खोज्छ । नेपाली उत्पादनले त्यो ब्रान्ड बनाउन सक्नुपर्छ । जसरी बजारमा फुजी स्याउको ब्रान्ड चलेको छ त्यसैगरी मुस्ताङ, हुम्ला, म्याग्दी आदि स्थानको स्याउको पनि ब्रान्ड स्थापित गर्न सक्नुपर्छ । 

यस्तो ब्रान्ड बनाउन सकियो भने विदेशमा पनि निर्यात गर्न सम्भव हुन्छ । अहिले नेपाली तरकारी खाडी मुलुकमा निर्यात हुन थालेको छ । सानो परिमाणको भए पनि यसले विशेष महत्त्व राख्छ । किनभने, नेपाली तरकारी विदेशमा विक्री हुनु नेपाली किसानका लागि आत्मविश्वास बढाउने आधार पनि बनेको छ । बिस्तारै निर्यातको मात्रा बढाउन सकियो भने बढी मूल्य पाउने भएकाले युवाहरू कृषितर्फ आकर्षित हुनेछन् ।

उत्पादन भन्ने बित्तिकै सबैको उत्पादन र बजार उस्तै प्रकृतिको हुन्छ भन्ने सोच नीतिनिर्मातामा समेत देखिन्छ । तर, हरेक उपजको आफ्नै विशेषता हुन्छ । उत्पादनको विशेषता अनुसार बजार रणनीति, प्याकेजिङ, विक्रीको समय आदि फरकफरक हुन्छ । कृषिमा डेरी, मासु, अण्डा, तरकारी, फलफूल, धानमकै आदि अन्नका लागि अलगअलग नीति आवश्यक हुन्छ । तर, नेपाल सरकारको नीति उत्पादन बढाउने कुरामा बढी केन्द्रित छ । उत्पादनलाई बजारसँग जोड्न सक्ने हो र ढुवानी सस्तो हुने हो भने कृषकहरू आफै उत्पादन बढाउन लागिपर्छन् । हो, त्यसपछि भने सरकारले बिउ, मल, सिँचाइ वा अन्य आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ । तर, यस्तो सहयोग दोस्रो प्राथमिकतामा पर्नुपर्छ । ढुवानी, प्याकेजिङ, गुणस्तर, प्रचार आदि पक्ष उपेक्षित रहेसम्म लाखै प्रयास गरे पनि कृषि उत्पादन बढाउन सम्भव हुँदैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्