arthik abhiyan
ad banner

भ्रमण वर्ष राष्ट्रिय आर्थिक एजेन्डा हो

Oct 2, 2019 
लेख | दृष्टिकोण
NA
author avatar सुरज वैद्य

नेपाल भ्रमण वर्ष–२०२० राष्ट्रिय अभियान हो । हामी भ्रमण वर्षलाई स्वागत गर्न तयारी अवस्थामा छौं । यो अभियानलाई राष्ट्रिय आर्थिक एजेन्डाका रूपमा लिइएको छ । भ्रमण वर्ष नयाँ लगानी भित्र्याउन, रोजगारीका अवसर सृजना गर्न र देशभित्र नयाँ गन्तव्य खुला गर्न ठूलो अवसरका रूपमा आएको छ ।

हामी नेपालमा पर्यटनमा ठूला सम्भावना छ भनेर कुरा गर्छाैं । तर, नेपाली पर्यटन उद्योग निकै लामो समयदेखि ‘गोल्डन ट्र्याङ्गल’मा रहेको छ । पर्यटनलाई साँच्चीकै देशको अर्थतन्त्रको प्रमुख आधार बनाउने हो भने देशको पूर्वदेखि सुदूरपश्चिमसम्म सबै गन्तव्यमा पर्यटकीय गतिविधिलाई विस्तार गरिनुपर्छ । 

१९५३ आसपासमा हिमाल आरोहण तथा ट्रेकिङको शुरुआतसँगै नेपालले पर्यटन क्षेत्रमा पाइला टेकेको मानिन्छ । त्यस यताका वर्षहरूमा हामीले पर्यटनमा कस्तो वृद्धि प्राप्त गर्‍यो भन्नेमा मूल्यांकन गर्न आवश्यक छ । भ्रमण वर्ष पर्यटन व्यवसायमा सक्रिय नेपाली उद्यमीहरूका लागि देशमा विद्यमान पर्यटकीय क्षेत्रहरू र ‘प्रडक्ट’हरूबाट अगाडि बढ्नु चुनौतीपूर्ण देखिन्छ । 

युवाहरूले देश छाड्नुको एक प्रमुख कारण हामीले उनीहरूलाई नेपालका मूल्यमान्यता बुझाउन नसक्नु पनि हो । मेरी आमा नाम्चेबजारकी एक शेर्पा र पिता काठमाडौंको असनका नेवार समुदायबाट हुनुहुन्छ । आमा चपस्टिकको सहायताले खाना खानुहुन्छ भने पिता हातले । नेपालमा १२३ जातीय समूह छन् जसले हाम्रो समाज विविधतायुक्त छ भन्ने देखाउँछ । 

यही विविधताबाट नै हामी नेपाल घुम्न आउने पर्यटकलाई विशिष्ट सांस्कतिक अनुभव दिलाउन सक्छौं । नेपालसँग बाँकी विश्वलाई आकर्षित गर्ने थुप्रै कुरा छन् । भ्रमण वर्ष नयाँ होटल अथवा रेस्टुराँमा लगानी गर्न मात्र सीमित छैन । यो अभियानको उद्देश्य ती सम्पूर्ण नेपाली जो देशमै बसेर व्यापार–व्यवसाय तथा रोजगार गरिरहेका छन् उनीहरूको जीवनस्तरमा फरक ल्याउनु पनि हो । 

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्न सकिन्छ भनेर बारम्बार प्रश्न गर्ने गरिन्छ । यो अभियान कुनै निश्चित लक्ष्य भेटाउने विषयसँग मात्र सम्बद्ध छैन । कर्ण शाक्य राष्ट्रिय संयोजक रहेको नेपाल भ्रमण वर्ष १९९८ ले नेपालको पयर्टनमा जेजस्ता योगदान गर्‍यो र देशका दुर्गम क्षेत्रमा पर्यटनको विस्तार गर्न सहयोग गर्‍यो, त्यो निश्चित संख्याको लक्ष्य भेट्टाउनुभन्दा बढी महत्त्वपूर्ण सावित भएको छ । 

वर्ष जस्ता राष्ट्रिय अभियानबाट कति नयाँ लगानी भित्रियो, कति रोजगारी सृजना भयो, नयाँ गन्तव्यको पहिचान कति भयो र पर्यटन विकास कति गर्न सकियो भन्ने विषय महत्त्वपूर्ण हुन्छ । यसका लागि सबैको प्रयत्न आवश्यक छ । अहिले नेपाल भ्रमण वर्ष सचिवालयमा दैनिक २००–२५० जना व्यक्तिका विभिन्न प्रस्ताव लिएर आउँछन् । त्यसरी आउनेहरूमध्ये ७५ प्रतिशत जति युवा छन् जसले गर्दा हामीलाई काम गर्न निकै हौसला मिलेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्