arthik abhiyan
ad banner

बैंकिङ परितन्त्र र बैंकहरूको भविष्य 

नेपाली बैंकहरू नयाँ ‘उत्पादन’तर्फ लाग्लान् ?

Oct 2, 2019 
लेख | दृष्टिकोण
NA
author avatar प्रकाश भण्डारी

प्रविधिको विकाससँगै बढेको आम ग्राहकको असीमित माग र अपेक्षा पूर्ति गर्न अहिले अस्ट्रेलियाको ‘कमनवेल्थ बैंक अफ अस्ट्रेलिया’ले आफ्नो बैंकिङ एप्लिकेशन मार्फत ग्राहकलाई सरकारी कारोबारदेखि व्यक्तिगत नगद प्रवाहको विश्लेषण गरिदिनेसम्मको सुविधा उपलब्ध गराएको छ । रेल, पानी तथा हवाई जहाज, बसजस्ता यातायातका साधनदेखि घरजग्गा तथा सरकारी सेवासुविधा समेतको प्राप्ति र भुक्तानीको सेवासमेत यो बैंकले एउटै केन्द्रीकृत एप मार्फत उपलब्ध गराउँदै आएको छ । 

अर्को शब्दमा भन्ने हो भने बदलिँदो परिस्थितिका कारण यो बैंकले परम्परागत बैंकिङ प्रणालीले उपलब्ध गराउने सेवाको दायरालाई अन्य क्षेत्रसम्म विस्तार गरेको छ । हुन पनि अहिलेको जमानामा ग्राहकको अपेक्षा परम्परागत बैंकिङ प्रणालीको सीमाभित्र मात्र अटाउन सक्दैन । यही विस्तारित अपेक्षाले अर्थतन्त्र तथा समाजका धेरै विषयसँग आधुनिक बैंकिङको गहिरो अन्तरसम्बन्ध स्थापित गरेको छ । 

अर्थतन्त्रमा अस्तित्वमा रहेका र समाजमा माग भएका सबै क्षेत्र बीचको अन्तर निर्भरतामा मात्र सबै खाले व्यवसायको सफलता दिगो हुने भएकाले नै यस्तो सम्बन्धको महत्त्व दिन प्रतिदिन बढ्दो छ । 

यिनै परिप्रेक्ष्यमा बैंकहरू पनि परम्परागत बैंकिङ सेवा तथा सुविधामा मात्र सीमित नरही आफ्नो दायरालाई समाजका अन्य क्षेत्रसम्म फैलाउन बाध्य भएका छन् । यही बैंक र अन्य सबै पक्षबीचको गहिरो अन्तरसम्बन्धलाई बुझाउन ‘बैंकिङ परितन्त्र’ (बैंकिङ इकोसिस्टम) शब्दावलीको प्रयोग हुन्छ । 

भारतको आइडिया र आईएनजी बैंकको उदाहरण लिने हो भने यिनले अहिले ग्राहकलाई नगद प्रवाह विश्लेषणदेखि लिएर उठाउनुपर्ने रकमको व्यवस्थापनसम्मको सेवा दिएर आफ्नो परितन्त्रलाई प्रभावकारी बनाएका छन् ।

बैंकिङ क्षेत्र मात्र होइन, समाजमा भिन्न खाले सेवा प्रदान गर्ने अन्य धेरै सेवाप्रदायकहरूले समेत अनेक क्षेत्रलाई समेट्ने गरी आफ्नो सेवाको पहुँच बढाएका उदाहरण बग्रेल्ती भेटिन्छन् । 

यस्तै खाले सेवाप्रदायकहरूमध्येमा ‘अमेजन’ पनि पर्छ । शुरूमा ई–कमर्श प्लेटफर्मको रूपमा स्थापना भएको यसले पछि बिस्तारै भौतिक रूपमा नै अस्तित्वमा रहेको होल फुड, अमेजन गो, जस्ता सेवाप्रदायक कम्पनीहरू पनि प्राप्त गरी आप्mनो परितन्त्रलाई विस्तार गरेको छ ।

१९२४ देखि नै कार उत्पादन गर्दै आएको ‘डेम्लर’ कम्पनी अहिले ‘माई ट्याक्सी’ नामक एप मार्फत लाखौं ट्याक्सीका मध्यमबाट करोडौं व्यक्तिलाई ट्याक्सी सेवासमेत प्रदान गरिरहेको छ ।

त्यस्तै प्रकारको परितन्त्र ‘अलिबाबा’ले पनि विकास गरेको छ । ५० करोडभन्दा बढी ग्राहक रहेको यो मञ्चबाट अमेजनबाट जस्तै भुक्तानी गर्ने, वित्तीय सेवा लिने, यात्रा गर्नेजस्ता धेरै प्रकारका सेवा उपभोग गर्न सकिन्छ ।

त्यस्तै ‘स्टारबक्स’ अहिले कफी मात्र बेच्दैन, बरु एप्पल र सामसङजस्ता मोबाइल कम्पनीहरूसँगको सहकार्यमा तिनीहरूका लागि भुक्तानी सेवा प्रदान गर्ने एप मार्फत आफ्नो कारोबारको दायरालाई असीमित बनाउने दौडमा पनि ऊ छ ।

विश्व प्रसिद्ध संस्था ‘केपीएमजी’ले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार त सन् २०३० सम्ममा विश्वका बैंकहरूको भूमिका अहिलेको तुलनामा ३६० कोणमा नै परिवर्तन हुँदै छ । उसको चेतावनी छ –यदि यस खालको परितन्त्रमा आफूलाई फराकिलो रूपमा समावेश गर्न नसक्ने हो भने कुनै पनि बैंकले आफ्नो अस्तित्व जोगाउन ठूलै संघर्ष गर्नुपर्ने हुन सक्छ । 

शायद यही भएर हुनुपर्छ– इटालीमा पोस्ट बैंकले आफूलाई सबैभन्दा ठूलो मोबाइल फोन सेवाप्रदायकका रूपमा स्थापित गरिसकेको छ । जीवन, स्वास्थ्य तथा दुर्घटना बीमाजस्ता अतिरिक्त सेवासँग बैंकिङलाई आबद्ध गराउने बैंकहरू त विश्वमा कति छन् कति ।

विभिन्न सेवाप्रदायकको सेवालाई तुलनात्मक रूपमा अध्ययन गरी उपयुक्त र आफू सुहाउँदो सेवाको छनोट गर्न सक्ने सहुलियत बैंकिङ परितन्त्रले आम सर्वसाधारणलाई उपलब्ध गराउँछ ।

नेपालकै सन्दर्भमा कुरा गर्दा पनि अहिले कतिपय बैंकिङ एपहरूले भिन्न किसिमका सेवाप्रदायकलाई एउटै मञ्चमा समावेश गराएर ग्राहकलाई आफ्नो छनोटको सेवाको पहिचान, प्राप्ति र भुक्तानी समेतको सुविधा दिएको पाइन्छ । यसलाई भ्यालु चेनका रूपमा पनि बुझ्न सकिन्छ । 

कमन वेल्थ बैंकको उदाहरणलाई हेर्ने हो भने उसले सरकारी निकायहरूले प्रदान गर्ने सेवादेखि लिएर घरजग्गा व्यवसायी, यातायात सञ्चालक, दूरसञ्चार प्रदायक, भूगोलको जानकारी तथा खाद्य उद्योग सम्बन्धी सेवाहरू समेत प्राप्त गर्न र भुक्तानी गर्न एउटै एप मार्फत सहजीकरण गरिरहेको छ । यस अर्थमा बैंकिङ परितन्त्र अन्तर्गत बैंकहरू आफैले घ्यू तथा साबुन नबेचे पनि ती दुवै किन्ने ग्राहकलाई साझा चौतारी मार्फत सहज खरीदको लागि बाटो खुलाउने काम गरिरेहेको हुन्छ भन्न सकिन्छ ।
 
बैंकिङ परितन्त्रले ग्राहकलाई मात्र सहजीकरण गर्ने होइन, त्यो बैंक स्वयंका लागि पनि व्यवसाय विस्तार र विविधीकरणको प्रभावकारी कारक बन्न सक्छ ।

सर्वप्रथम यसले ग्राहक खोज्ने झन्झटिलो काममा हुने खर्चमा कटौती गर्छ । भिन्नभिन्न निकायले प्रदान गर्ने सेवा तथा वस्तु एकै ठाउँमा पाइने सुविधाले बैंकहरूले पनि अन्य सेवाका उपभोक्तालाई ग्राहकका रूपमा भित्र्याउने अवसर पाउँछन् ।

साथै, आपसी सञ्जाल मार्फत प्राप्त हुने ग्राहकसँग सम्बद्ध तथ्यांकसँगको विस्तारित पहुँचका आधारमा ग्राहककेन्द्रित रणनीति विकास गर्न पनि यो सहयोगी हुन्छ । परिणामस्वरूप बैंकहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गराउनुका साथै आम्दानीका नयाँनयाँ स्रोतको पहिचान गर्ने साधनका रूपमा समेत यो परितन्त्रलाई उपयोग गर्न सकिने नै भयो । 

आम ग्राहकका तर्फबाट हेर्दा जसरी ‘टेन्सेन्ट’को ‘वि च्याट’ले सन्देश आदानप्रदानका अतिरिक्त, भुक्तानी गर्ने, यातायातका साधन रोज्ने, लगानी गर्ने, लगायत अनेकौं सुविधा एउटै मञ्चबाट उपलब्ध गराउँछ, त्यसैगरी बैंकिङ परितन्त्रले पनि त्यस्ता बहुरूपी सेवाको मागमा हुने घर्षणलाई न्यून गराई सबैलाई छिटो तथा प्रभावकारी सेवा प्राप्त गर्न सहयोग पुग्ने कुरा पनि निर्विवाद छ । 

हरेक परितन्त्रमा जस्तै बैंकिङ परितन्त्रमा पनि तीन पक्ष हुन्छन्– परितन्त्र निर्माता (बिल्डर), परितन्त्र परिचालक (अर्केस्ट्रेटर) र सहभागी । 

नेपालमा विभिन्न बैंक तथा उद्यमले निर्माताको रूपमा शुरू गरेका दराज, ई–सेवा, प्रभु पे, आईएमई पे, खल्तीजस्ता भुक्तानी प्रदायकले ‘परिचालक’का रूपमा सञ्चालन गरेका भिन्न परितन्त्रहरूलाई चलचित्र भवन, विद्युत् प्राधिकरण, बैंक, हवाई सेवा कम्पनीहरू, लगायत धेरै ‘सहभागी’हरूले साथ दिएका छन् । यी परितन्त्रको दायरालाई अलिक फराकिलो बनाउने हो भने त्यसलाई एक भरपर्दो र सक्षम बैंकिङ परितन्त्रका रूपमा समेत विकास गर्न सकिने थियो ।

विश्व भुक्तानी सम्बन्धी हालै सार्वजनिक एक प्रतिवेदनमा उल्लेख भएअनुसार कुनै पनि बैंकको दीर्घकालीन दिगो सफलता उसले बैंकिङ परितन्त्रप्रति देखाउने सक्रियतामा निर्भर रहन्छ । यदि यो कुरालाई आधार मान्ने हो भने बैंकहरूले आफ्नो अस्तित्व रक्षाका लागि भरपर्दो बैंकिङ परितन्त्रमा सक्रिय भूमिका खेल्नु अनिवार्य भइसकेको छ ।

लेखक बैङ्कर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्