arthik abhiyan
ad banner

लगानी सम्भाव्यताको खोजीमा सिद्धार्थनगर नगरपालिका

Oct 2, 2019 
विकास
NA


रूपन्देही । रूपन्देहीको सिद्धार्थ नगरपालिकाले लगानी सम्भाव्यता पहिचान गर्न विभिन्न क्षेत्रसँग छलफल थालेको छ । जर्मन सरकारको सहयोगमा सञ्चालित संस्था जीआईजेड र नगरपालिकाको संयुक्त पहलमा लगानीका सम्भाव्यता खोजी गर्न सामूहिक छलफल थालिएको हो । 

जीआईजेडले नगरभित्र सम्भाव्यता खोजी गर्न प्राविधिक सहयोग गर्नेछ । यसअघि नगरपालिकामा एडीबीको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालित छ । सम्भाव्यता पहिचानका लागि पहिलो चरणमा नगरक्षेत्रका अगुवासँग छलफल गरिएको छ । 

भैरहवा क्षेत्रमा समूहगत रूपमा छलफल गरी कृषि, पर्यटन, उद्योग–व्यवसाय, रोजगारी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सुझाव संकलन गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । छलफलमा आएका सुझावलाई एकीकृत गरी दीर्घकालीन लगानीको क्षेत्र पहिचान गरिने नगरपालिकाले बताएको छ । समूहगत छलफलमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने र प्राडा गीतु गिरीको समूहले नगरमा शिक्षा, पर्यटन, सडक, पार्क लगायतको विकास तथा प्रवद्र्धनका लागि विभिन्न सुझाव दिएको छ ।

यस्तै, उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी र प्राडा कपिलदेव लामिछाने, शिक्षाविद् बालकृष्ण भट्टराई नेतृत्वको समूहले औद्योगिक क्षेत्रको पहिचान गर्नुपर्ने, कृषिफार्म, अग्र्यानिक खेती, पूर्वाधार विकास, पर्यटन विकास, साना तथा लघु उद्योगको प्रवद्र्धन गरेमा रोजगारी सृजना गर्न सकिने बताएको छ । डा. शम्भुकुमार गुप्ता नेतृत्वको समूहले आर्थिक विकासका लागि होटल सञ्चालनको वातावरण निर्माण गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, मनोरञ्जनस्थलको विकास गर्नुपर्ने, निर्यातमूलक उद्योग स्थापना र प्रोत्साहनमा जोड दिनुपर्ने, स्वास्थ्य र शिक्षालाई पर्यटन उद्योगसँग जोड्नुपर्ने, मुख्य शहरी क्षेत्रमा खुला स्थानको पहिचान गर्नुपर्ने, भित्री सडक फराकिला बनाई थप कालोपत्र गर्नुपर्ने लगायत सुझाव दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्