arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भेरी बबई कम्पनी ढाँचामा : कर्णाली सरकारको लगानी

Oct 2, 2019  
विकास
NA


काठमाडौं । सरकारले बहुउद्देश्यीय भेरी बबई डाइभर्शन आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाई नेपाली जनताको लगानीसमेत सुरक्षित गर्ने भएको छ । सुर्खेत र बर्दियामा पर्ने सो आयोजनाको कुल १२ दशमलव २ किलोमिटर लामो सुरुङ निर्माण भइसकेको छ । 

सोमवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले आयोजनामा संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय सरकारको समेत लगानी रहनेगरी कम्पनी स्थापना गर्ने निर्णय गरेको हो । कम्पनीको प्रबन्धपत्र तथा अन्य तयारी सकेर केही दिनभित्रै कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्ने तयारी गरिएको छ । 

बैठकको निर्णय अनुसार उक्त कम्पनीमा तीनओटै सरकारको ५१ प्रतिशत र स्थानीय सहित आम नेपाली नागरिकको ४९ प्रतिशत शेयर रहनेछ । सरकारले उक्त आयोजनालाई ‘जनताको जलविद्युत् कार्यक्रममा’ समेत समावेश गरिसकेको छ । कम्पनीमा संघीय सरकारको २६ प्रतिशत, कर्णाली प्रदेश सरकारको २० प्रतिशत र स्थानीय सरकारको ५ प्रतिशत शेयर स्वामित्व रहने मन्त्री पुनले बताए । 

यसैगरी आयोजना रहने कर्णाली प्रदेशका नागरिकको १० प्रतिशत, आयोजना प्रभावित क्षेत्रका १० प्रतिशत र आम नेपालीको २९ प्रतिशत शेयर हुनेगरी लगानी ढाँचाको प्रस्ताव गरिएको छ । धेरैले असम्भव ठानेको र मानेको आयोजनामा टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरी तोकिएको समयभन्दा पहिल्यै सुरुङ निर्माण सम्पन्न गरिएको हो । आयोजनालाई नयाँ गति दिनेगरी निर्णय भएको र त्यसमा तीनओटै सरकार र स्थानीयवासीको समेत अधिकार स्थापित गरिएको मन्त्री पुनको भनाइ छ । ‘जनताको जलविद्युत्’ कार्यक्रमको समेत समन्वय गरिरहेको हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार मन्त्रीस्तरीय निर्णयका आधारमा अब कम्पनी स्थापना हुने र सोही कम्पनीले आयोजना अगाडि बढाउनेछ । 
आयोजनाको सुरुङमार्ग निर्माण गत चैत अन्तिम साता सम्पन्न भएको हो । डेढ वर्षमै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामा समेत टीबीएमको प्रयोग गर्नेबारे प्रक्रिया अगाडि बढाइएको छ । 

सरकारले चालू आवको बजेटमा समेत भेरी नदीलाई बबईमा स्थानान्तरण गर्ने आयोजनाका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । आयोजनाको बाँध तथा विद्युत् निर्माण प्रक्रिया अगाडि बढाउने गरी गत साउनमा रमण कन्स्ट्रक्शन र चीनको क्वाङ्तोन–युनाटियन कम्पनीलाई जिम्मा दिइएको छ । 

आयोजना प्रमुख सञ्जीव बरालका अनुसार विद्युत्गृह र बाँध निर्माणका लागि जिम्मा लिएको निर्माण व्यवसायी आयोजना स्थलमा परिचालित हुने क्रममा छ । हाल आयोजना स्थलमा आवास गृह निर्माण, उपकरण खरीद तथा व्यवस्थापन लगायत काम भइरहेको छ । ठेकेदार कम्पनी र आयोजनाबीच रू. ६ अर्ब १६ करोडमा बाँधस्थल र विद्युत्गृह निर्माणको सम्झौता भएको छ । 

आयोजनाको सुरुङ निर्माणको काम चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूप (कोभेक)ले १ वर्षअघि नै सम्पन्न गरेको हो । उक्त आयोजनाबाट बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । यस्तै आयोजनाबाट ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य समेत छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्