arthik abhiyan
ad banner

निजी विद्यालयमा संस्कृत भाषाको पुनर्जागरण

Oct 3, 2019 
शिक्षा
Image Not Found
author avatar दुर्गा लामिछाने

काठमाडौं  । २०५२ सालमा शुरू भएको माओवादी युद्धले विद्यालय शिक्षामा रहेको ५० पूर्णांकको संस्कृत भाषा पनि बन्द गराएपछि नेपालको साधारण शिक्षाबाट संस्कृत भाषाको अध्ययन अध्यापन हरायो । संस्कृत कामकाजको नभई धर्म र कर्मकाण्डमा मात्रै प्रयोग गरिएका कारण यसलाई जोगाउनुपर्ने धारणा आम मानिसबाट हट्दै गएको पनि थियो । त्यसैले माओवादी युद्धबाट शान्ति प्रक्रियामा आएर माओवादी नेताहरू धार्मिक कार्यक्रममा सहभागी हुन थालिसके पनि सामुदायिक विद्यालयबाट हटाइएको संस्कृत विषय पुनःस्थापित गर्नु कसैको चासो बन्न सकेन । 

संस्कृत हाईस्कूलका रूपमा चलेका विद्यालयहरू पनि सरकारले संस्कृत शिक्षक उपलब्ध गराउन नसक्दा साधारण हाईस्कूलमा रूपान्तरण हुँदै गएको संस्कृतको पुनर्जागरणमा सक्रिय जयतु संस्कृतम्का सदस्य सचिव डा. नवराज कट्टेलले बताए ।  पाठ्यक्रम विकास केन्द्रले अहिले पनि कक्षा ६ देखि १० सम्मका लागि संस्कृत विषयको पाठ्यक्रम तयार गर्दै आएको छ । तर विद्यालयमा संस्कृत र कम्प्युटर साइन्स विषय वैकल्पिकमा राखिएका कारण कम्प्युटर साइन्स छाडेर संस्कृत पढ्न विद्यार्थीले नचाहने भएकाले सामुदायिक विद्यालयमा संस्कृत भाषाको पठनपाठन लगभग शून्य छ । यसबाहेक अहिले संस्कृत भाषा सरकारी तवरबाट गुरुकुल विद्यालयका साथै केही विद्यापीठहरूमा मूल भाषाका रूपमा मात्रै पढाइँदै आएको छ ।  

निजी विद्यालयको पहल
३ वर्षअघि काठमाडौं उपत्यकाका केही निजी विद्यालयले आप्mनो पाठ्यक्रममा संस्कृत भाषा पनि राख्ने निर्णय गरे । यसमा जयतु संस्कृतम् जस्ता केही संस्था तथा संस्कृत भाषाको संरक्षण गर्नुपर्छ भन्ने मान्यता राख्नेहरूको महŒवपूर्ण भूमिका थियो । मूल भाषाका रूपमा अंग्रेजी पढाउने निजी विद्यालयहरूले राष्ट्रिय भाषा नेपालीप्रति बेवास्ता गरेको भन्ने आरोप लाग्ने गरेको छ । सोही आरोपलाई खण्डन गर्ने र नेपाली भाषामा विद्यार्थीको पकड राम्रो बनाउने उद्देश्यले निजी विद्यालयहरूले संस्कृत पढाउन शुरू गरेका हुन् । 

जसरी निजी विद्यालयहरूले अंग्रेजी भाषा पढाएर सामुदायिक विद्यालयलाई पनि अंग्रेजी पढाउन बाध्य पारे, त्यसैगरी संस्कृतमा पनि बाध्य पार्ने प्रयास थालिएको जयतु संस्कृतम्का सदस्य सचिव कट्टेलको भनाइ छ । हाल करीब ४० निजी विद्यालयले संस्कृत पढाइरहेको उनले बताए । ‘पछिल्लो जानकारी अनुसार करीब ४० विद्यालयले आप्mनो शैक्षिक कार्यक्रममा संस्कृत समावेश गरेको खबर छ,’ उनले भने, ‘यसमध्ये कसैले पाठ्यक्रम नै लागू गरेर पूर्णांकमा जोड्नेगरी त कसैले पूर्णांकमा नजोड्नेगरी अन्य विभिन्न तरीकाबाट संस्कृत भाषा पढाइरहेका छन् ।’ संस्कृत विषयप्रति निजी विद्यालयको आकर्षण काठमाडौं उपत्यकामा बढी रहे पनि विस्तारै बाहिर विस्तार हुने क्रममा छ । 

बाग्मती बोर्डिङ स्कूल, डीएभी स्कूल, रूपक मेमोरियल स्कूल, एपेक्स लाइफ स्कूल जस्ता केही निजी विद्यालयले संस्कृत भाषाको पठनपाठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । शुरूमा नेपाली बाहेकका मातृ भाषा बोल्ने परिवार तथा केही धर्म समुदायका अभिभावकले संस्कृत पढाउने विषयको विरोध गरे पनि कुरा बुझाएपछि सहमत भएको एपेक्स लाइफ स्कूलका कार्यकारी निर्देशक सुवास न्यौपानेले बताए । ‘बाहुन क्षेत्रीभन्दा भिन्न जातका अभिभावकले संस्कृत आप्mनो भाषाको मूल नभएकाले आप्mना बच्चालाई उक्त भाषाको सिकाइ कठिन हुने धारणा राख्नुभएको थियो भने केही धर्म मान्ने अभिभावकले हिन्दू धर्म सिकाउन लागेको भनेर विरोध गर्नुभएको थियो,’ न्यौपानेले भने, ‘हामीले धर्म सिकाउने उद्देश्यले नभई नेपाली र अन्य भाषाको पकड बलियो बन्ने भएकाले संस्कृत पढाउन लागेको बताएपछि उहाँहरू सहमत हुनुभयो ।’ 

एपेक्स लाइफले विगत ३ वर्षदेखि कक्षा २ देखि ७ सम्म एउटा ऐच्छिक विषय संस्कृत पढाउँदै आएको छ । यो भाषाको शिक्षणले नेपाली भाषामा विद्यार्थीको पकड राम्रो हुनुका साथै अंग्रेजीका कठिन शब्द पनि सजिलै उच्चारण गर्न सक्ने भएको न्यौपानेको अनुभव छ ।

त्यसैगरी कक्षा १ देखि ७ सम्म संस्कृत अध्यापन गराइरहेको काठमाडौंको पाणिनी स्कूलका प्रिन्सिपल एवं निजी विद्यालयहरूको संगठन एनप्याब्सनका पूर्वअध्यक्ष कर्णबहादुर शाही पनि संस्कृत भाषाको शिक्षणले विद्यार्थीमा नेपाली भाषाको दखल बढेको बताउँछन् । ‘संस्कृत भाषामा निजीक्षेत्रले दिए जति पनि चासो सरकारले दिएन,’ उनले भने, ‘यसले गर्दा कक्षा ७ सम्म संस्कृत पढाए पनि कक्षा ८ देखि संस्कृत हटाउन बाध्य हुनुपरेको छ ।’

 संस्कृत शुरूमा अप्ठ्यारो लागे पनि लय हालेर श्लोक वाचन गर्दा बालबालिकाले अंग्रेजीको रायम्स जत्तिकै रमाइलो मान्ने गरेको विद्यालयहरूको अनुभव छ । निजी विद्यालयमा थालिएको संस्कृत भाषा शिक्षणको समीक्षा गर्न गएको असारमा एक कार्यक्रमको आयोजना भएको थियो, जसमा संस्कृत भाषाको अध्ययनले विद्यार्थीमा नेपालीका साथै अंग्रेजी भाषाको पनि शुद्धतामा वृद्धि भएको, अनुशासन तथा सद्व्यवहार विकास भएको जस्ता अनुभव सम्बन्धित विद्यालयले सुनाएको जयतु संस्कृतम्का सदस्य सचिव कट्टेलले बताए । 

यिनै स–साना उदाहरण बाहेक विद्यालयले अहिलेसम्म संस्कृत भाषा शिक्षणका अन्य लाभहरू पहिचान गर्न सकेको देखिँदैन । त्यसैले नेपाली भाषा मासे भन्ने आरोपको खण्डन गर्न मात्रै नभई संस्कृत भाषाको वास्तविक लाभ बुझेर पढाउन सके निजी विद्यालयको संस्कृत भाषा शिक्षणको अभियान थप प्रभावकारी हुनेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्