arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘सुर्ती उद्यमीको प्रभाव र हस्तक्षेपले स्वास्थ्यमा गम्भीर असर’

Oct 4, 2019  
विविध
NA


काठमाडौं (अस) । नेपालमा सुर्ती उद्योगीको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण हुन नसकेको एक अध्ययनले देखाएको छ ।  प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले गरेको अध्ययनका अनुसार सुर्ती उद्यमीले विभिन्न नाममा ब्रान्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने र कानून कार्यान्वयनमा बाधा पुर्‍याउने गरेका छन् । यो अध्ययन नेपालसहित ३३ ओटा मुलुकमा गरिएको थियो । ३३ ओटा मुलुकमै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पहिलो पटक नेपालमा बिहीवार सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदन बिहीवार नै रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिको उपस्थितिमा स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीलाई हस्तान्तरण गरेका थिए ।

अध्ययन अनुसार नेपालमा उद्यमीले नीति निर्माण चरणमै नीति निर्मातालाई आर्थिक प्रलोभनमा पार्ने गरेका छन् । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन र नियमावली अनुसार सुर्तीबाट हुने हानि देखिने रंगीन चित्र सुर्तीको प्याकेटमा ९० प्रतिशत हालिएको छैन । 

प्रतिवेदन सार्वजनिक गर्दै रेस्फेकका कार्यकारी निर्देशक मुल्मीले सुर्ती उद्योगलाई उच्च करदाताको सम्मान दिएर राज्यले जनताको स्वास्थ्यमा खेलवाड गर्न प्रोत्साहन गरिरहेको बताए । अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालयले सुर्ती उद्यमीसँग गरेका छलफल र निर्णय पारदर्शी नहुनु हस्तक्षेपको नमूना भएको प्रतिवेदनमा उल्लेख छ ।
सुर्ती उद्योगको हस्तक्षेप न्यूनीकरण गर्न स्थानीय तह र सहायक जिल्ला अधिकारीलाई बढी जिम्मेवारी र शक्तिसम्पन्न बनाउनुपर्ने प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिध डा. जोस भेन्डेलरले सुर्ती प्याकेटमा पूरै ढाकिने गरी रंगीन चित्र राख्नुपर्ने र ब्रान्डको नाम सबभन्दा सानो अक्षर बनाउनतिर विश्वको ध्यान जानुपर्ने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्