arthik abhiyan
ad banner

वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि

Oct 13, 2019 
समाचार
Image Not Found
author avatar निकेश खत्री

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा धेरैको चासो केरुङ–काठमाडौं रेलमार्गमा छ । तर, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि रहेको तथ्य भने धेरैले चासो नदिएको पक्ष हो । उद्योग विभागको पछिल्लो तथ्यांकले देखाउँछ, नेपालमा चिनियाँ लगानी निरन्तर बढ्दो छ र असोजको दोस्रो सातासम्म चिनियाँ लगानीकर्ताहरूले कुल रू. १०४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरेका छन् । विस ५० र ६० को दशकमा नेपालमा वैदेशिक लगानीमा अगाडि रहेको दक्षिणी छिमेकी भारतबाट हालसम्म रू. ९४ अर्ब ३१ करोडको प्रतिबद्धता आएको छ ।

त्यसो त २०६२/६३ पछि क्रमसँग बढ्दै गएको चिनियाँ लगानी पछिल्लो ५ वर्षयता ≈वात्तै बढेको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्ममा रू. ७७ अर्ब २१ करोडको वैदेशिक लगानी चीनबाट आएको छ । सोही अवधिमा भारतीय वैदेशिक लगानी प्रतिबद्धता रू. ५० अर्ब बराबरको आएको छ । नेपालमा चिनियाँ लगानीकर्ताको आक्रामक उपस्थिति कस्तो छ भन्ने तथ्य चालू आवको पहिलो २ महीनाको वैदेशिक लगानीको तथ्यांकले नै देखाउँछ । विभागका अनुसार पहिलो २ महीनामा आएको कुल रू. १० अर्बभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ९० प्रतिशतभन्दा बढी चीनबाट आएको छ । यस अवधिमा उद्योग विभागमा रू. ९ अर्ब ४९ करोड लगानी प्रतिबद्धताका साथ चीनबाट ६३ ओटा उद्योग दर्ता भएका छन् । विदेशी लगानी अन्तर्गत विभागमा दर्ता भएका कुल ७० उद्योगमध्ये ६३ ओटा उद्योग चीनका छन् ।

शुरूका वर्षहरूमा साना र मझौला व्यवसाय तथा उद्योगमा आएको चिनियाँ लगानी पछिल्ला वर्षहरूमा ठूला उद्योग र ठूला पूर्वाधार आयोजनामा केन्द्रित हुन थालेको छ । चिनियाँ–नेपाली लगानीकर्ताको संयुक्त लगानी रहेको होङ्सी सिमेन्ट, हुवासिन सिमेन्ट, दमक औद्योगिक पार्क लगायत आयोजना यसका उदाहरण हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बन्ने यो औद्योगिक पार्कमा रू. ६५ अर्ब चिनियाँ लगानी हुँदै छ । लामो राजनीतिक संक्रमणपछि नेपालमा आएको राजनीतिक स्थायित्व, स्थिर सरकार र लगानी क्षेत्रमा भएको नीतिगत सुधारले लगानीको वातावरण बनेको विज्ञहरू बताउँछन् । खासगरी, लगानीका क्षेत्रमा रहेका विगतका झन्झटिला प्रक्रिया विस्तारै हट्दै जानु, लोडशेडिङको अन्त्य हुनु जस्ता पक्षले पनि नेपालमा चिनियाँ लगानीकर्ता आकर्षित भएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् ।

उद्योग विभागको तथ्यांक अनुसार चिनियाँहरूको रोजाइमा ऊर्जा पहिलो प्राथमिकतामा परेको छ जसमा हालसम्म रू. ४१ अर्ब ५४ करोडको लगानीको प्रतिबद्धता छ । त्यस्तै, पर्यटनमा रू. २० अर्ब ५७ करोड, सेवा क्षेत्रमा रू. १८ अर्ब, उत्पादनमूलक क्षेत्रमा रू. १२ अर्ब ४८ करोड, कृषिमा रू. ४ अर्ब ३४ करोड तथा खनिज क्षेत्रमा रू. ४ अर्ब ९९ करोडको प्रतिबद्धता हालसम्म आएको छ ।  

चिनियाँ पर्यटकको बढ्दो आवागमनलाई ध्यानमा राखेर चिनियाँ लगानीकर्ताले पर्यटन क्षेत्रमा लगानी बढाउँदै लगेको लगानी बोर्डका पूर्वकार्यकारी अधिकृत राधेश पन्त बताउँछन् ।  त्यसो त, चालू आवको पहिलो २ महीनामा चीनबाट सबैभन्दा बढी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमै आएको छ । उद्योग विभागको तथ्यांक अनुसार यस अवधिमा पर्यटन क्षेत्रमा मात्रै झन्डै साढे ५ अर्ब रुपैयाँको चिनियाँ लगानी प्रतिबद्धता आएको छ ।

चिनियाँ लगानीकर्ताबाट पर्यटन क्षेत्रमा गरिएको वैदेशिक लगानीको प्रतिबद्धता अधिकांश साना तथा मझौला होटल/रेस्टुराँका लागि छन्  । चिनियाँ लगानीकर्ताले रू. १० करोडदेखि रू. २५ करोडसम्मको लगानी गर्ने प्रतिबद्धता उद्योग विभागको तथ्यांकले देखाउँछ । होटल/रेस्टुराँका लागि चिनियाँ लगानीकर्ताले उद्योग विभागमा दर्ता गरेको २८ मध्ये २७ कम्पनीमा शतप्रतिशत चिनियाँ लगानीको प्रतिबद्धता गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्