arthik abhiyan
ad banner

चिनियाँ राष्ट्रपतिको भ्रमणले खोल्ने बाटो

Oct 13, 2019 
लेख | दृष्टिकोण
NA
author avatar रामप्रसाद गौतम

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई राष्ट्रिय पर्वका रूपमा हेर्नुपर्छ । बितेका दशकहरूमा चीनबाट नेपालमा राष्ट्रपतिस्तरीय भ्रमण भएको छैन । २ दशक अगाडिको चीन र आजको चीनको बीचमा ठूलो अन्तर छ । १ अक्टोबरका दिन चीनमा कम्युनिस्ट सरकार गठन भएको ७० औं वर्षगाँठ मनाइयो । त्यतिबेला चीनका २७ लाख जल, स्थल र हवाई सेनाको परेडमा देखिएको प्रबन्धन उच्च स्तरको थियो जसले त्यो देशको समग्र आर्थिक प्रगतिको झलक दिएको थियो ।

१ अक्टोबर १९४९का दिन चीनमा माओत्सेत्तुङले कम्युनिजमको स्थापना गर्दा विश्वकै गरीब चीन आज सरदरमा दोस्रो सम्पन्नशाली देश बनेको छ । आधुनिक प्रविधिमा अमेरिकालाई भेट्न आँटेको अनुमान गरिन्छ । यो संसारमा अधिक स्मरणयोग्य, कदरयोग्य, दर्शनयोग्य र ऐतिहासिक त्यो हुन्छ जुन आम अन्य चीजभन्दा फरक हुन्छ, विशिष्ट हुन्छ र दीर्घप्रभावी हुन्छ । सामान्य चीज स्मरणीय दर्शनीय हुँदैन । हेलीमा चढेर सगमाथाभन्दा कैयौं गुना माथि जानेभन्दा सगरमाथामा जानेको बढी महत्व हुन्छ । यसै अर्थमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुनु त्यस्तै अरू कसैको भ्रमण हुनुभन्दा फरक हो । चीनसँग नेपालले केही आशा र सम्भावनाका साथै पर्यटकस्रोत राष्ट्रका रूपमा पनि यसको प्रचारको अवसर पाएको छ ।

मध्यम, सरदर र निम्न व्यक्तिलाई कसैले लामो समय स्मरणमा राख्दैन । औसत भनेको जहिले पनि गुणगान गाउने समूहमात्र हो । सगमाथा, आइफिल टावर, दुबईको खलिफा भवन आदि उचाइकै कारण विश्वमा स्मरणीय छन् । जेफ बेजोस सबैभन्दा धनी भएको कारण, युधिष्ठिर सबैभन्दा सत्यवादी भएको कारण, देवकोटा अद्वितीय लेखक भएको कारण र सुकरात सबैभन्दा महान् दार्शनिक भएको कारण स्मरणीय छन् । त्यसैले इतिहासमा स्मरणीयताको निर्माण ठूलो व्यक्तिबाट हुने गर्छ । त्यसैले मकवानपुरका हेमकर्णको दरबारभन्दा गोरखाका राजा पृथ्वीनारायण शाहको दरबारको महत्ता हजारौं गुणा बढी स्मरणीय र दर्शनीय हुन्छ ।

चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणलाई नेपालले परम्परागत रूपमा स्वागत गर्ने, केही सम्भव परियोजनाहरूमा हस्ताक्षर गर्ने अवसरका रूपमा मात्र लिनु हुँदैन । ऐतिहासिक र चिरस्मरणीय कामका लागि उपयोग गर्न सके यस भ्रमणले नेपाललाई चिनियाँ पर्यटक वा विश्वका पर्यटक आउँदा स्मरण गर्न सक्नेछन् ।

पर्यटक त्यहाँ जान्छ जहाँ कुनै न कुनै रूपमा त्यो ठाउँ ऐतिहासिक हुन्छ, धार्मिक हुन्छ, कला र संस्कृतिले भरिएको हुन्छ । बेलायतमा एउटा निकायले विश्वका ठूलाठूला नेताहरूको शालिक बनाएर राखेको हुन्छ । त्यसमा किन खर्च गर्छ त ? जुन देशको नागरिक बेलायत घुम्न जान्छ उसले एक पटक आफ्नो देशका नेता हेर्न जान्छ । पर्यटक आगमनमा बढोत्तरी हुन्छ । गाडी, घोडा, ट्याक्सीले पैसा कमाउँछन् । पशुपतिनाथले लाखौं दर्शनार्थीको मनोभावलाई कृतार्थमात्र गर्दैनन् हजारौं फूल सामग्री कारोबारीले जीवकोपार्जन पनि गर्छन् ।

यस्तै कुनै चिज सी चिङफिङको भ्रमणबाट नेपालले बनाउन सक्नुपर्छ जसले गर्दा हजारांै चिनियाँ पर्यटनका लागि नेपालमा आकर्षित हुन सक्छन् । त्यो हेर्नका लागि मात्र भए पनि चिनियाँहरू यहाँ आऊन् । आज पनि कोही नेपाली चीनमा गएको छ भने अरनिकोले बनाएको प्यागोडा शैलीको गुम्बा हेर्न अवश्य जान्छ । नेपालमा पनि त्यस्तै दर्शनीय वस्तु वा स्थल बनाउन सके पर्यटनका लागि सकारात्मक योगदान दिनेछ ।

अहिले राष्ट्रपति आएको बेलामा एउटा यस्तो चिज सोच्न आवश्यक छ । यस्तो स्मारकको उद्घाटन गर्न लगाउन सकियो भने डेढ अर्ब चिनियाँहरूलाई कौतुहलताको कारक र कारण बन्न सक्छ । यसबारे धेरै सोच्नुपर्ने हुन सक्छ ।

चिनियाँ भाषा पढाउने तथा चिनियाँ प्रविधि, संस्कृति र व्यवस्थापन शैली सिकाउने कुनै फरक प्रकृतिको शिक्षालय खोल्न सकिन्छ । त्यसैगरी कुनै मोटर÷मोटर साइकल उद्योग खोल्न सकिन्छ । नेपाल, चीन र भारतका महत्वपूर्ण ऐतिहासिक घटना संग्रहालय खाल्न सकिन्छ । यस्ता वस्तु र स्थललाई चिनियाँहरूले हेर्नैपर्ने वस्तुका रूपमा महसूस गर्न सक्नेछन् ।

अमेरिकामा एउटा यस्तो पर्यटक स्थल बनेको छ जहाँ मानिस बल्ब हेर्न जान्छन् । कुनै चीम बढीमा २÷३ वर्ष बल्छ तर त्यहाँ एउटा बल्ब बितेको ११८ वर्षदेखि ननिभीकन बलिरहेको छ । यो अद्भुत बल्ब क्यालिफोर्नियाको एक दमकल केन्द्रमा सन् १९०१ मा पहिलोपटक जलाइएको थियो । त्यो मितिबाट अहिलेसम्म यो बल्ब बलिरहेको छ । यो बल्बलाई सेल्बी इलेक्ट्रिक कम्पनीले बनाएको हो । मिडिया रिर्पोटका अनुसार सन् १९३७ मा फेर्नका लागि केही क्षण बन्द गरिएको थियो । त्यसपछि अहिलेसम्म यो बलिरहेको छ । ४ बाटको पावरबाट चल्ने यो बल्बको शतवार्षिकी सन् २००१ मा धुमधामसँग मनाइएको थियो । अहिले पनि यो बल्बको दर्शन गरेमा आयु बढ्छ भनी हजारौं मानिसको भीड लाग्छ । एउटा बल्बले अहिले पर्यटक तानिरहेको छ ।

यी उदाहरणमात्र हुन्, तर हामीले विश्वमा सबैभन्दा धेरै व्यक्तिको शासकको आगमनलाई अवसरका रूपमा लिनुपर्छ । अवसर व्यावसायिकताले मात्र सृजना गर्छ भन्ने हुँदैन त्यसको महत्वले पनि धेरै प्रभाव पार्छ । हुन सक्छ उनको भ्रमणपछि नेपालमा भएको उच्चस्तरीय भ्रमण त्यतिबेला भएका सम्झौता आदि झल्काउने तस्वीरहरू मात्र देखाउने आर्टग्यालरी बनाएर पनि हामीले एउटा फरक अनुसन्धान केन्द्र बनाउन सक्छौं ।

के बुझ्न जरुरी छ भने इतिहास उचाइबाट लेखिन्छ, स्मरण उचाइको हुन्छ, त्यसैले आर्थिक र राजनीतिक लाभहानि मात्र न हेरेर सी चिङफिङको भ्रमणमा एउटा त्यस्तो अविस्मरणीय काम गरौं, जसका कारण नेपालमा प्रशस्त पर्यटक आऊन् । धेरै ठूला र धेरै खर्चको कुरा होइन । अब उप्रान्त नेपाल आउने राष्ट्रप्रमुखले मानवताका लागि गरेका उनका कामहरू विश्वका १०० भन्दा बढी भाषामा लेखेर नेटमा राख्ने पद्धतिको थालनी गरेर पनि हामीले विश्वको ध्यान हामीतर्फ आकर्षित गर्न सक्छौं ।

भोलि नेपालमा दर्जनौं ठूलाबडा असल मानिसहरू आउलान् । त्यसको भिन्दै इतिहास लेखौंला पढौंला तर आजको मितिमा चिनियाँ राष्ट्रपति जस्तो उच्च नेतृत्वको मानिस आएका छन् । यो अवसरलाई हामीले स्मरणयोग्य इतिहास बनाउन सक्नुपर्छ ।

लेखक कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्