arthik abhiyan
ad banner

सी भ्रमणको सफलता

Oct 14, 2019 
सम्पादकीय
NA


चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने औपचारिक नेपाल भ्रमण सफल रह्यो । यहाँ आएर उनले नेपालीहरूलाई असन्तुष्ट पार्ने वा चित्त नबुझ्ने कुरा गरेनन् । शालीन व्यवहार र थोरै शब्दमा आफ्नो सन्देश नेपालीलाई दिन उनी सफल रहे । चीनले चाहेको एक चीन नीतिप्रतिको समर्थन, सीमा सुरक्षाको चासो र बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपालको प्रतिबद्धता लिन पनि उनी सफल भए । यस अर्थमा उनको नेपाल भ्रमण सफल रह्यो । तर, नेपालले आन्तरिक तयारी राम्ररी नगरेकाले विश्वकै शक्तिशाली राष्ट्रपतिको भ्रमणबाट जेजति फाइदा लिन सक्थ्यो त्यति लिन भने सकेको देखिएन ।

चीनसँग नेपालको व्यापारघाटा विकराल समस्या बनेको छ । यस्तो घाटा प्रत्येक वर्ष बढ्दो छ । यस्तोमा नेपाली वस्तु तथा सेवाको निर्यातका लागि सहजीकरण गर्न दुवै देशका वाणिज्य सचिव नेतृत्वको स्थायी संयन्त्र गठन गर्न दुवै देश सहमत हुनु स्वागतयोग्य कदम हो । 

नेपाल चीनबीच भएका सम्झौता र भ्रमणपछि जारी संयुक्त वक्तव्यलाई हेर्दा नेपाललाई अप्ठ्यारो पार्ने खालका कुराहरू अहिले देखिएका छैनन् । नेपालले भन्दै आएको केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भनी नेपाली आकांक्षालाई यथावत् राखिएको छ । केरुङसँग जोड्न सुरुङ मार्ग बनाउने प्रक्रिया थाल्ने सम्झौता गरिएको छ । वास्तवमा सुरुङ मार्ग व्यावहारिक हो र नेपाललाई अहिले चाहिएको पनि यही नै हो । नेपालले चीनसँग सुपुर्दगी सन्धि गर्ने हल्ला चलेको थियो र यसमा विवाद पनि थियो तर सुपुर्दगी सन्धिको सट्टा कानूनी सहायताको आदानप्रदान सम्बन्धी व्यवस्था भनेर सम्झौता गरियो ।

अम्लीय फलको निर्यातका लागि फाइटोसेनिटरी जाँच सम्बन्धी सम्झौता पनि नेपालको पक्षमा देखिएको छ । यसबाट सुन्तला, कागती, निबुवा जस्ता फलफूूल निर्यातको ढोका थप खुलेको छ । चङ्तुमा महावाणिज्य दूतावास खोल्न चीनले दिएको स्वीकृति पनि नेपालको पक्षमा छ । अन्य विभिन्न विषयमा भएका समझदारीहरू पनि नेपालका लागि खासै आपत्तिजनक देखिएका छैनन् ।

सीको नेपाल भ्रमणका बेला नेपालमा चीन विरोधी गतिविधि पटक्कै हुन दिइएन । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ भनेर प्रमाणित गर्ने अवसर बन्यो यो भ्रमण । चीनलाई नेपालले यसबारे विश्वास दिलाउन सक्नु भ्रमणको सफलता नै हो । तर, यी सबै हुँदाहुँदै पनि नेपालले पर्याप्त तयारी नगरेकाले उठाउनु पर्ने विषयहरू उठ्न सकेनन् । हो, राष्ट्रपति सीको सवारी मार्ग सिँगार्न भने सरकार निकै सतर्क र सफल रह्यो । दूरदर्शी भएर तयारी गरेको चाहिँ देखिएन । सीको स्वागतका लागि जेजस्तो तयारी गरियो, अब अर्को कोही विदेशी राष्ट्र प्रमुख आए त्यही काम पूरै दोहोर्‍याएर गर्नुपर्ने गरी गरियो । नेपालले चीनबाट लिपुलेकबारे आफ्नो धारणा बोल्न लगाउन सक्नुपथ्र्यो । ताइवानलाई चीनको अभिन्न अंग मान्न नेपाल तयार भएको सन्दर्भमा लिपुलेकको चाहिँ कुरै नउठाउनु नेपालको कमजोरी नै हो । नेपालको उत्तरी सिमानाले चीनको सुरक्षाका लागि ठूलो काम गरेको छ । यदि चीनले यसको सुरक्षाका लागि खर्च गर्नुपर्ने हो भने अर्बौं रूपैयाँ खर्च गर्नुपर्ने हुन्छ । त्यसको दाँजोमा तीन वर्षका लागि दिइएको ५६ अर्बको सहयोग खासै ठूलो रकम होइन । नेपालले यस विषयमा चीनलाई राम्ररी बुझाउन सकेको भए योभन्दा बढी सहयोग पाउन सक्थ्यो ।

चीनसँग नेपालको व्यापारघाटा विकराल समस्या बनेको छ । यस्तो घाटा प्रत्येक वर्ष बढ्दो छ । यस्तोमा नेपाली वस्तु तथा सेवाको निर्यातका लागि सहजीकरण गर्न दुवै देशका वाणिज्य सचिव नेतृत्वको स्थायी संयन्त्र गठन गर्न दुवै देश सहमत हुनु स्वागतयोग्य कदम हो । 

तैपनि नेपाली बैंकहरूको ‘काउन्टर ग्यारेन्टी’मा फसेको रकम चीनको अदालतले आदेश दिएर पनि नेपालले पाउन सकेको छैन । यसलाई सानातिना समस्या भनेर टारिएको हो भने त्यो ठीक होइन । 

यस्तोमा सीको भ्रमणपछि चीनका विभिन्न निकायले नेपाली पक्षलाई कसरी व्यवहार गर्छन्, त्यसैले सीको भ्रमणको वास्तविक सफलताको मूल्यांकन हुनेछ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्