ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘काबेली बी वान’को उत्पादन शुरू

Oct 15, 2019  
प्रदेश ०१
Image Not Found
author avatar खविन लुइटेल

पाँचथर । पाँचथर र ताप्लेजुङको सिमानामा निर्माण गरिएको काबेली बी वान जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन शुरू गरेको छ । २५ मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य पूरा भएसँगै व्यावसायिक उत्पादन शुरू गरिएको हो । 

गत वर्ष नै निर्माण सम्पन्न गरिसक्नु पर्ने भएता पनि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न आवश्यक पर्ने कोरिडोर (काबेली करिडोर) निर्माणमा ढिलाइ हँुदा आयोजनाको निर्माण अवधिसमेत लम्बिएको थियो । झण्डै १५ दिनको परीक्षण उत्पादनपश्चात् गएको हप्तादेखि आयोजनाले नियमित उत्पादन थालेको हो । आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रमा बनाइरहेको काबेली करिडोरको निर्माण समेत केही महीना अगाडि मात्र भएको थियो । 

परीक्षण उत्पादनपश्चात् व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको आयोजनाको निर्माणको जिम्मा लिएको अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले जानकारी दिए । आयोजना निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत भने बढेको छ । ४ अर्ब रुपैयाँ लाग्ने भनिएको आयोजना निर्माण सम्पन्न हुँदासम्म ५ अर्ब रुपैयाँ लागत पुगेको न्यौपानेले जानकारी दिए । मूल्यवृद्धि, नाकाबन्दी तथा काबेली कोरिडोरको निर्माणमा ढिलाइले कर्मचारी, बैंकको ब्याज र अन्य क्षेत्रमा लागत बढेको उनले बताए । 

पाँचथरको थर्पू र ताप्लेजुङको थुम्वेदिन गाविसमा पर्ने इवा काबेली दोभानमा आयोजनाको ड्याम साइट निर्माण भएको छ । आयोजनाले ड्याम साइटबाट ४ हजार ८ सय मिटर लामो ४ डायमिटर गोलाइ भएको फलामको पाइपपाट पानी बगाएर पावर हाउससम्म पुर्‍याइएको छ । पूर्वी क्षेत्रमा पहिलोपल्ट ठूलो विद्युत् आयोजनाले सुरुङमार्फत नभई फलामको पाइपमार्फत ड्याम साइटबाट टर्वाइनसम्म पानी पुर्‍याएको हो । 

४३८ रोपनी क्षेत्रफलमा फैलिएको आयोजनाले प्रतिसेकेन्ड ३५ हजार लिटर पानीको सहायताले वर्षायाममा २५ मेवा र हिउँदमा १० मेवासम्म विद्युत् उत्पादन गर्नेछ । आयोजनाको ७० प्रतिशत लागत (रू. २८० करोड) बैंक तथा वित्तीय संस्थामार्फत र बाँकी ३० प्रतिशत लगानीकर्तामार्फत लगानी गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्