arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भ्रमण वर्ष र गुणस्तरीय पर्यटन

Oct 17, 2019 
लेख | दृष्टिकोण
NA
author avatar अचुतकुमार ओझा

नेपाल भ्रमण वर्ष २०२० पुस १५ बाट आरम्भ हुँदै छ । राष्ट्रिय अर्थतन्त्र र समृद्धिसँग जोडेर यसलाई विशेष चासोका साथ हेरिएको छ । यसमा हामी सबै नेपालीले साथ दिनुपर्ने देखिन्छ । देशमा भएको सुन्दरता र सम्भावनालाई आकर्षक पर्यटकीय योजनाद्वारा प्रवर्द्धन गर्न सकियो भने वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने राज्यको लक्ष्य पूरा हुन सक्छ । एउटा पर्यटकले आतिथ्य, मुस्कानसहितको सेवा, सुलभ र सहज बसाइ, सुरक्षा र सुविधाको आश राखेको हुन्छ । भ्रमण वर्ष २०२० मनाउँदै गर्दा हामीले ढुक्कको साथ भन्न सक्नुपर्छ ‘तपाईंले खर्च गरेको भन्दा बढी नै सन्तुष्टि प्राप्त गर्न सक्नु हुनेछ ।’

‘अतिथि देवो भव’ अर्थात् पाहुना भगवान हुन् भनी आत्मीयताका साथ पर्यटकलाई स्वागत गर्ने संस्कार नेपालीहरूसँग छ । त्यसैले ट्रिप एडभाइजर र लोन्ली प्लानेट आदिले एकपटक पुग्नैपर्ने मुलुकका रूपमा नेपाललाई चिनाएका छन् । नेपालको भूबनोट, वातावरण, संस्कृति र संस्कारको वैभवले प्रत्येक विदेशीलाई एकपटक आएपछि पुनः नेपाल आउन लोभ्याइरहन्छ । हिमालको हिउँको चिसो, पहाडका थुम्काहरू र तराईका फाँट हेर्नको लागि केवल १/२ घण्टाको यात्राबाट नै सम्भव हुने विश्वको अत्यन्त थोरै मुलुकमध्ये नेपाल एउटा हो । ‘चार जात छत्तीस वर्ण’को फूलबारी नेपालको सदियौं पुरानो कला, संस्कार र संस्कृतिले समेत सबैलाई अचम्मित बनाइदिएको छ । 

बुद्ध जन्मिएको भूमि भएकाले बौद्ध धर्मावलम्बीहरूका लागि जन्मेपछि पुग्नैपर्ने गन्तव्य हो, लुम्बिनी । विश्वमा रहेका करीब १ अर्ब ५० करोड बौद्धमार्गीहरू सबैभन्दा पवित्र स्थल लुम्बिनी यात्रा महत्त्वपूर्ण मान्छन् । 

विश्वभरिका हिन्दूहरूका लागि पनि नेपाल धार्मिक गन्तव्य हो । भारतीय प्रधानमन्त्री मोदीले भने जस्तै सबै अपसोचबाट मुक्ति दिन सक्ने मुक्तिनाथ, स्वर्गीय आनन्द दिन सक्ने स्वर्गद्वारी, पाथीभारा, मनकामना माता, रामजानकी मन्दिर जस्ता थुप्रै ईश्वरीय बास रहेको यो अद्भुत धर्ती हो, नेपाल । 

प्रकृतिमा रमाउन चाहनेका लागि अनुपम भूमि हो, नेपाल । पर्याप्त हरियाली, वन्यजन्तु, खोलानाला, हिमाल, झरना, पहाड र तराईका फाँटहरूले सबैलाई आनन्दित बनाइदिन्छ । यही देशले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा काखमा बोकेर बसेको छ । संसारको सबैभन्दा साहसिक अन्नपूर्ण पदमार्गले सिँगारिएको छ । 

प्रकृतिले जति नै सुन्दर बनाएको भए पनि पूर्वाधारविना पर्यटनको विकास सम्भव हुँदैन । सानातिना पूर्वाधार निजीक्षेत्रले बनाए पनि ठूला पूर्वाधारमा सरकारको लगानी आवश्यक हुन्छ । हो, केही क्षेत्रमा सरकारले लगानी गरिरहेको छ तर त्यो पर्याप्त छैन । खासगरी यातायात पूर्वाधारको निर्माण पर्याप्त छैन । विमानस्थल र विमान सेवा पनि पर्याप्त छैनन् । जहाँ यी सुविधा छन् ती क्षेत्रमा निजीक्षेत्रले विभिन्न पर्यटकीय सेवाहरू उपलब्ध गराइरहेको छ । ती क्षेत्रमा पर्यटक पनि प्रशस्त मात्रामा पुगिरहेका छन् । तर, सरकारले पूर्वाधार निर्माणलाई तीव्रता नदिँदा नेपाली पर्यटनमा सम्भावना भएर पनि विविधीकरण हुन सकेको छैन । 

नेपाल भ्रमण वर्ष २०२०’ एक उत्सवका मात्र नभई राष्ट्रिय आर्थिक एजेन्डा पनि हो । विश्वको पर्यटन विकास दर मात्र ६ प्रतिशत छ भने नेपालको २० प्रतिशतभन्दा बढी छ । भ्रमण वर्षबाट नेपालको पर्यटनलाई विस्तार गर्न सकिन्छ । 

नेपालमा पर्यटनका अथाह सम्भावना छ । तर, आफूसँग भएको स्रोतसाधनलाई परिचालन गर्न सकिएको छैन । राम्ररी नीति बनाएर र पर्याप्त पूर्वाधार बनाएर सही रणनीति लिने हो भने २० लाख पर्यटक नेपालका लागि असम्भ्भव होइन । 

भ्रमण वर्ष सफल बनाउन प्रायः सबै प्रदेशले तयारी पनि गरेको पाइन्छ । भ्रमण वर्षलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशमा पाँचदिने र्‍याफ्टिङ र फिसिङका लागि अध्ययन र अनुसन्धान हुन लागेको छ । मुस्ताङ, मार्फा र कालीगण्डकी पर्यटन प्रवद्र्धनका नयाँ क्षेत्र हुन् । प्रदेश ३ मा धार्मिक र सांस्कृतिक महत्त्वका सम्पदाहरूबाट धार्मिक पर्यटकहरू भित्र्याउने तयारी भइरहेको छ । विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुरमा धार्मिक र सांस्कृतिक पर्यटनको अथाह सम्भावना छ । 

नेपाल सरकारले पर्यटन वर्ष २०२० का लागि उत्कृष्ट एक सय गन्तव्य चयन गरेर त्यसको पूर्वाधार विकासमा लागि परेको छ । देश भित्रिएका पाहुना स्वागतका लागि उत्कृष्ट सेवासहित १४ ओटा पाँचतारे होटल सञ्चालनमा छन् । अन्य स्तरीय होटल तथा रिसोर्टहरूको समेत व्यवस्था छ । स्थानीय कला संस्कृति र स्वादिष्ट परिकारको स्वादमा सेवा गर्न पारिवारिक वातावरणमा होमस्टेको राम्रो प्रबन्ध मिलाइएको छ । होमस्टेमा मात्र होइन, तारे होटलहरूमा समेत नेपाली स्वादका परिकार पाहुना स्वागतमा अनिवार्य व्यवस्था गरिएको छ । विभिन्न पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसायी तथा राज्यले समेत आफ्ना सेवामा भ्रमण वर्षको उपलक्ष्यमा थप सुविधा, सहुलियत र छूट घोषणा गर्दै गरेको अवस्था छ ।

यी सबैले नेपाल भ्रमण वर्ष सफल हुन सक्ने देखिन्छ । तर, संख्यात्मक रूपमा पर्यटक भित्र्याउन सफलता मिले पनि गुणस्तरीय पर्यटनमा बढी जोड दिन आवश्यक छ । यसका लागि केही चुनौती छन् । तिनमा सुधार गर्नु आवश्यक देखिन्छ । 

नेपालका धेरैजसो होटलमा कम शैक्षिक योग्यता, कम व्यावसायिक दक्षता र व्यावसायिक लगाव कम भएका कर्मचारीको बाहुल्य छ । खासगरी दुर्गम स्थानका होटल तथा रिसोर्टहरूमा यस्तो अवस्था छ । उनीहरूलाई तालीम दिएर स्तरीय सेवा दिँदा गुणस्तरीय पर्यटक भित्र्याउन सहज हुन्छ । 

नेपालका होटलहरूको शुल्क अन्य देशमा भन्दा कम छ । सेवासुविधाका बारेमा सम्बद्ध निकायहरूबाट हुनुपर्ने नियमित अनुगमनमा नहुँदा एकरूपता छैन, गुणस्तर पनि कायम हुन सकेको छैन । पर्यटकको अपेक्षा, उनीहरूले खोजेको सेवा, दिनुपर्ने सेवा र गुणस्तरका बारेमा व्यवसायी वा कर्मचारीहरूलाई तालीम दिएर दक्ष बनाउन जरुरी छ । 

पर्यटकहरूलाई नेपालका विविध खाद्य परिकारहरूको स्वतन्त्र रूपमा स्वाद अनुभव गर्ने अवसर सृजना गर्न होटल, रेस्टुराँ तथा अन्य सेवाप्रदायकहरूले ती परिकारहरूको गुणस्तर र सरसफाइमा बढीभन्दा बढी ध्यान दिनुपर्ने देखिन्छ ।

नेपालका पर्यटकीय गन्तव्यहरूमा सरसफाइ, पूर्वाधार, सुरक्षा, दिगोपन र आकर्षण व्यवस्थापनमा विभिन्न समस्या छन् । पर्यटकहरूको पहिलो प्राथमिकतामा परेका काठमाडौं, पोखरा, चितवन, अन्नपूर्ण र सगरमाथा पदयात्रा र लुम्बिनीमा वातावरणीय समस्या छ । प्रदूषण र फोहारले गर्दा नकारात्मक सन्देश गएको पनि छ । 

यी पक्षमा ध्यान दिए भ्रमण वर्षमा मात्र होइन, त्यसपछि पनि पर्यटक आगमनको संख्या बढाउन सकिन्छ र गुणस्तरीय पर्यटन पनि सम्भव देखिन्छ । 

लेखक नेपाल टेलिकमका कार्यरत छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्