arthik abhiyan
ad banner

विद्यार्थीहरुको व्यक्तित्व विकास गर्न १५ औं राष्ट्रिय सम्मेलन शुरु हुँदै

Oct 18, 2019 
शिक्षा
Image Not Found
author avatar अभियान संवाददाता

कार्तिक १, काठमाडौं । क्वेष्ट नेपाल (क्वालिटि सर्कल्स इनएजुकेशन फर स्टुडेण्ट्स पर्सनालिटी डेभलपमेण्ट नेपाल)ले कात्तिक २ गतेदेखि विद्यार्थीहरुको गुणीय चक्रको १५ औं राष्ट्रिय अधिवेशन गर्दैछ । विद्यार्थीहरुको व्यक्तित्व विकासमा केन्द्रित तीन दिने उक्त सम्मेलन कात्तिक ४ गतेसम्म ललितपूर, जावलाखेल स्थित डिएभी सुशील केडिया विश्व भारती स्कूलमा हुने भएको हो । 

क्वेष्ट नेपालका अध्यक्ष राजकुमार मर्हजनका अनुसार हरेक वर्ष देशव्यापि रुपमा क्वेष्ट नेपालले विद्यार्थीहरुको गुणीय चक्रप्रवर्द्धनका लागि स्थानिय सम्मेलन र क्षेत्रीय सम्मेलन पछि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गरेको छ । यस वर्ष देश भरीका २४ ओटा हबहरुवाट छानिएका विद्यार्थी प्रतिनिधिहरुले विद्यार्थीहरुको गुणिय चक्रको कार्य प्रतिवेदनको प्रस्तुतीकरण गर्ने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

राष्ट्रिय सम्मेलनमा विद्यार्थीहरुले आफ्नोे गुणिय चक्रमार्फत ६ महीना लगाएर गरेको कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्ने आयोजकले बताएको छ । आयोजकका अनुसार यस प्रस्तुतीमा उनीहरुले कसरी समस्याको पहिचान, विश्लेषण र समाधान गरे र उनीहरुले आफ्नो व्यक्तित्व विकास तथा विद्यार्थीहरुको गुणीय चक्रबाट अन्य फाइदाहरु के के पाए भन्ने कुराहरु दर्शाउने छन् । सम्मेलनमा विद्यार्थीहरुले अन्य गतिविधिहरुमा पनि भाग लिन पाउने छन् । जस्तै : कोलावोरेटिभ कोलाज, चित्रकला, कथा लेखन, हिज्जे प्रतियोगिता, क्वालिटि हाजिरी जवाफ, प्यानल डिस्कसन, मनशा स्मृति सर्व गुणीय व्यक्ति अवार्ड कार्यक्रममा सहभागि हुनेछन् ।

यसको अलावा विद्यार्थीहरुले विज्ञान सम्वन्धी कार्यशाला, स्किट फर्मेसन, मोडल मेकिङ, स्पोकन वर्ड पोइट्रि, फोटोग्राफी, एस क्यू सी खेल तथा गीत, समूहकार्य, जुम्बा नृत्य, योग तथा ध्यान आदि कार्यक्रमहरुमा समेत सहभागी बनी जीवन जिउने कला सिक्नेछन् । यस सम्मेलनमा सहभागी विद्यार्थीहरुको हौसलाका लागि अमेरिका, बंगलादेश, र भारतबाट अन्तरराष्ट्रिय पाहुनाहरुको समेत सहभागिता रहने बताइएको छ । 

सम्मेलनमा झापा, सुनसरी, मोरङ, बारा, मकवानपुर, धनुषा, चितवन, नवलपुर, कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा, धनगढी, सुर्खेत, काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरबाट १ सय ४० विद्यालयका करीब १ हजार जनाको सहभागी रहने भएको छ । यसअन्तर्गत ६ सय जना छात्र आवासीय र ४ छात्रा रहेका छन् । यसबाहेक करीब २ सय जना पर्यवेक्षक, शिक्षक, शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविद्हरुले सहभागिता जनाउने आयोजकको बताएको छ । 

आयोजकका अनुसार विद्यार्थीहरुको गुणीय चक्र (एस.क्यू.सी.) विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने शैक्षिक कार्यक्रम हो । सन् १९९९ देखि देशका विभिन्न शैक्षिक संस्थाहरुमा एक नविनतम शैक्षिक क्रियाकलापको रुपमा भित्रिएको थियो भने सन् २००५ देखि हरेक बर्ष राष्ट्रिय सम्मेलनको आयोजना गरी नविनतम शैक्षिक अभियानको रुपमा अघि बढिरहेको आयोजकको भनाइ छ । 

क्वेष्ट नेपाल समान विचारधारा भएका शिक्षाविद्हरुद्वारा विद्यार्थीहरुको गुणीय चक्रको प्रचार र कार्यान्वयन गरी सार्थक सामाजिक, असल र चलाख विद्यार्थीहरु उत्पादनको लागि प्रशिक्षित गर्ने उद्देश्यका साथ स्थापना गरिएको एक स्वयम्सेवी संस्था हो । हाल २०० भन्दा बढि विद्यालयहरुमा सहायक पाठ्यक्रम तथा पाठ्यक्रमको रुपमा विद्यार्थीहरुको गुणीय चक्रको प्रशिक्षण तथा पठनपाठन भईहरेको छ ।

विद्यार्थीहरुको गुणीय चक्रको अवधारणालाई नेपालमा प्रो. दिनेश प्रसाद चापागाईँले सन् १९९९ मा भित्र्याउनु भएको आयोजकको भनाइ छ । विद्यार्थीहरुको गुणीय चक्रको अवधारणा सन् १९६२ देखि जापानको उद्योगमा बस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न लागू गरिएको गुणीय चक्रको अवधारणाबाट लिईएको हो । विद्यार्थीहरुको गुणीय चक्रविश्वका २५ भन्दा वढि देशहरुमा निकै लोकप्रिय भैरहेको आयोजकको दाबी छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्