arthik abhiyan
ad banner

वैदेशिक लगानी बढाउने आधार 

Oct 20, 2019 
लेख | दृष्टिकोण
NA
author avatar डा. दिवाकर बशिष्ठ

जलस्रोत, पर्यटन, यातयात, सूचना तथा संचार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधारमा वैदेशिक लगानी आवश्यक हुन्छ । नेपालमा पूर्वाधार विकास बैंकसेमत सञ्चालनमा आएको छ तापनि स्रोतसाधनको अभाव छ । नेपालको वित्तीय प्रणालीमा संरचनागत सुधार र आधुनिकीकरण विना पूर्वाधार विकासको कल्पना अधुरो हुन्छ । पूर्वाधारको विकासविना देशविकासको कल्पना गर्न सकिँदैन । राजनीतिक इच्छाशक्तिको कमी, आर्थिक स्रोतको कमी, समन्वय, योजना र दक्ष जनशक्तिको अभाव, निर्माण सामग्रीको अभाव तथा राजनीतिक नेतृत्वबाट हुने भ्रष्टाचारका कारण स्वदेशी तथा विदेशी लगानीकर्ता लगानी गर्ने मनस्थितिमा देखिँनन् । 

विभिन्न मुलुकहरूवाट भित्रिएको वैदेशिक लगानीले नेपाल जस्तो विकासोन्मुख मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । यसबाट नेपालको औद्योगिक विकास हुन्छ, रोजगारीको अवसर बढ्छ । उत्पादन र उत्पादकत्व बढ्छ । प्रतिस्पर्धात्पक क्षमतामा वृद्धि हुन्छ । अन्तरराष्ट्रिय बजारसम्मको पहुँच बढ्छ । वैदेशिक लगानीकै कारण अन्य देशले गरेको चामत्कारिक विकासबाट नेपालले शिक्षा लिनुपर्छ । लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताबाट लगानीका प्रतिबद्धता आएको छ । तर, सुशासन, पारदर्शिता, प्रतिस्पर्धा र असल व्यावसायिक अभ्यासको सुनिश्चितता छैन । सुशासनको सुनिश्चितता विना न त विदेशी लगानी भित्र्याउन सकिन्छ न त पन्ध्रौं योजनाले हालै परिलक्षित गरेका उद्देश्य नै पूरा गर्न सकिन्छ । आर्थिक उदारीकरणको नीति अवलम्बन गरिएपछि मात्र योजनाबद्ध रूपमा वैदेशिक लगानीको उपयोग गर्ने नीति लिइएको हो । 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ को व्यवस्थाअनुसार विदेशी लगानीकर्तालाई प्रदान गरिने सुविधा, भिसा व्यवस्था र विवादको समाधान सम्बन्धमा स्पष्ट व्यवस्था छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई समान व्यवहार गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । जल विद्युत्, उत्पादन, पर्यटन विकास, कृषि उत्पादन, शिक्षा तथा स्वास्थ्य, वित्तीय सेवा, सूचना प्रविधिसँग सम्बद्ध उद्योगहरूमा वैदेशिक लगानी प्रोत्साहित गरिएको छ । विदेश स्थित कूटनीतिक निकायलाई विदेशी लगानी आकर्षित गर्न परिचालन गर्ने, लगानी बोर्डको गठन लगायत कार्य हुदै आए तापनि उपलब्धि निराशाजनक रहेको छ । 

नेपालमा विदेशी लगानीका बाधक भ्रष्टाचार, असुरक्षा, झन्झटिलो कर्मचारीतन्त्र, अदक्ष कामदार, कमजोर पूर्वाधार र पारदर्शिताको अभाव आदि हुन् । तर, केही मात्रामा लगानी भने आइरहेको छ । नेपालमा जापान, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया, स्वीजरल्यान्ड र सिंगापुर लगानी गर्नेमा अग्रपंक्तिमा पर्छन् । 

नेपालमा वैदेशिक लगानी बढ्न नसक्नुमा उच्च मुद्रास्फीति, पारदर्शिता र सुशासनको अभाव कारण हुन् । त्यस्तै विनिमयदरको स्थायित्वको अभाव, राजनीतिक अस्थिरता, शान्ति सुरक्षाको अभाव, कम लाभ, सीपयुक्त श्रमशक्तिको अभाव, सानो बजार, प्रतिस्पर्धात्मक वातावरणको अभाव आदि पनि कारण हुने । त्यस्तो कर्मचारीको ढिलासुस्ती, लामो कागजी प्रक्रिया, प्रविधिको न्यून विकास, संस्थागत क्षमताको कमी, स्थानीय कच्चा पदार्थको अभाव, न्यून श्रम उत्पादकत्व, समुद्रसँग सीधा पहुँच नहुनु जस्ता पनि लगानी आकर्षक कम हुनुका कारण हुन् । 

यो वातावरण सुधार गर्न उद्योग क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्नु आवश्यक छ । सार्वजनिक तथा निजी साझेदारी अवधारणा यसमा सहयोगी हुन्छ । आर्थिक र सामाजिक दृष्टिले महŒवपूर्ण मानिएका राष्ट्रिय गौरवका आयोजनामध्ये कतिपय आयोजना निर्माणको अन्तिम चरणमा छन् । तथापि कतिपय आयोजनाको निर्माण अवधि संशोधन भइरहेको तथा कतिपय आयोजना प्रारम्भ नै हुन सकेका छैनन् । दिगो विकासका लागि पूर्वाधार निर्माण महŒवपूर्ण भएको परिप्रेक्ष्यमा राष्ट्रिय गौरवका आयोजनाहरूको दु्रततर गतिमा कार्यान्वयन गर्ने चुनौती रहेको छ । उपर्युक्त चुनौती चिर्न सकेमा मात्र अपेक्षित वैदेशिक लगानीको आश गर्न सकिन्छ । 

लगानीका लागि नेपालमा लगानी बोर्ड लगायत धेरै बोर्ड छन् । कामभन्दा संघसंस्था गठन गर्ने र राम्रो नभई हाम्रो मान्छेलाई भर्ना गर्ने परिपाटी पनि छ । हरेक लगानीकर्ता फाइल बोकेर सरकारका धेरै निकायमा धाउन बाध्य छन् । जबसम्म लगानीको निर्णय गर्न गराउन प्रशासनिक झन्झट गरिँदैन तबसम्म वैदेशिक लगानीकर्ता आकर्षित हुने आधार खडा हुँदैन । नेपालमा कतिपय लगानीकर्ता अनुमतिपत्र ओगटेर बसेका छन् । कतिपयले लगानी गर्छु भन्दा पनि प्रशासनिक झन्झटका कारण अवसरबाट वञ्चित हुनु परेको छ । 

विदेशी लगानीका कुरा गरिरहँदा स्वदेशी लगानीलाई निरुत्साहित गर्नु हुँदैन । पूर्वाधार विकास बैंकको स्थापना र सञ्चालनसमेत भइसकेकोमा दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि सुशासन हुनुपर्छ । भ्रष्टाचार र प्रशासनिक झन्झट हुनु हुँदैन । यस्तो अवस्था रहेमा स्वदेशी लगानी समेत आकर्षण हुन सक्दैन । विश्वका हरेक देश र त्यसका प्रधानमन्त्री कसरी विदेशी लगानी भित्र्याउने भन्नेमा दत्तचित्त भएको अवस्था छ । हाल नेपालमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको बीचमा संघीयता कार्यान्वयन गर्न कर्मचारी समायोजनको कारण विश्वासको ठूलै खाडल छ । यो खाडल नपुरेसम्म स्वदेशी तथा विदेशी लगानीको वातावरण बन्दैन । कार्यान्वयनको अन्तिम निकाय त कर्मचारीतन्त्र नै हो । लगानी सम्मेलनमा प्रतिबद्धता जनाइएको रकम होस् वा भूकम्पपछिको पुनर्निर्माणका बेला प्रतिबद्धता जनाएको सहयोग होस्, सरकारको स्पष्ट कार्यान्वयन योजना नबनेसम्म भित्रिँदैन । 

वैदेशिक लगानी बढाउन उदार अर्थतन्त्र आवश्यक पर्छ । पारदर्शिता र सुशासन चाहिन्छ । पूर्वाधारको विकास हुनुपर्छ । प्रशासनिक ढिलासुस्ती हटाउनुपर्छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारको विस्तार र प्रवर्द्धन गर्नुपर्छ । देशभित्रकै निजीक्षेत्रका लगानीकर्तालाई विश्वासमा लिन आवश्यक छ । व्यापारिक व्यावसायिक संगठन र औद्योगिक घरानाहरूसँग छलफल गरी लगानीको वातावरण बनाउनुपर्छ । कूटनैतिक नियोग र राजदूतावासहरूलाई विदेशी लगानी आकर्षण गर्न सक्रिय तुल्याउनुपर्छ । पन्ध्रौं योजनामा वैदेशिक लगानी भित्र्याउने भरपर्दाे नीति बनाउनुपर्छ । 

देशमा पूँजीको बढ्दो आवश्यकतालाई दृष्टिगत गरी मित्रराष्ट्रहरूले वैदेशिक लगानीबाट गरेको उपलब्धिबाट नेपालले केही सिक्नु जरुरी छ । उनीहरूबाट उत्प्रेरित भई नीतिगत तथा संरचनागत सुधार गर्नुपर्छ । त्यस्तै भ्रष्टाचार न्यून गर्नुपर्छ । सुशासनलाई सुदृढ बनाउनुपर्छ । यी काम गर्न सकेमा वैदेशिक लगानीको आप्रवाह बढाउन सकिन्छ । यसबाट पर्याप्त रूपमा पूर्वाधार विकास हुन गई नेपाललाई समृद्ध र विकसित मुलुकका रूपमा विश्वसामु चिनाउन सकिन्छ । 

लेखक बैंक तथा वित्तीय संस्था सम्बन्धी विज्ञ हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्