arthik abhiyan
ad banner

पेचिङ उडान र पर्यटन

Oct 21, 2019 
सम्पादकीय
NA


नेपालको निजीक्षेत्रको हिमालय एयरलाइन्सले कात्तिक १० गतेदेखि काठमाडौं–पेचिङ सीधा उडान शुरू गर्दै छ । चीनको राजधानी पेचिङमा यसअघि नेपालबाट सीधा उडान थिएन । पेचिङको सीधा उडान नेपाल भ्रमण वर्षलाई सफल बनाउन निकै सहयोगी हुने देखिन्छ ।

हाल एयर चाइना, चाइना साउर्दन, चाइना इस्टर्न, सिचुवान एयरलाइन्स तथा तिब्बत एयर लाइन्स गरी पाँच चिनियाँ वायुसेवा कम्पनीले नेपाल उडान गर्दै आएका छन् । नेपाली विमान कम्पनीलाई चीनमा उडान गर्न दिने विषयमा नेपाल र चीनबीच सम्झौता भए पनि विभिन्न कारण देखाउँदै चीनले उडान अनुमति दिएको थिएन । पछिल्लोपटक दुवै मुलुकबीच भएको हवाई सम्झौतापछि नेपाली वायुसेवा कम्पनीलाई पनि चिनियाँ शहरहरूमा आफ्नो सेवा शुरू गर्ने बाटो खुलेको छ । यसले नेपाल र चीनबीच हवाई सम्पर्क दरिलो मात्र बनाएको छैन, नेपाल भ्रमण वर्षमा प्रशस्त चिनियाँ पर्यटक ल्याउन थप अवसर पनि दिएको छ ।

चीनका बाह्य पर्यटकको सानो अंश मात्रै नेपाल आकर्षित गर्न सकियो भने ५ लाख चिनियाँ पर्यटक पुर्‍याउन खासै गाह्रो हुने देखिँदैन ।

चिनियाँ सरकारी कम्पनीको लगानी भएको हिमालय एयरलाइन्सले काठमाडौंबाट सीधा पेचिङ उडान गर्दै छ । यसले पेचिङ जान लाग्ने खर्च र समयको बचत गर्ने अपेक्षा गरिएको छ । नेपाल वायुसेवा निगमले पनि पेचिङ र अन्य चिनियाँ शहरहरूमा उडान गर्न प्रयास गरिरहेको छ । डिसेम्बरसम्मका चिनियाँ सेफ्टी अडिट टोली आउने र त्यसपछि निगमले पनि चीनका विभिन्न शहरमा उडान गर्न पाउने सम्भावना बढेको छ ।

चीन नेपालको दोस्रो पर्यटन बजार हो । गतवर्ष नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने मुलुक भारत थियो भने दोस्रो चीन । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१९ को पहिलो ८ महिनामा नेपाल भ्रमण गर्ने कुल ७ लाख ८२ हजार पर्यटकमध्ये १ लाखभन्दा बढी पर्यटक चीनबाट मात्रै आएका थिए । औसतमा १ लाख चिनियाँले नेपाल भ्रमण गरेकोमा भ्रमण वर्षमा ५ लाख चिनियाँ पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।
 
यसका लागि सरकारले नयाँ रणनीति तय गर्न सरोकारवालाहरूसँ ग छलफल गरेको छ र पर्यटन प्रवद्र्धनको बजेट बढाउने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङले भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने बताएकाले चिनियाँ पर्यटक बढाउन निकै सहयोगी हुने विश्लेषण गरिएको छ । चिनियाँ पर्यटक बढाउन सरकारले चिनियाँ अभिनेत्री सु छिङलाई सद्भावना राजदूत बनाएको छ । यसबाट चीनमा नेपाल भ्रमण वर्षबारे राम्रो प्रचार भएको छ । चीनमा सरकारी र निजी सबै कर्मचारीहरूलाई अनिवार्य रूपमा वार्षिक ५ देखि १० दिनसम्म तलबी बिदा दिने गरिएको छ । यसबाट चीनको आन्तरिक पर्यटनमात्र बढेको छैन, विदेश घुम्न जाने पर्यटकको संख्या पनि बढेको छ । चीनबाट १० करोड मानिस विदेश घुम्न गएको देखिन्छ । यो भनेको विश्व पर्यटनको ६ दशमलव २ प्रतिशत अंश हो ।
 
चीनसँगको प्रत्यक्ष हवाई सम्पर्क भयो र यो अहिलेको भन्दा सस्तो हुन सक्यो भने चीनका आन्तरिक पर्यटकलाई पनि नेपाल तान्न सकिन्छ । अर्को, चीनका बाह्य पर्यटकको सानो अंश मात्रै नेपाल आकर्षित गर्न सकियो भने ५ लाख चिनियाँ पर्यटक पुर्‍याउन खासै गाह्रो हुने देखिँदैन ।

सरकारले चिनियाँ पर्यटक बढाउन रणनीति तय गर्न एक कार्यदल समेत गठन गरेको छ । यो पनि सकारात्मक नै हो । तर, भौतिक पूर्वाधारको विकास, नयाँ पर्यटन प्रडक्टहरूको विकास र प्रवद्र्धन गर्न भने ढिला गर्नु हुँदैन । चीनका पर्यटकहरूको प्रमुख आकर्षण लुम्बिनी हुने गरेको छ । तर, त्यहाँको सडकको अवस्था निकै खराब छ । पर्यटकहरूले नेपालभित्रका गन्तव्यहरूमा सहज र आरामदायी किसिमले यात्रा गर्न पाउनुपर्छ । त्यसो नहुँदा भ्रमण वर्षमा लक्ष्य अनुसार पर्यटकको संख्या पुगे पनि त्यसले दिगो पर्यटनको आधार भने तयार गर्दैन । त्यसैले चीनमा नेपाली विमान उडाउन पाएको अवससँगै नेपालभित्रको पूर्वाधारहरूलाई गुणस्तरीय बनाउन ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया [1]
User Image

Hari thapa

[Oct 21, 2019 12:53am]

Kasto Patrika ho China ko capital city ko naam pani tha na bhayeko.


प्रतिक्रिया दिनुहोस्